राणाको पारिवारिक शासन वि.सं. १९०३ देखि प्रारम्भ भएर २००७ सालमा अन्त्य भयो। जहाँनिया एकतन्त्रीय शासन जंगबहादुर राणाले सूत्रपात गरेका हुन् । त्यो कालखण्डमा कार्यकारिणी, विधायिकी तथा न्यायापालिकाका हरेक अधिकार राणामा मात्र निहित थियो। अधिकार र राज्य स्रोत राष्ट्रियभन्दा राणा हितका निम्ति प्रयोग हुन्थ्यो।
नेपालको इतिहासमा १०४ वर्षे राणाकाललाई अन्धकारमय, नागरिकलाई शिक्षाबाट बञ्चित गर्ने युगको रुपमा लिइन्छ। राणा शासनसँगै राजाहरु पनि ‘खोपी’ मा सीमित भएका थिए। अर्थात् अधिकारविहीन थिए। राज्य सञ्चालन शैली स्वेच्छाचारी र परिवारमुखी थियो।
राणाहरु कति निर्दयी, क्रुर र असंहिष्णु थिए भन्ने इतिहासमै जगजाहेर छ। तर त्यही निरंकुशताभित्र पनि केही पात्र अविष्मरणीय हुन्छन्। त्यमध्येका एक हुन्- केशर शमशेर।

के थियो पारिवारिक पृष्ठभूमि ?
उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरका साहिँला छोरा हुन्। आमा लक्ष्मी शमशेरको कोखबाट उनको जन्म वि.सं. १९४८ पुसमा थापाथली दरबारमा भएको थियो। श्री ३ राणाका सन्तान भएकाले उनको बाल्यकाल सुखसयल र ऐस आराममै बित्यो।
इमान्दार, मिहिनेती, परिश्रमी र अनुशासित भएकाले उनी गुरुहरुको प्यारा थिए। उनको वाकपटुता र स्मरणशक्ति गज्जबको थियो। उनले कलकत्ता गएर अध्ययन गरे। जसले जतिबेला जे प्रश्न गरेपनि उनले सही उत्तर दिन सक्थे। साथीहरुले उनलाई ‘विश्वकोष’ को उपाधिसमेत दिएका थिए। इन्ट्रेस्नसको परीक्षामा उनले सर्वोकृष्ट अंक प्राप्त गरेका थिए।

नेपाल फर्किएपछि उनले महलमा पत्रपत्रिका र पुस्तक खरिद गरी संकलन गर्न थाले। उनी आफ्नो पुस्तकालयमा १६ घण्टासम्म बसेर अध्ययन गर्थे। उनी सरस्वतीका साधक थिए। ठूला नेता तथा लेखकहरुलाई प्रज्ञा र चेतनाको काममा प्रोत्साहन गर्थे।
केशर १५ वर्षको हुँदा बुवासँग बेलायत भ्रमणमा गएका थिए। त्यहाँ पुस्तक संग्रहालयको अवलोकन गरेपछि कलिलो उमेरमै उनको पुस्तकप्रति गहिरो अभिरुचि जाग्यो। त्यो समयमा लक्ष्मीप्रसाद देवकोटासहित ४६ जना पुस्तकालय खोल्न चेष्टा गर्नेलाई १०० रुपियाँ जरिवाना गरिएको थियो। तर केशरले ‘पुस्तकालय खोल्ने विचार नराम्रो होइन’ भनेर युवाको पक्षमा बोलेका थिए।
नेपालबाट पैसा पठाएर बेलायतका प्रकाशकहरुलाई पुस्तक पठाउन लगाउँथे। उनको संस्कृत, नेपाली, अंग्रेजी, हिन्दी साहित्य, ज्योतिषशास्त्र, दर्शन, कला, संस्कृति र राजनीतिशास्त्रका पुस्तकमा रुचि थियो। सादा जीवन नै उच्च जीवन भनेर सधैँ स्वदेशी लुगा लवेदा सुरुवाल र खास्टो लगाउँथे।
उनलाई धर्म संस्कृति र परम्पराप्रति निकै निष्ठा थियो। भगवान्को आस्था र विश्वास समर्पित उनी मध्यरातमा सुनको थालमा जल राखेर कुशद्वारा तान्त्रिक साधनासमेत गर्थे। ज्योतिष फलादेशमा विशेष रुचि थियो। जन्मकुण्डली, लगनकुण्डली र गर्भकुण्डली आदि हेर्ने गर्थे। अंग्रेजीमा पनि उत्तिकै प्रखर थिए।
उनले कालिदासको ‘विक्रमोर्वशी’ नाटक नेपाली भाषामा अनुवाद गरेका थिए। जसले नेपाली वाङ्मय इतिहासमा इँट्टा थप्ने काम गरेको थियो। अर्को ‘नेपाली समाजमा गैँडाको महत्व’ राणाले लेखेको अर्को पुस्तक हो।
केशर शमशेर १६ वर्षको उमेरमा लेफ्टिनेन्ट जनरलको पदमा भर्ती भए। सो पदमा उनले २५ वर्ष काम गरे। श्री ३ जुद्ध शमशेरले उनलाई तेस्रो जनरल पदमा पदोन्नति गरेका थिए। यसैप्रकार श्री ३ पद्म शमशेर प्रधानमन्त्री रहँदा कमाण्डिङ जनरल पदमा बढुवा गरियो।
श्री ३ मोहन शमशेरले २००५ सालमा उनलाई पश्चिम कमाण्डिङ जनरल पद प्रदान गरे। पूर्व-उत्तर र दक्षिण कमाण्डिङ जनरलमा प्रशासनिक र सामान्य सैनिक प्रमुख हुन्थे। तर पश्चिम कमाण्डिङ जनरल भनेको अरु तीन कमाण्डिङ जनरल भन्दा ठूलो, जसलाई ‘जंगी लाठ’ भनिथ्यो। अन्त्यमा राजा महेन्द्रले उनलाई २०१३ सालमा शाही नेपाली सेनाको फिल्ड मार्शल पदले सम्मानित गरेका थिए।

केशरले श्री ३ जुद्धकै शासन कालमा दैनिक प्रशासनमा विशेषरुपले हस्तक्षेप गरेका थिए। उनको कूटनीतिले ‘ग’ वर्गका राणाहरुलाई निष्कासन गर्न सहयोग गरेको थियो। २००६ सालमा नेपाल अधिराज्यभर राणा शासनको व्यापक विरोध भइरहदाँ भारत सरकारको मध्यस्तताको लागि उनी राष्ट्रसभाको सभापति बनेका थिए।
त्यससमय केशरले संवैधानिक सुधारको प्रयास गरे। श्री ३ राणा प्रधानमन्त्रीहरुले विशेष अधिकार प्रयोग गरी मौसुफको सम्मानमा आँच पुर्याउने चेष्टा गरे। साथै, राष्ट्रिय सम्पत्तिको व्यापक दुरुपयोग गरेपछि श्री ५ त्रिभुवनले राजगद्दी त्यागेर भारततर्फ प्रस्थान गर्दा केशर दिल्ली पुगेर त्यहाँको सरकारसँग नेपालको विद्रोह दबाउन अपिल गरेका थिए।
तर भारत सरकारले श्री ५ को त्रिभुवनको समर्थन गरेको थियो। त्यसपछि केशरले श्री ५ को तरबार गद्दीमा राखेर शासन चलाउन श्री ३ मोहनलाई सुझाव दिए। तर मोहन शमशेरले उक्त सुझाव मान्य नहुने बताएपछि त्रिभुवनलाई पदच्यूत गरी माइलो नाति श्री ५ ज्ञानेन्द्रलाई राजा बनाउने प्रस्ताव राखे।
पछि त्रिभुवन स्वदेश फर्किदा केशरले ‘सरकार, ढुकुरहरु उडिसके, म यही बस्ने प्रण गरेको छु’ भन्ने भाव व्यक्त गरेका थिए। त्रिभुवनले तेस्रो मन्त्रिमण्डल गठन गर्दा केशर रक्षामन्त्री भएका थिए। मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डल विघटन भएपछि त्रिभुवनले केशरलाई परामर्श दातृसभाको प्रधान परामर्शदाता बनाएका थिए।

वैवाहिक अवस्था
उनको पहिलो विवाह वि.सं. १९६० मा १३ वर्षको कलिलो उमेरमा भएको थियो। श्री ५ पृथ्वी वीरविक्रम र श्री ५ माहिली बडामहारानी लक्ष्मीदिव्यश्वरी शाहकी जेठी छोरी श्री ५ शाहज्यादी लक्ष्मीराज्यदेवी शाहसँग भएको थियो।
शाहज्यादीका माइतीले उनीसँगको विवाह राजनीति हडप्ने नीतिले गरेका थिए। श्री ३ चन्द्र शमशेरले बेलायतको संसदीय व्यवस्थामा छोरीले राजसिंहासन प्राप्त गर्ने परम्परा नेपालमा पनि लागू गरी श्री ५ को पद कब्जा गर्ने प्रयत्नबाट यो विवाह भएको थियो।
अन्ततः केशर शमशेर र शाहज्यादीबीचको दाम्पत्य जीवन सुमधुर हुन सकेन। तात्कालीन समयमा राजाकी छोरीमाथि सौता हाल्ने दुष्प्रयास गर्न पाइदैनथ्यो। त्यसकारण बिहे गरेको ४० वर्षमा शाहज्यादीसँग सम्बन्धविच्छेद गरेका थिए। उनी नेपालको इतिहासमा पहिलो सम्बन्धविच्छेद गर्ने व्यक्ति हुन्।
सम्बन्ध विच्छेदपछि उनले २००० मा बाजुराका राजा मुकुन्द सिंहकी नातिनी श्री वीरविक्रम सिंह र शारदादेवी सिंहकी कान्छी छोरी कृष्णचन्द्रदेवीसँग विवाह गरेका थिए।
उनका साम्राज्य, अरविन्द, मुरारी, केयूर र लोकभक्त गरी पाँच छोराहरु छन्। साथै, दुर्गा, टीका राज्यलक्ष्मी, नयपाल राज्यलक्ष्मी, फूलकुमारी, इन्दिरा राज्यलक्ष्मी र सोमप्रभा गरी ६ छोरी छन्।
केशर पुस्तकालयको बीजारोपण

पुस्तकालयमा गएर पुस्तक पढ्न मन पराउनेका लागि केशर पुस्तकालय अपरिचत छैन। ठमेल जाने चोकमा दरबार संग्रहालयको अघिल्तिर केशर पुस्तकालय छ। यो पुस्तकालय केशर राणाले सन् १९०८ मा स्थापना गरेका थिए। यिनले आफ्नै निवास केशर महलमा त्यसमाथि आफ्नै नाममा केशर पुस्तकालय स्थापना गरेका थिए।
स्कुल, पुस्तकालय खोल्न अपराध मानिने राणा शासकको कुलमा जन्मिएका केशरमा सानैदेखि पुस्तक मोह थियो। सन् १९०८ मा बेलायतको पुस्तकालय अवलोकन गरेर आएपछि उनलाई नेपालमा पुस्तकालय स्थापना गर्ने रहर जाग्यो।
राणाकालमा यस पुस्तकालयमा नागरिकले पढ्न पाउँदैनथे। २००७ सालपछि नागरिक तहमा यो अवसर प्राप्त भएको हो। केशरले आफ्नो जीवनको धेरै समय, शक्ति र पैसा पुस्तकालयको विकासमा खर्च गरेका छन्। मृत्युपछि उनकी श्रीमती कृष्णचन्द्रदेवी र परिवारले पुस्तकालय, केशरमहल, स्वप्न बगैँचा र यसले ओगटेको साढे चाैतीस रोपनी एक आना जग्गा सरकारका नाममा विक्रम संवत १९६८ मा हस्तान्तरण गरेका हुन्। तर नेपाल सरकारले केशर शमशेरको गतिमा तन, मन र धन लगाएर पुस्तकालयको विकास गर्न सकेको छैन। उनी जीवित हुँदासम्म २८ हजार पुस्तक थिए। हाल ५५ हजार बढी पुस्तक छन्। यो नेपालको जेठो पुस्तकालय मात्रै नभइ एसियाकै पहिलो निजी पुस्तकालय हो।

जुवाको लतले जन्माएको सिर्जना
केशर शमशेरको जुवा खेल्ने बानी थियो। जुवामा जितेको पैसाले नै उनले आफ्नो घरको हातामा ‘ड्रिम्स अफ गार्डेन’ निर्माण गर्न लगाएका थिए। गार्डेन अफ ड्रिम्स् विश्वप्रसिद्ध बगैंचाहरूमा पर्दछ। किताबपछि उनलाई अर्को शोख वनस्पति थियो। कुन वनस्पति कुन मौसममा कहाँ राम्रोसँग हुर्कन्छ भनेर अध्ययन गर्थे। देश विदेश घुम्दा विभिन्न वनस्पति ल्याएर गार्डेनमा लगाउँथे।
आजकल फ्युजन संगीत भनिए जस्तै केशरलाई बगैँचामा विभिन्न वनस्पति लगाउन मन पर्थ्यो। तात्कालीन समयमा उनले उक्त बगैँचा निर्माणमा ६ लाख खर्चिएका थिए। अहिले उक्त बगैँचामा प्रवेश गर्न प्रतिव्यक्ति १५० रुपियाँ टिकट काट्नुपर्छ।

केशरले बेलायत, अमेरिका, फ्रान्स, स्वीटरजरल्याण्ड, रुस, चीन, जापान लगायत धेरै देशको भ्रमण गरे। २०२१ जेष्ठ १४ गते ७२ वर्षको उमेरमा केशर शमशेरको देहावसान भयो। तर पुस्तक, हस्त लिखित ग्रन्धले उनलाई आज पनि जीवन्त राखेको छ।
प्रतिक्रिया