काठमाडौँ– बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परे । पहिलो थिए, नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर । दोस्रो थिए, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे ।
महर प्रमुख सत्तारुढ नेकपा एमालेका नेता हुन् भने पाँडे प्रतिपक्षी दल रास्वपाका नेता हुन् । दुवैजनालाई लागेको आरोप एकै थियो, महिलालाई गाली बेइज्जती ।
बझाङकी रश्मिला धामीले फेसबुक लाइभमा बसेर महर दम्पतीले गाली बेइज्जती गरेको भन्दै हुलाकबाट दिएको उजुरीका आधारमा महरविरुद्ध भदौ ९ गते जिल्ला अदालत काठमाडौंदेखि पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएको तीन दिनपछि बुधबार महर नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भए ।
उनलाई त्यहीँबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालत लगिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । तर महरलाई अदालत नलगी काठमाडौंका सरकारी वकिल रामहरि काफ्लेकहाँ उपस्थित गराइयो । काफ्लेकहाँ बयान लिने प्रक्रिया पूरा गरेपछि प्रहरीले बोलाएको बेला आउने गरी महरलाई हाजिरी जमानीमा छाडियो ।
बुधबार दिउँसो साइबर ब्युरोले नियन्त्रणमा लिएका उनलाई जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख काफ्लेले आवश्यक बयानपछि प्रहरीलाई हाजिरी जमानीमा छाड्ने अनुमति दिए । महरसँगै पक्राउ पुर्जी जारी भएकी उनकी श्रीमती पनि हाजिरी जमानीमै छुटिन् ।
यसअघि महरविरुद्ध बलात्कार जस्तो गम्भीर आरोप लगाइरहेकी बझाङी युवतीलाई पनि साइबर ब्युरोले नै पक्राउ गरेको थियो । तर उनलाई पनि विद्युतीय कारोबार ऐनअनुसार पक्राउ गरेर बयान लिएपछि हाजिर जमानीमा छाडिएको थियो । अहिले महरको हकमा पनि सरकारी वकिलले त्यही विधि अपनाए ।
महरविरुद्ध सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गरेको भन्दै बझाङकै एक महिलाले जाहेरी दिएकी थिइन् । तर सत्तारुढ दल नेकपा एमालेका नेता उनी प्रधामन्त्री केपी शर्मा ओलीनिकट हुनुको फाइदा पनि प्राप्त गरे ।
कानुनमा पनि कुनै व्यक्तिलाई हिरासतमा नराखी छाड्दा भाग्ने वा प्रमाण नष्ट गर्न नसक्ने ठहरिएमा अनुसन्धान अधिकृतले सरकारी वकिलसँग परामर्श लिएर खोजेका बेला वा तोकिएको दिनमा उपस्थित हुने शर्तमा हाजिर जमानीमा छाडिदिन सक्ने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिताले पनि त्यही भन्छ । कसैलाई हाजिर जमानीमा छाड्नुको कारणबारे टिप्पणी उठाएर सम्बन्धित अनुसन्धान अधिकृतले नै निश्चित दिन र समयमा उपस्थित हुने शर्तमा छाड्न सक्ने अपराध संहिताले भनेको छ ।
उनै नेता महरले सरकारी वकिलबाट राहत पाएपछि बुधबार नै आफूले न्याय पाउनुपर्ने जिकिर गरे । सामाजिक सञ्जाल फेसबुकमा लेखेर उनले राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी केही गतिविधि भइरहेको भन्दै न्यायको अपेक्षा गरेको दाबी गरे ।
‘मेरो सामाजिक–राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ । मैले कसैलाई कुनै आरोप नलगाउँदा पनि साइबर क्राइम भनेर उजुरी गयो, तर मेरोबारे दिनहुँ अफवाह फैल्याएर चरित्र हत्या गर्दा साइबर क्राइम नहुने हुन्छ, ’ उनले बुधबार भने, ‘म राजनीतिक कार्यकर्ता हुँदा मैले न्याय नपाउने ?’
उनले भनेजस्तै सत्तारुढ दलका नेता महरलाई सरकारी वकिलले पक्राउ परेको केही घण्टामै हिरासतमा जानु नपर्ने गरी न्यायिक राहत दिए । त्यसपछि उनले बिहीबार पनि एउटा पोस्ट लेखेर आफ्नो बचाउ गरे ।
उनले ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’, शीर्षकमा एउटा पोस्ट गर्दै आफ्नो खुट्टा तान्ने काम भएको जिकिर गरे । ‘मौरीले फूल देख्छ भने झिँगाले फोहोर मात्रै देख्छ । मान्छेको सोच र दृष्टिकोण जे जस्तो छ, त्यही देख्छ, त्यस्तै विचार प्रस्तुत गर्छ, त्यही गर्छ’, उनले भनेका छन्, ‘अर्थात् सकारात्मक सोच भएका मानिसले सकारात्मक र नकारात्मक सोच भएका मानिसहरूको नकारात्मक अभिव्यक्ति दृष्टिकोण र व्यवहार प्रकट गर्छ । त्यसैले मानिसहरुले अरुलाई गर्ने व्यवहारले आफ्नो वास्तविकता सचित्र प्रस्तुत गरिरहेको हुन्छ ।’
उनले अरुका खुट्टा तान्न लाग्ने मान्छे जहिले पनि खुट्टाको तहमै सीमित हुने पनि जिकिर गरेका छन् । ‘कसैको खुट्टा तान्नको लागि कसैको खुट्टा समातेको हुन्छ, बस त्यसले सक्ने र जानेको त्यति हो’, महरको तर्क छ।
उनै महरले अपशब्दसहितको एउटा अडियो टेप प्रकरणमा जोडिएपछि २०८१ फागुनमा राजीनामा दिएका थिए । उनको राजीनामा फागुन ३ गतेको एमाले सचिवालय बैठकले स्वीकृत पनि गरेको थियो ।
त्यसबेला महरको राजीनामा स्वीकृत गरेको एमालेले चैत ११ गते उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्यो । तर किन राजीनामा स्वीकृत भयो, किन फेरि मनोनीत गरियो केही खुलाइएन । महरमाथि महिलासँगको सम्बन्धलाई लिएर उठेको गम्भीर प्रश्नको जवाफसमेत एमालेले खोज्न चाहेन ।
चैत ११ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले महरले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाएपछि केन्द्रीय सदस्य मनोनीत गरिएको मात्रै बताए । महरले निष्ठा र इमान्दारीसाथ काम गर्ने प्रतिवद्धता जनाएकाले पार्टी विधानको धारा ६५ अनुसार उनलाई केन्द्रीय सदस्यमा मनोननय गर्ने निर्णय गरेको ज्ञवालीले बताए । तर महरमाथि उठेको गम्भीर प्रश्नको निरुपण त्यसबेला गरिएन ।
महरले त्यसबेला विगतमा कुनै कमजोरी गरेको भए आगामी दिनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएका थिए । उनले बालकोटमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष आफ्ना कुरा राखे । बझाङको उपनिर्वाचनमा महरले खेलेको भूमिकालाई लिएर खुसी भएका ओलीले उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय लिएका थिए ।
महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसँग पराजित भए ।
उस्तै आरोप तर पाँडे हिरासततिर
महर छुटेको केही घण्टापछि रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ परे । पाँडेलाई पनि महरलाई जस्तै एकजना महिलाले सामाजिक सञ्जालमार्फत् गाली बेइज्जती गरेको भन्दै विद्युतीय कारोबार ऐनअनुसार साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।
महरलाई सरकारी वकिलले राहत दिएर छुटेपछि श्रीमतीसहित फेसबुक लाइभमा बसिरहेको समयमा रास्वपा नेता पाँडे पक्राउ परेको समाचार आयो । उनलाई पनि साइबर ब्युरोले महरलाई जस्तै उही आरोप लगाएको थियो ।
पक्राउ परेका महर बुधबार राति भइसकेकाले जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा बसे । उनलाई बिहीबार कार्यालय खुलेपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइयो । महरको हकमा अर्धन्यायिक निकायको अधिकार प्रयोग गर्दै हिरासत बाहिरै बस्ने सुविधा दिएका सरकारी वकिलले पाँडेको हकमा त्यस्तो गर्न चाहेनन् ।
उस्तै आरोपको केसमा महर छुटेर आफ्नो बदनाम गर्न एउटा समूह नै लागेको आरोप लगाइरहँदा पाँडेलाई भने काठमाडौँ जिल्ला अदालतबाट पक्राउ परेको दिनदेखि चार दिनको म्याद लिइयो । अर्थात्, पाँडेको हकमा सरकारी वकिलले तजबिजी अधिकारी प्रयोग गर्न चाहेनन्, कारण उनी प्रतिपक्षी दलका नेता थिए ।
महरलाई अदालतमा उपस्थित नै नगराई अर्धन्यायिक निकायको हैसियतमा राहत दिएका प्रमुख सरकारी वकिल काफ्लेले पाँडेला भने अदालत नै पठाइदिए । काठमाडौँ जिल्ला अदालतले उनलाई अब चार दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति प्रहरीलाई दिइसकेको छ।
सहकारी ठगी प्रकरणमा हाल जेलमा रहेका रवि लामिछानेलाई सरकारले प्रतिपक्षी दलको नेता भएकै कारण प्रतिशोध साँधेको आरोप लागिरहँदा महर र पाँडेको हकमा त्यो कुरा पुष्टि भएको छ। उस्तै आरोपमा सत्तारुढ नेता अझ प्रधानमन्त्री ओलीका प्रियमध्ये एकजना नेता महरले सरकारी वकिलको सद्भाव पाए भने प्रतिपक्षी नेताले हिरासतमा बस्नु पर्यो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पाँडेलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीले बताए ।
ती महिलाले पाँडेमाथि अनलाइनमार्फत् दुर्व्यवहार गरेको आरोप पाँडेमाथि लगाएकी थिइन्। अदालते म्याद दिएपछि हाल उनलाई भोटाहिटीस्थित ब्युरोमै हिरासतमा राखिएको छ।
प्रतिक्रिया