काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएका छन् । पार्टीको मूल नेतृत्वका कारण पार्टी र सबै नेताहरु आलोचित मात्रै भएको भन्दै उनले देश पनि संकटतर्फ धकेलिएको उल्लेख गरे । यस्तो अवस्थामा विद्रोह गर्न ती नेतालाई उनले सुझाव दिएका हुन् ।
शनिबार पार्टीको कोशी प्रदेश समितिको भेला तथा बैठकलाई सम्बोधन गर्दै किरातीले यस्तो बताएका हुन् । इटहरीको गङ्गा जमुना पार्टी प्यालेसमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता किरातीले पुराना दलका पुरानै अनुहारले देश कब्जा गर्न फेरि गठबन्धनका लागि पहल गरिरहेको उनको भनाइ छ । यस्तो बेला ती पार्टीमा रहेका सचेत नेताहरुले विद्रोह गर्नुको विकल्प नरहेको उनले बताए ।
किरातीले पुरानाहरु मिलेर फेरि देशलाई अन्धकारतर्फ धकेल्ने कुचेष्टा गरिरहेको समेत टिप्पणी गरेका छन् । उनले भने “पुरानाहरु स्वार्थका लागि मिल्ने भनिरहेका छन्, यो अवस्थामा नयाँ शक्तिहरु आपसमा आरोप प्रत्यारोपमा नलागी सहकार्यको बाटोबाट अगाडि बढ्नुपर्ने आवश्याकता रहेको छ । रविजी, बालेनजी, कुलमानजी र हर्कजी लगायतका नयाँ शक्तिहरु देशलाई बेथितिबाट निकालेर समृद्धितर्फ अगाडि बढाउने एजेन्डामा हामी एक हुनपर्छ । आज जनताको भावना पनि त्यही छ । म पूर्व आएपछि हर्कजीका धेरै समर्थकहरुले विदेशबाट सम्पर्क गरिरहेका छन् । तपाँईहरु मिलिदिनुहोस् भन्ने उहाँहरुको भावनालाई नेतृत्वले कसरी लिइरहेका छौँ, यो गम्भीर विषय हो ।’’
फरक प्रसंगमा किरातीले आम जनताको भावनाअनुरुप नेतृत्वले काम गर्न नसक्दा यो संकट आइपरेको बताएका छन् । यो संकट मोचनका लागि सस्तो लोकप्रियतावादी राजनीतिले निकास नदिने समेत उनले बताए । आज पुराना र नयाँ सबै राजनीतिक दलहरु एजेण्डाविहीन बनेर केबल निर्वाचनदेखि निर्वाचनसम्मको राजनीतिमा लागेको उनको आरोप थियो ।
आफूहरु यसबीचमा एक थान पार्टी मात्रै नभएर वर्तमान समाजको अन्तरविरोध हल गर्नसक्ने वैकल्पिक शक्ति निर्माणमा अगाडि बढेको उनले बताए । प्रलोपाले आज ९९ सय जनाको प्रदेश कमिटी घोषणा गरेको छ । कमिटिमा जसमा केन्द्रमास्तै अध्यक्ष परिषद् निर्माण गरिएको छ । जसमा मदन भट्टराई, सम्झना राई (सन्ध्या) शम्भू चौधरी र नरेन्द्र बस्नेत रहेका छन् । त्यस्तै, इन्चार्ज केदार गरागाँई र सह इन्चार्जमा लक्ष्मी न्यौपाने (सरु) रहेका छन् ।













प्रतिक्रिया