गृहमन्त्री लेखकको तर्क : तीन वर्षमा तीन मन्त्रीविरुद्ध उजुरी पर्‍यो, राजीनामा आयो ? « Khabarhub

गृहमन्त्री लेखकको तर्क : तीन वर्षमा तीन मन्त्रीविरुद्ध उजुरी पर्‍यो, राजीनामा आयो ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिजिट भिसामार्फत मानवतस्करी गरी आर्थिक सङ्कलन गरेको आरोप खेपेका काङ्ग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले पछिल्ला तीन वर्षमा तीन गृहमन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, तर राजीनामा नआएको तर्क गरेका छन् ।

प्रतिपक्षीले राजीनामा माग गर्दै संसद्‌मा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरेका गृहमन्त्री लेखकले आयोगमा पछिल्ला तीन वर्षमा परेका उजुरीको फेहरिस्त प्रस्तुत गर्दै आफ्नो बचाउ गरेका हुन्‌ ।

‘मानौँ कि अख्तियारले पहिलोपटक कुनै राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ र त्यसको जिम्मा सीधै मन्त्रीले लिनुपर्छ भन्ने ढङ्गले पनि विषयहरू उठिरहेको हुनाले म के निवेदन गर्न चाहन्छु भने आयोगको काम कारबाही निरन्तर रूपले राष्ट्रसेवक कर्मचारीका माथि अथवा राजनीतिक व्यक्तिहरूका माथि, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका माथि पनि निरन्तर रूपले छानबिन अनुसन्धानहरू हुने गरेको छ’, लेखकले भने ।

आर्थिक वर्ष २०७८/७९ सालमा अख्तियारमा जम्मा १६,२८० वटा उजुरी परेका, जसमध्ये गृह मन्त्रालयसँग मात्रै सम्बन्धित ७७ वटा उजुरी रहेको तथ्याङ्क लेखकले प्रस्तुत गरे । ती ७७ उजुरीमध्ये गृह मन्त्रालयसँग सम्बन्धित तीनवटा उजुरीको छानबिन अनुसन्धान गरेर आयोगले अदालतमा मुद्दा दायर गरेको उनले बताए ।

त्यस्तै; वि.सं. २०७९/८० मा २०९०५ वटा उजुरी परेका र ती मध्ये ९४६ उजुरी गृह मन्त्रालयसँग सम्बन्धित रहेको, जसमध्ये पाँचवटा उजुरीमा छानबिन र अनुसन्धान भएर मुद्दा दायर भएको गृहमन्त्री लेखकले उल्लेख गरे ।

‘आर्थिक वर्ष २०८०/८१ मा २६९१८ उजुरी परेका छन्‌, जसमध्ये गृह मन्त्रालयसँग मात्रै सम्बन्धित उजुरी ११६१ वटा छन्‌ । यति उजुरी पछिल्लो आर्थिक वर्षमा परेको छ । त्यसमध्ये ६ वटा उजुरीको अध्ययन र छानबिन गरेर मुद्दा दर्ता भएको छ । यो आर्थिक वर्षमा पनि निरन्तर उजुरी परेका छन्‌, छानबिनहरू भइरहेको छ’, लेखकले थपे ।

उनले अगाडि भने, ‘कतिपयमा मुद्दा दर्ता भएको छ, कतिपय आफ्नो कानुनबमोजिमको उस्मा गइराखेका छन्‌ । मैले तीन आर्थिक वर्षको निवेदन गर्दाखेरी यो तीन आर्थिक वर्षमा ६४ हजार ६१ वटा दर्ता भएको रहेछ । यी उजुरीहरू कुनै न कुनै मन्त्रालयसँग सम्बन्धित या सार्वजनिक पदधारण गरेका व्यक्तिसँग सम्बन्धित छ । सम्पूर्ण उजुरीहरू कुनै न कुनै मन्त्रालयकै कर्मचारीमा छानबिन भइरहेको छ । मन्त्रालय, विभाग या कार्यालय होला  या मातहतका निकाय होलान् ।’

‘मेरो कुनै आग्रह छैन, पूर्वाग्रह छैन । म खाली एउटा के निवेदन गर्न चाहन्छु भने यसपूर्व तीनजना मेरा आदरणीय नेता र माननीय मन्त्रीज्यूहरू म भन्दा पहिला यही तीनवटा आर्थिक वर्षभित्र उहाँहरूले यो मन्त्रालयको नेतृत्व सम्हालेका बेला ६ वटा व्यक्तिका माथि अख्तियारले मुद्दा दायर गरेको छ विशेष अदालतमा’, लेखकले आफ्नो प्रतिरक्षा गर्दै थपे, ‘त्यो बेला पनि सञ्चारमाध्यमहरूमा यसरी नै प्रश्न उठेका थिए । को को सङ्लग्न छन्‌, के छ भन्ने प्रश्न नउठेका होइनन् । ६ वटा मान्छेका माथि मुद्दा दायर भयो । कति मन्त्रीज्यूहरूले राजीनामा दिनुभयो, कतिले दिनुभएन, ती कुरा आफ्नो ठाउँबाट तपाईंहरूले विश्लेषण गर्ने कुरा हो ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै