लगातार १० बैठकमा गयल लुम्बिनीकी प्रदेश सभा सदस्य गुरुङ पदमुक्त | Khabarhub Khabarhub

लगातार १० बैठकमा गयल लुम्बिनीकी प्रदेश सभा सदस्य गुरुङ पदमुक्त


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङ पदमुक्त भएकी छन् ।

लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा सभामुख तुलाराम घर्तीमगरले बुधबारको प्रदेशसभा बैठकमा गरेका छन ।

‘उहाँ लगातार १० वटा बैठकमा नआएको विवरण भेटियो । त्यसपछि उहाँलाई संविधान र प्रदेशसभा नियमावलीअनुसार पदमुक्त गरिएको सूचना सभामुखले पढेर सुनाउनु भयो’, प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले खबरहबलाई भने, ‘गीता गुरुङ पदमुक्त भएपछि अब समानुपातिक सूचीमा रहेका अर्का व्यक्तिलाई सम्बन्धित दलले सांसदमा सिफारिस गर्न सक्छ ।’ 

जनमतबाट समानुपातिक सांसद गुरुङले ३० वैशाखमा बेलायतबाटै ईमेलमार्फत पठाएको राजीनामा पत्र भने अझै पनि अलपत्र छ । प्रक्रिया पूरा नगरेको र सनाखत पनि नभएको अवस्थामा उनको राजीनामा पत्र सभामुखले थन्क्याएर राखेका छन् ।

जनमत पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्र केश गुप्‍ताले पनि सांसद गुरुङ बुधबारदेखि पदमुक्त भएको पुष्टि गरे ।

‘उहाँलाई पदमुक्त गरिएको जानकारी सभामुखज्यूले बुधबार हामीलाई गराउनुभएको छ,’ नेता गुप्ताले भने, ‘लगातार १० वटा बैठकमा नआएपछि उहाँ स्वत: पदमुक्त हुने व्यवस्था भएकाले त्यहीअनुसार उहाँको सांसद पद रिक्त भएको छ।’

गत वैशाख ३० मा गुरुङले बेलायतबाटै राजीनामा पत्र पठाएपछि एकाएक तरंग भएको थियो । उनले राजीनामा पत्रमा जनताको करबाट पारिश्रमिक नबुझ्ने भन्दै भीडको सहानभूति लिने गरेकी थिइन् । तर उनी लामो समयदेखि बेलायत बस्दै आएको कुरा भने लुकाएकी थिइन् ।

‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन’, जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको राजीनामा पत्रमा उनले भनेकी थिइन्, ‘तसर्थ, आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’

तर आदर्श वाक्यसहित राजीनामा सांसद पदबाट बुझाएकी गीता पहिलेबाटै बेलायतमा बस्दै आएकी थिइन् । लामो समयदेखि बेलायतमा रहेकी उनी पछिल्लो समय उतै गएर बसेकी हुन् ।

गीताका एकजना आफन्तका अनुसार जनमतका केन्द्रीय सदस्यसमेत रहेका पति कैलाश गुरुङलाई गीताले नै उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गराएकी थिइन् ।

उनको परिवार लामो समयदेखि बेलायतमै बस्दै आएको छ । गीताले बेलायतमै स्थायी बसोबासको विकल्प रोजेसँगै कैलाश २०८१ चैत ९ गते जनमतबाट जसपातिर लागेका थिए ।

जनमतकी समानुपातिक सांसद गुरुङले उक्त राजीनामा जनमत छाडेर जसपा बनिसकेका उनै पतिमार्फत् सार्वजनिक गरेकी थिइन् ।

बेलायतमा बस्ने भएकाले जनमतकी गीता रुपन्देहीबाट समानुपातिक सांसद भए पनि प्रदेशसभामा कम उपस्थित हुनेमा पर्थिन् । अघिल्लो सत्रको संसद अधिवेशनमा उनी सबैभन्दा कम उपस्थित हुने सांसदमा थिइन् ।

गुरुङ प्रदेशसभाका ६१ बैठकमध्ये २७ वटामा मात्रै उपस्थित भएकी थिइन्। उनले स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेको बताएकी थिइन् ।

पतिलाई जसपा नेपालमा प्रवेश गराइसकेकी उनी आफू बेलायतमै बसेकाले राजीनामा पनि उतैबाट आएको हो । सांसद गुरुङ र उनका पति कैलाशको समेत जसपासँग उठबस थाहा पाएपछि जनमतले प्रश्न उठाउँदै आएको थियो ।

एक नेताका अनुसार जनमतका नेता रहेका दुवैको संसदीय भूमिकामाथि जनमतले बेलाबेलामा प्रश्नसमेत उठाइरहेको अवस्थामा उनले राजीनामा पठाएकी थिइन् ।

गीताका पति कैलाशले गत चैत ९ गते शनिबार रुपन्देहीको भैरहवास्थित दुर्गामन्दिरमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबाट खादा र टीका लगाउँदै नयाँ यात्रा थालेका थिए । उनी त्यसबेलासम्म जनमत पार्टीका केन्द्रीय सदस्य थिए ।

गुरुङ २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । पार्टी प्रवेशपछि गुरुङले जसपा नेपाल सबैलाई समेट्ने र अधिकार दिलाउने पार्टी रहेको बताएका थिए ।

त्यसबेला भैरहवामा जसपा नेपालका अध्यक्ष यादवले कैलाशसहित जनमतकै केन्द्रीय सदस्य नीलम यादवलाई पनि पार्टीमा प्रवेश गराएका थिए । तर, गीता भने जनमतबाट सांसदमा रहेकाले औ‍पचारिक रुपमा प्रवेश गरेकी थिइनन् ।

जसपा अध्यक्ष यादवका एकजना सचिवालय सदस्यका अनुसार गीता पनि जसपाकै सम्पर्कमा छिन् । ‘उहाँ हाम्रै सम्पर्कमा हुनु हुन्छ । चैत ९ मा कैलाश गुरुङ मात्रै प्रवेश गर्नु भएको हो । कानुनी हिसाबमा दल फेर्दा सांसद पद जाने भएकाले प्रवेश गर्नु भएको थिएन’, उनले भने, ‘तर गीता र कैलाश दुवै जनमतमै हुनु हुन्छ । तर गीताले भने बेलायतमै स्थायी बसोबास गर्ने निर्णय लिनु भएको छ । उहाँ हाम्रो प्रवास समितिमार्फत् सक्रिय रहनु हुनेछ ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ३ : ५९ बजे

पञ्जाबको खराब ब्याटिङ, फाइनल पुग्न आरसिबीलाई सामान्य लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले

इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्र – इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा

निजी क्षेत्रबाट बजेटको स्वागत, सुझाव समेटिएको प्रतिक्रिया

काठमाडौं – निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अन्तरघुलनका कार्यक्रम सञ्चालन गरिने

काठमाडौं – सरकारले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई मर्यादित जीवनयापन गर्न

स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं – स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र