पूर्वपत्नी र दुई छोरीको हत्या गर्ने कोइरालाले राष्ट्रपतिबाट पाएका थिए आममाफी « Khabarhub

पूर्वपत्नी र दुई छोरीको हत्या गर्ने कोइरालाले राष्ट्रपतिबाट पाएका थिए आममाफी



काठमाडाैं – बुटवलमा पूर्वपत्नी र दुई छोरीको हत्या गर्ने सुजन कोइराला (३५) ले राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनले संविधान दिवसको अवसरमा २०७८ असोज ३ गते राष्ट्रपतिबाट आममाफी पाएका हुन् ।

बुटवल उपमहानगरपालिका– ११ होराइजन चोकस्थित मिलीजुली पथका स्थायीवासी सुजनले पूर्वपत्नी दीपा बस्याल (३०) र दुई छोरीहरू स्नेहा (७) र हिमानी (४) को हत्या गरेका हुन् । रूपन्देही प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको अनुसार उनीहरूलाई आफ्नै घरमा बोलाएर सुजनले धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

सुजन र दीपाको सम्बन्ध

रुपन्देही प्रहरीका अनुसार सुजन र दीपाको २०६९ सालमा बिहे भएको थियो । त्यही वर्ष सुजनले आफ्ना माइला दाजु सुदीप कोइरालाको हत्या गरे । हत्या अपराधमा जेल गएपछि श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो रहेन । लाऊँ खाऊँ रमाऊँ भन्ने उमेरमा श्रीमान् श्रीमती अलग हुनुपर्‍यो । त्यसमाथि पनि हत्या अभियोगमा । त्यसपछि २०७२ मा उनीहरूले सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेदपछि दीपाले पूर्वी नवलपरासी कावासोतीका शंकर ढकालसँग विवाह गरिन् । उनीहरूका दुई छोरी भए । मृतक छोरीहरू ढकालपट्टिका हुन् । शंकर यतिबेला वैदेशिक रोजगारका लागि दुबईमा छन् । दीपा पाल्पा तानसेनमा आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका रूपमा काम गर्दै थिइन् ।

विगतमा जेजस्तो भए पनि दीपाको जिन्दगी राम्रै चलेको थियो । करिब ९ वर्ष जेल जीवन बिताएर सुजनले गत वर्ष आममाफी पाएर घर फर्किएका थिए । तर सुजनले सामाजिक सञ्जालमा पूर्व पत्नीलाई खोजे । र उनीहरूले पुनः आफ्नो भेटघाटलाई बढाएको देखिन्छ ।

आममाफी पाएर घर फर्किएपछि सुजनले घरमै जेलमा सिकेका सीपलाई व्यवसाय बनाएका थिए । जेलमा कैदीहरूलाई बाँसबाट बन्ने मुढा, नाङ्लो, डोरी, माछा मार्ने ढकियालगायत बनाउने तालिम दिइन्छ । उक्त सामग्री बिक्री गरेर कैदीहरूले आम्दानी गर्छन् । आममाफी पछिको जिन्दगी उनले तिनै सामग्रीको व्यवसाय गर्दै आएका थिए ।

छिमेकीका अनुसार उनी मानसिक रूपमा सबल नै देखिएको र सबैसँग आदरभावले बोल्ने व्यक्ति रहेको बताएका छन् । जेलबाट छुटेपछि दीपा र सुजन विगत एक वर्षदेखि एक आपसमा बोल्ने र भेटघाट गर्दै आएको खुलेको छ । दीपा आफन्तको विवाहमा सहभागी हुन दुई छोरीसहित मंगलबार बुटवल आएकी थिइन् । त्यहिबेला पूर्वपति सुजनले उनलाई घरमा बोलाएका थिए ।

प्रहरीका अनुसार सुजनले बिहान ४ बजेको समयमा चक्कु र हतौडा प्रयोग गरेर उनीहरूको हत्या गरेका छन् । सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

कानूनमा के छ व्यवस्था ?

संविधानको धारा २७६ ले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेका सजायलाई राष्ट्रपतिले कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को धारा १५९ मा सजाय माफी दिन सकिने विषयमा कानुनी प्रबन्ध गरिएको छ । उक्त धाराको उपधारा ७ मा पूरै वा आंशिक सजाय माफ वा कैद कम गर्ने प्रयोजनका लागि कारण र आधार खुलाएर नेपाल सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले विशेष गरी वर्षमा तीन पटक कैदीहरूको सजाय मिनाहा गर्दै आएको छ । कैदीहरूको सुधार, आत्मआलोचना र अनुशासनको आधारमा कैदीहरूलाई मिनाहा गर्छ । गणतन्त्र दिवस जेठ १५, संविधान दिवस असोज ३ र प्रजातन्त्र दिवस फागुन ७ मा आममाफी दिइन्छ ।

आममाफीको लागि पीडित परिवारको सहमति अनिवार्य भनिएको छ । तर राजनीतिक शक्तिको दुरुपयोग प्रयोग गर्दै माफी गर्नै नमिल्ने मुद्दाहरूमा पनि माफी दिइएको पाइन्छ । आममाफीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । यससम्बन्धी कानून संशोधनको बारेमा पनि कुरा उठिरहेको छ ।

यतिबेला सामाजिक सञ्जालमा हत्याको जिम्मेवारी आममाफी दिने कार्यमा संलग्न सबैले लिनुपर्ने भन्दै आलोचना भइरहेको छ ।

प्रस्तुत समाचारमा त्रुटि सच्याई अध्यावधिक गरिएकाे छ – सं.

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : २७ बजे

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य