झापा– कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।
क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/ ८१ मा दिएका निवेदनका आधारमा रु ५० हजार र रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए ।
उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई रु एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए ।
चालु आव २०८२/ ८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए । ‘यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन’, सूचना अधिकारी राईले भने, ‘आर्थिक रूपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरूको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरूबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।’
विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख र अन्य कडा खालका रोग लागेकालाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।
उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/ ८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो । रासस
प्रतिक्रिया