गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो « Khabarhub

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत् रुपमा सुरु भएको छ । आजको दिनलाई विरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘विरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर विरुडा बनाउने चलन छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको विरुडा पञ्चमीदेखि गौरापर्व विधिवत् रुपमा सुरु हुने यहाँका जानकार जानकी अवस्थी बताउँछन् ।

“एक महिना अगाडिदेखि नै शुद्ध शाहाकार र बह्मचर्यको पालना गरिन्छ, त्यसपछि विरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउँछन्”, उनले भने, “विरुडा भिजाइँदा माँगकी सगुन फाँग गाउँछौँ ।” गौरादेवीको पूजाआजामा पनि विरुडाको प्रयोग गरिने अवस्थी बताउँछन् ।

“मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्धी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौँ विरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ” उनले भने, “यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व भएकाले महिलाका लागि विशेष पर्व हो ।” यसरी भिजाएका विरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन छ ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’मा भित्र्याइने व्रतालु निर्मला जोशीले बताए ।

“गौरा हाम्रो ठूलो पर्व हो, पुरुष जस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गर्छौं”, उनले भने, “गौराको पूजाअर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्छौँ ।”

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ ।

पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरापर्व हो । यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्णपक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ । यी दुवै गौरालाई अतिपवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिएको यहाँका जानकार कविराज भट्टले बताए ।

“भाद्र शुक्ल वा कृष्णपक्षको पञ्चमी तिथिबाट गौरा पर्व सुरु हुन्छ”, उनले भने, “भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई ‘अँधेरी गौरा’ भन्ने चलन छ नयाँ व्रतालुका लागि उज्याली गौरा उत्तम हुन्छ ।”

गौरामा शिवपार्वतीको पूजाआजा गरिन्छ । पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको होे ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ४८ बजे

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै