मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण « Khabarhub

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा च्याङ्ग्रापालक किसानलाई घुम्ती गोठ निर्माण गरिएको छ । उच्च लेकमा याकचौँरी तथा च्याङ्ग्रा रेखदेख गरी बस्ने गोठालाहरूको सुविधाका लागि मुस्ताङका चारवटा पालिकामा दुई दर्जन बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको हो ।

हिउँदयामका जाडो हुने भएकाले बेँसीमा झारिने यहाँका याकचौंरी तथा च्याङ्ग्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ । गाउँपालिकाले याकनाक तथा चौँरीपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा ‘याकचौँरीपालक किसानका लागि आवश्यक पूर्वाधार निर्माण’ शीर्षकमा रु आठ लाख बजेट विनियोजन गरेको थियो ।

थासाङ गाउँपालिकाका लागि ‘याक प्रवर्द्धन कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको सशर्त अनुदान रु १० लाख विनियोजन भएको थियो । सङ्घीय र पालिकाको विनियोजित बजेटबाट ५० प्रतिशत अनुदान सहुलियत दिनेगरी घुम्ती गोठ निर्माण गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पालिकाअन्तर्गतका हिमालयन चौंरीपालक तथा संरक्षण समितिमा आवद्ध २० परिवारका याकचौँरीपालक किसानका लागि २० वटा अस्थायी गोठाला बस्ने वातावरणमैत्री गोठ निर्माण गरिएको हो । पालिका र सङ्घीय सरकारको अनुदान रु १८ लाख र सम्बन्धित किसान समितिको लागत साझेदारी रु १८ लाख बजेट खर्चिएर थासाङको मार्चे लेक, मुलीखर्क र बतासे लेकमा अस्थायी गोठ निर्माण गरिएको उनले बताए ।

ढुङ्गाको पर्खाल, काठको बार र जस्ताले छाएर अस्थायी किसान बस्ने गोठ सम्पन्न गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत श्रेष्ठले उल्लेख गरे । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले सङ्घीय सरकार र पालिकाको अनुदान सहयोगमा मार्चे लेकमा १०, मुलीखर्कमा छ र बतासे लेकमा चारवटा घुम्ती गोठ निर्माण गरिएको जानकारी दिए ।

गोठ निर्माणले उच्च लेकमा याकचौँरी रेखदेख गर्ने गोठालालाई बस्न सहज भएको उनले उल्लेख गरे । “गोठाला बस्ने संरचना निर्माण भएसँगै बस्ने र खाने सुविधा सहज भएको छ”, वडाध्यक्ष शेरचनले भने, “गोठभित्रै बसेर दूध, दही, घ्यू र छुर्पीलगायत परिकार बनाउन सजिलो भएको छ ।”

उनका अनुसार थासाङमा २३ परिवारले याकचौँरीपालन गरे पनि २० घर हिमायन याकचौँरी तथा संरक्षण समितिमा दर्ता भएका छन् ।

यहाँस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका चारवटा पालिकामा दुईवटा शीर्षकमा घुम्ती गोठ निर्माण गरिएको जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणि अर्यालले ‘घुम्ती गोठ संरक्षण कार्यक्रम’ र ‘स्थानीय नश्लको पशु संरक्षण कार्यक्रम’अन्तर्गत रहेर थासाङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा याकचौँरी तथा च्याङ्ग्रा पालकका लागि घुम्ती गोठ निर्माण गरिएको जानकारी दिए ।

भेटेरिनरी कार्यालयले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार थासाङमा रु १० लाख, लोघेकर दामोदरकुण्डमा रु १० लाख, वारागुङ र लोमान्थाङमा रु पाँच÷पाँच लाख बजेट विनियोजन गरी किसानलाई ९० प्रतिशत अनुदान सहुलियत दिएर गोठ निर्माण गरेको हो ।

हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठदेखि असोजसम्म उच्च लेकमा याकचौंरी तथा भेडाच्याङ्ग्रापालन गरिन्छ भने हिउँदयाम लागेपछि मङ्सिरदेखि वैशाखसम्म उच्च लेकका याकचौँरी तथा भेँडाच्याङ्ग्रा बस्ती नजिकै स्थान्तरण गरिन्छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : ११ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने