काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।
गत मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट हतार हतार मन्त्रालयमा तानिएका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरेसँगै गृहमन्त्री लेखक पनि विवादमा तानिएका थिए ।
नेपाली कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रश्न उठेपछि राजीनामा दिनुपर्ने भाषण संसद्मा गर्ने लेखक अहिले आफ्नो हकमा भने त्यो नजिर नलाग्ने बताइरहेका छन् । बरू कर्मचारीले गरेको हिनामिना र भ्रष्टाचारमा उनैलाई कारबाही हुने तर्क उनको छ ।
चौतर्फी दबाब बढ्दा पनि गृहमन्त्री लेखक राजीनामा दिने निष्कर्षमा पुगे पनि कांग्रेस सभापति देउवाले उनलाई रोकेको स्रोतले उल्लेख गरेको छ ।
लेखकले मंगलबार माओवादी नेताहरूसँगको छलफलका क्रममा साह्रै अप्ठ्यारो पर्ने अवस्था आएमा आफू पदमा बसिरहनुपर्ने पक्षमा नरहेको बताएका थिए ।
‘उहाँ पद छाड्ने मनस्थितिमा रहेको कुरा हामीले बुझेका छौँ । माओवादीसहितका दलका नेताहरूसँगको कुराकानीमा पनि लेखकले त्यही कुरा व्यक्त गर्नु भएको थियो’, छलफलमा सहभागी एकजना नेताले खबरहबलाई भने, ‘तर कांग्रेस सभापति देउवाले उहाँलाई ढाडस दिनु भएको छ । अहिले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको देउवाको तर्क छ ।’
बुधबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा पनि लेखक प्रकरणबारे कुनै छलफल नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । बरू उक्त बैठकमा आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्ने रणनीतिबारे दुई दलका शीर्ष नेताले छलफल गरेका थिए ।
‘बालुवाटारको बैठकमा बुधबारको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नेबारे कुरा भयो । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले प्रतिपक्षीसँग थप छलफल गर्ने पनि कुरा भएको छ’, बर्तौलाले भने, ‘गृहमन्त्रीका हकमा उहाँबारे उठेका प्रश्नको संसद्मा सरकारकोतर्फबाट जवाफ दिनु हुनेछ ।’
यो बैठकमा संसद्बाटै आर्थिक सर्वेक्षण बुधबार नै ल्याउने निष्कर्ष दुई दलले निकालेका छन् । बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट पनि प्रस्तुत गर्ने गरि दुई दलले तयारी थालेका छन् । यद्यपि
बालुवाटारमा बुधबार बिहान भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए । बैठकमा एमालेका प्रमुख सचेतक बर्तौला पनि सहभागी थिए ।
गत सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा पनि सभापति देउवाले लेखकको बचाउ गरेका थिए । उक्त बैठकमा बरू लेखकको राजीनामा माग्ने नेताहरूमाथि उल्टै कारबाही चलाउनुपर्ने प्रसंग पूर्वमहामन्त्री डा. शशांक कोइरालासहितले झिकेका थिए ।
गृहमन्त्री लेखकमाथि उठेको विषयमा भन्दा उनको राजीनामा माग्नेमाथि कारबाही गर्नुपर्ने भन्दै बूढानीलकण्ठ बैठकलाई विषयान्तर गरिएको थियो । उक्त बैठकमा लेखकको राजीनामा माग्ने डा. शेखर कोइरला तथा सांसदहरू सुनील शर्मा र राजेन्द्र बजगाईंलाई कारबाही गर्नुपर्ने माग शशांकसहितका नेताहरूले गरेका थिए ।
बुधबार बालुवाटारमा बसेको बैठकमा पनि गृहमन्त्रीबारे विषय प्रवेश नै नगरेको एमाले प्रमुख सचेतक बर्तौलाले बताए । ‘बुधबारको बैठकमा गृहमन्त्रीको विवादबारेमा विषय प्रवेश नै भएन’, बर्तौलाले भने, ‘बरू संसद्मा प्रतिपक्षीसँग कसरी फेस गर्ने विषयमा कुरा भयो । त्यहाँ विवादित विषयमा गृहमन्त्रीले सम्बोधनसहित जवाफ दिनेबारे कुरा भएको छ ।’
कांग्रेसभित्र र बाहिरबाट पनि लेखकलाई पदबाट हटाएर छानबिनमा तान्नुपर्ने कुरा चर्को रुपमा उठिरहेको छ । तर, सत्तारुढ दुई दलले लेखकलाई पदबाट नहटाई बरू संसद्मा प्रतिपक्षीलाई पेलेर जाने रणनीति बनाएका हु्न्। देउवाले लेखकलाई हटाउन अनिच्छा देखाएसँगै यसबारे प्रधानमन्त्री पनि मौन बसेका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट नेपाली युवा-युवतीहरूलाई युरोप र खाडीसहितका देशमा भिजिट भिसामा जान दिँदा दैनिक ५० लाखभन्दा बढी अवैध रकम उठाएको प्रकरणमा गृहमन्त्री लेखक मुछिएका थिए ।
उनले अध्यागमन कार्यालयमा खटाएका सहसचिव तीर्थराज भट्टराईलाई गत बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।
उता कांग्रेसकै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले यसबारेमा मुख नखोलेर आफूलाई तटस्थ राखिरहेका छन् । सभापतिले बचाउ गरेपछि दुई महामन्त्रीले विवाद सुरू भएको साता बित्दा पनि मुख खोल्न सकेका छैनन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितले यो कुरा उठाएपछि विवाद भएको थियो ।
प्रतिपक्षी दलहरूले घेरेपछि मंगलबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध भएर बुधबारसम्मलाई स्थगित गरिएको थियो ।
प्रतिपक्षीहरूले घेरे पनि सत्तारुढ दलले पेलेर जाने नीति बनाएका छन् । उनीहरूले अवरोध भए पनि आर्थिक सर्वेक्षण र बजेट ल्याउने तयारी गरेका हुन् । उता गृहमन्त्री लेखकले पनि कर्मचारीले बदमासी गर्दैमा आफूले राजीनामा दिनुनपर्ने कुरा बताइरहेका छन् ।
प्रतिक्रिया