ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर | Khabarhub Khabarhub

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

सीमामा उद्योग राख्ने प्रस्ताव, नेपाली पक्ष सतर्क


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र निर्यात निम्ति दोस्रो मुलुक खोज्दै भारतीय गार्मेन्ट उद्योगीहरू नेपाल आउन थालेका छन् ।

भारतबाट अमेरिकामा कपडा निर्यात गर्ने सम्भावना कम्तिमा तत्काललाई नरहेको भन्दै त्यहाँका गार्मेन्ट उद्योगीले नेपाली उद्योगी र निर्यात व्यवसायीहरूसँग भेटघाट बढाएका हुन् ।

नेपाली उद्योगी/व्यवसायीलाई उनीहरूले सीमावर्ती क्षेत्रमा गार्मेन्ट उद्योग खोल्ने र नेपालको उत्पादनका रूपमा अमेरिका निर्यात गर्ने प्रारम्भिक योजना सुनाएका छन् ।

रूसबाट तेल किनेर युक्रेनविरुद्धको युद्धमा वित्तपोषण गरेको भन्दै अमेरिकाले भारतबाट आयात हुने सामानमा हिजो (अगष्ट २७) देखि ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाएको छ ।

भारतीय कपडा र पोशाकको प्रमुख आयातकर्ता अमेरिका नै हो, जो भारतको शीर्ष निर्यात गन्तव्य हो । अमेरिकी कपडा बजारमा भारतको हिस्सा १५ देखि १८ प्रतिशतसम्म छ ।

अमेरिकाले ५० प्रतिशत आयात कर लगाएपछि भारतमा कार्पेट र टेक्सटाइल उद्योगहरू अधमरो बन्न थालिसकेको अवस्था छ । कयौँ उद्योगले रोजगारी कटौती थालिसकेका छन् । जसले सीप भएको भारतीय जनशक्ति बेरोजगार हुन थालेको छ।

भारतले गर्ने कुल निर्यातमा औषत ४३.७ प्रतिशतसम्म हिस्सा ओगटेको अमेरिकाले लगाएको ५० प्रतिशत भन्सार महसुलका कारण कपडाजन्य पाँच उत्पादन अतिउच्च प्रभाव पर्ने टाइम्स अफ इन्डियाले जनाएको छ । भारतले सन् २०२४–२५ मा अमेरिकातर्फ १० अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढीको कपडा र तयारी पोशाक पठाएको थियो ।

भारतीय कपडा उद्योग । (तस्बिर : रोयटर्स )

यति ठूलो आकारको व्यापार सम्बन्ध रहे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको आर्थिक कूटनीतिबाट अचानक ठूलो झट्का ब्यहोरेका भारतीय गार्मेन्ट उद्योगीहरू साझेदार खोज्दै नेपाल आएका हुन् ।

नेपाल निर्यात परिषद् (इकोन) का अध्यक्ष नरेशलाल श्रेष्ठले उद्योग नै स्थापना गर्ने योजनासाथ भारतीय गार्मेन्ट उद्योगी नेपाल आएको पुष्टि गरे ।

‘भारतीय उद्योगीहरू यतिखेर नेपाल आइपुगेका छन्, धेरैजसो गार्मेन्ट उद्योगी छन् । नेपालमा फ्याक्ट्री राख्नुपर्‍यो, यतैबाट निर्यात गर्नुपर्‍यो भनिरहेका छन्’, श्रेष्ठले खबरहबसँग भने ।

नेपाली पक्ष सतर्क

भारतीय कपडा र तयारी पोशाक उद्योगीले साझेदारीमा उद्योग खोली नेपाली ब्राण्डमा अमेरिका लगायत मुलुकमा निर्यात गर्ने प्रस्ताव राखे पनि नेपाली उद्योगी/व्यापारी भने सतर्क देखिएका छन् ।

भारतको विशाल गार्मेन्ट र टेक्सटाइल उद्योगको सानो हिस्साले नै नेपाली उद्योगलाई विस्थापित गरिदिने जोखिम, ट्रम्पले भारतप्रति लिएको नीतिको दिगोपना र नेपाललाई हुने लाभलाई लिएर नेपाली पक्ष सशङ्कित भएको हो ।

नेपाल निर्यात परिषद्‌ (इकोन) का अध्यक्ष नरेशलाल श्रेष्ठ ।

‘मलाई पनि प्रस्ताव आएको छ, तर ट्रम्पको निर्णय दीर्घकालीन हुने/नहुने अन्योल छ । त्यसैले हामीले साझेदारी प्रस्ताव झट्टै स्वीकारिहालेका छैनौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘भारत र अमेरिकाबीच सौदाबाजी भइहाल्यो भने हालको भन्सार महसुल ५० बाट २५ मा झर्न सक्छ । यता हाम्रो लगानी र समय खेर जान्छ । नेपालीहरूले गरेको लगानीमा समस्या आउन सक्छ ।’

भारतीय उद्योगी/व्यवसायीहरूले भने नेपाली पक्षलाई आश्वस्त तुल्याउन सक्दो प्रयास गरिरहेको छ । भारतीयहरूले नेपाली लगानीकर्तालाई ‘मिलेर गर्ने’ भनिरहेका छन् ।

भारतीय उद्योगीको आगमन र ट्रम्पको भन्सार करलाई लिएर नेपालीले अर्को जोखिम पनि देखेका छन् । त्यो हो – अमेरिकी करका कारण भारतको गोदाममा थन्किएका सामान चोरीतस्करीको बाटो हुँदै नेपाल आउने र नेपाली ब्राण्डका नाममा बिक्री हुने खतरा !

‘भारतीय लगानीकर्ता आउन् या नआउन्, नबिकेका सामान भारतबाट तस्करीको बाटो हुँदै नेपाल आउन सक्छ, सरकार यसप्रति तत्कालै सचेत हुनुपर्छ, सीमामा सुरक्षा थप कसिलो बनाउनुपर्छ’, श्रेष्ठले थपे ।

भारतीय उद्योगीको आश्वासन, ‘बजार आफैं खोज्छौँ’

उत्तरी छिमेकमा आउन खोजिरहेका भारतीय उद्योगीहरूले साझेदारीमा उद्योग स्थापना र उत्पादन सुरू भएपछि त्यसको बजार आफैँ खोज्ने आश्वासन पनि दिएका छन् ।

किनकि नेपाली कपडा र गार्मेन्ट उद्योगहरूले विश्वबजारमा ठूलो परिमाणमा व्यापार गर्न सकिरहेका छैनन् ।

अर्कातर्फ भारतबाट सामान खरिद गरिरहेका अमेरिकी क्रेताहरूले नेपालबाट सोझै सामान किन्न सक्दैनन् । किनभने उनीहरूले खरिद-बिक्रीको प्रणाली तयार गरिसकेका हुन्छन् ।

भारतीयहरूले नेपालमा उत्पादन प्रक्रिया थालेपछि अमेरिकाका खरिदकर्तालाई ‘अब हामी नेपालमा सोही गुणस्तरको वस्तु उत्पादन गर्छौँ र नेपालबाटै निर्यात गर्छौँ’ भनी कन्भिन्स गराउने बताएका श्रेष्ठले जानकारी दिए ।

‘त्यस हिसाबले नेपाल–भारत सीमा नजिक केही उद्योग नै राख्न प्रस्ताव आएको छ’, गार्मेन्ट व्यवसायमा सङ्लग्न श्रेष्ठले भने, ‘मलाईसमेत भारतीय गार्मेन्ट उद्योगीबाट साझेदारी प्रस्ताव आएको छ ।’

नेपाली व्यवसायीहरूले भारतविरुद्ध अमेरिकाले लगाएको ५० प्रतिशत भन्सार महसुल यथावत् रहेमा नेपाली गार्मेन्ट र कपडा उद्योगले छलाङ हान्ने बताइरहेका छन् । किनकि, नेपाललाई अमेरिकाले न्यूनतम अर्थात् १० प्रतिशतमात्रै भन्सार कर लगाएको छ ।

यो पनि

यही ४० प्रतिशतको ‘ट्यारिफ ग्याप’ लाई भारतीय उद्योगीहरूले ‘क्यास’ गर्न खोजेका हुन् । तर, नेपाली उद्योगहरूले भने उत्पादकत्व र उत्पादन लागतमा चुनौती खेपिरहेका छन् ।

भारतबाट विस्थापित हुन खोजेका लगानीकर्तालाई सावधानीपूर्वक स्वागत गर्न सक्दा नेपालले फाइदा लिन सक्ने अवसर पनि नेपाली उद्योगीले देखेका छन् ।

इकोन अध्यक्ष श्रेष्ठले थपे, ‘भारतका धेरै कम्पनीहरूबाट नेपालमा डाइभर्ट हुन कुरा अघि बढिसकेको छ, त्यहाँका उद्योगीहरूले नै नेपालमा उद्योग खोल्ने हुनाले ट्रम्पको कदम यथावत् रहे नेपाल कार्पेट र गार्मेन्टमा दक्षिण एसियाकै उत्पादन हब बन्न सक्छ ।’

तर, नेपालका गार्मेन्ट उद्योगी/व्यवसायीहरू भारतीय उद्योगीहरूसँग त्यो डील तुरुन्तै नगर्ने पक्षमा देखिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए । उक्त ट्यारिफ ७ अगस्टदेखि लागू भएको थियो । बुधबारदेखि त्यसमा थप २५ प्रतिशत थपिएपछि भारतीय उत्पादनमा कुल ५० प्रतिशत कर लागेको छ ।

५० प्रतिशत ट्यारिफ लागेपछि अमेरिका भित्रिने भारतीय कपडा, रत्न–गहना, फर्निचर, सी–फूडजस्ता उत्पादन महँगिएको छ । ट्यारिफका कारण अमेरिकी बजामा भारतबाट आयात हुने यी वस्तुको मागमा करिब ७० प्रतिशतले कमी आउने अनुमान छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ७ : १० बजे

बल्बी खोलाको बाढीले बगाउँदा बालिकाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको

देबार खोलामा बालिकाको शव फेला

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव

आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले

उपत्यकामा दिनभरी झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी जस्तै झरी

युवालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई