काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यन्वयन गर्न निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि बिहीबार उनले प्रतिबद्ध भएर कार्यन्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिएका हुन् ।
मन्त्री शाही र सचिव डा. राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच आज कार्यसम्पादन सम्झौता भएको हो ।
‘प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यन्वयन गर्न म प्रतिबद्ध रूपमा लाग्ने छु’, मन्त्री शाहीले भने, ‘मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्न तपाईंहरू पनि कटिबद्ध भएर लाग्नुस् ।’
आगामी कार्यसम्पादनको मुल्यांकन ९० प्रतिशत अंकभार प्राप्त गर्ने गरी कार्यन्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिए । उनले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।
मन्त्री शाहीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ । काम गर्ने क्रममा बाधाअड्चन वा समस्या देखिए एकापसमा छलफल गरी समाधान निकालौँ ।’
उनले सुखी नेपाली समृद्धि नेपालको परिकल्पनासहित जनताका चाहनाअनुसार विकास निर्माणमा सबैले हातेमालो गरी अघि बढ्न आग्रह गरे ।
प्रतिक्रिया