धनुषाका 'फ्लप' एसपी तिवारी : गम्भीर मुद्दाको फाइल थन्क्याए, सस्तो लोकप्रियतामा रमाए  | Khabarhub Khabarhub

धनुषाका ‘फ्लप’ एसपी तिवारी : गम्भीर मुद्दाको फाइल थन्क्याए, सस्तो लोकप्रियतामा रमाए 


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारी हाजिर भएको एक वर्ष बितिसकेको छ । यस अवधिमा एसपी तिवारी गम्भीर मुद्दाबाट पन्छिने र सस्तो लोकप्रियतामा रमाएर बिताए । उनले गम्भीर प्रकृतिको मुद्दा थन्काएर समान्य मद्दामा समय व्यतीत गर्ने गरेको पाइयो । उनी आएदेखि श्रृङ्खलाबद्ध रुपमा अपराध र तस्करी बढेको छ । तर, त्यस्ता मुद्दामा धनुषा प्रहरीको अनुसन्धान असफल देखिएको छ ।

घटना -१ 
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकतामा किर्ते गरेको आरोपमा धनुषा प्रहरीले गत जेठ ८ गते पक्राउ गरेको थियो । सिरोहियालाई पक्राउ गरेर दस दिन हिरासतमा राखी छाडेको थियो । उनलाई पक्राउ गरि छोडेको एक वर्ष बित्न लाग्दापनि अनुसन्धान गरिरहेको प्रहरीले उनीविरूद्ध अहिलेसम्म कुनै ठोस प्रमाण भेट्टाउन सकेको छैन ।

प्रहरीले पक्राउ गरि छोडेको एक वर्ष हुन लाग्दा समेत अहिलेसम्म उनीविरूद्ध मुद्दा चलाउन ठोस सबुत फेला नपारेपछि अनुसन्धान प्रतिवेदन समेत तयार गर्न सकेको छैन ।

२०५७ सालमा उमेर खुलाएर प्रतिलिपि नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारीको बयान, विभिन्न निकायमा सिरोहियाले पेस गरेका नागरिकताका प्रतिलिपि, सिरोहियाको बयान र उनको नागरिकता किर्ते गरिएको हो कि होइन भनेर फरेन्सिक ल्याबमा गरिएको जाँचको रिपोर्ट प्रहरीले संकलन गरिसकेको छ । तर सत्यतथ्य के हो भन्ने कुरा प्रहरीले अझै बाहिर ल्याएको छैन नत उनीविरूद्ध मुद्दा चलाउन सकेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी बरुण बहादुर सिंहसँग सिरोहियाको नागरिकता प्रमाणपत्रबारे के हुँदैछ? भन्ने प्रश्नमा उनले यो घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । उनले आफूले उक्त घटनाको मिसिल नै हेर्नुपर्ने भने।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिनुपूर्व नै उक्त नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको, सिरोहियाका बुबा घासीराम मारवाडी (सिरोहिया) का सन्तान गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली भएको र कैलाश सिरोहियाको नागरिकता वंशजको नेपाली रहेको देखिएको दाबी थियो ।

२०५७ असोज २९ मा उनले नागरिकता प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत नगरेको पाइएको, नागरिकताको प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष र कोष्ठकमा जन्म मिति २०१९ मंसिर २९ समेत लेखेको पाइएको, जन्ममितिमा उल्लिखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अकंको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकाले पछि कोष्ठकमा जन्ममिति थपी किर्ते गरेको लगायत आधार देखाउँदै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरी अनुसन्धान गरेको थियो ।

तर अनुसन्धानका लागि उनलाई हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय धनुषाले  गत जेठ १६ गते उनलाई हाजिर जमानीमा छाडेको थियो ।

 घटना- २ 
गत फागुन १७ गते धनुषामा एक महिलाको हत्या गरी पूजा घरमा गाडिएको अवस्थामा शव फेला परेको थियो । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका– ५ बनिनियामा २० वर्षीया अञ्जली देवी यादवको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा प्रहरीले उत्खनन गरी निकालेको थियो । अञ्जलीको हत्या उनको श्रीमान हरेराम यादवले नै गरेको प्रहरीले बताएको छ । 

एक प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । श्रीमानले श्रीमती भाग्यो भनेर गाउँमा नाटक गरेपनि उनको शव पूजा घरमा गाडिएको अवस्थामा फेला परेको थियो । हत्या भएकै दिनदेखि हरेराम यादव १० महिनाको बच्चालाई लिएर बेपत्ता छन् । यस विषयमा धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले यस घटनामा संलग्न आरोपित अझै सम्म पक्राउ नपरेको बताए ।

 उनले भने, ‘हामीले अपराधी पक्राउ गर्ने कोसिस गरिरहेका छौँ तर पक्राउ गर्न सकेका छैनौँ । यो कुरा सत्य हो । हाम्रो टोली अझैपनि खटिरहेको छ । चाँडै हामी घटनामा संलग्नलाई पक्राउ गर्नेछौँ ।’

 घटना- ३
गत फागुन २ गते होलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- २३ बिन्धीकी अर्चना यादवका १७ वर्षीय छोरा आशु यादवको हत्या भएको थियो । तर, हत्याका आरोपीहरू अझै फरार छन् । गत दशैंमै आशुका बुबा पप्पु यादवको क्यान्सरबाट निधन भएको थियो । त्यसयता छोरा आशुलाई नै जीवनको सहारा बनाएर अर्चना जीवन व्यतीत गरिरहेकी थिइन् । तर, एक्लो छोरालाई गाउँकै पापीले खाएको उनको गुनासो छ । 

‘मेरो दुर्गति त्यही दिनदेखि सुरु भयो,’ अर्चनाले श्रीमान्को निधन भएको सम्झिँदै भनिन्,‘भएको एक्लो सहारा पनि पापीहरूले खोसिदिए ।’

प्रहरीले हत्याका आरोपीहरूलाई पक्राउ गर्न अटेरी गरेको भन्दै पीडित परिवार नियमित प्रहरीलाई खबरदारी गर्दै आएका छन् । प्रहरीले अनुसन्धानमा चासो नदेखाएको उनीहरूको आरोप छ । पीडित परिवारले स्थानीयको सहयोगमा जनकपुर–जलेश्वर सडक खण्ड दुई दिन बन्द गरेर प्रर्दशनसमेत गरे । तर, प्रहरीले मौखिक रुपमा अनुसन्धान तीब्र गतिमा भइरहेको बताए पनि बेवास्ता गर्दै आएको मृतक आशुको काका बब्लुले सुनाए । 

उनले भने, ‘हामीलाई छलफलमा बोलाएर मौखिक रुपमा तीन दिनको समय माग्नुभयो । हामीले लिखित माग्दा दिएनन् ।’ 

प्रहरी आरोपीसँग मिलेको उनीहरूको अशांका छ । सात जनालाई आरोपी बनाएर जिल्ला प्रहरी धनुषामा जाहेरी दर्ता गराएको उनले जानकारी दिए । प्रहरीले समयमा आरोपीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि नबढाउँदा आफ्नो परिवारलाई झन् खतरा बढेको बताए ।

 यस विषयमा धनुषा प्रहरीका प्रवक्ता सिंहले आफूहरू अनुसन्धान गरिरहेको बताए ।

 ‘हाम्रो अनुसन्धान जारी छ । आरोपीहरू पनि फरार छन्,’ उनले भने, ‘त्यसकारण धेरै कुरा खुल्न बाँकी छ । फरार आरोपीहरू नेपाल बाहिर भएको हुनाले प्रहरीलाई समय लागि रहेको छ । तर प्रहरीले आफ्नो काम गरिरहेको छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ४७ बजे

आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले

स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित

मड्रिड – स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिसियाले देशभर विद्युत् आपूर्ति

आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७औं खेलमा गुजरात

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ताले भने : शिक्षकहरुसँगको वार्ता सकारात्मक

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी

काठमाडौं – आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्री रघुजी मन्तबीच वार्ता