ठगी प्रकरणमा पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन | Khabarhub Khabarhub

ठगी प्रकरणमा पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवप्रसाद श्रेष्ठले उनलाई मंगलबार राति पक्राउ गरिएको पुष्टि खबरहबलाई गरे ।

‘अहिले अपरेशन चलिरहेको छ । भट्टचनलाई हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ’, उनले भने, ‘कार्यालयबाट खटिएको टोलीले कागजपत्रसमेत जफत गरिरहेकाले यसबारेमा भोलिमात्रै विस्तृत जानकारी उपलब्ध हुनेछ ।’

बैंक, हेलिकप्टर, सहकारीसहित कयौँ व्यापारिक संस्था चलाइरहेको प्रभु ग्रुपको त्यस कम्पनीमाथि रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्ट प्रालिले कम्तीमा पनि १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा छानबिन चलिरहेको थियो ।

त्यसबेला प्रभु म्यानेजमेन्टका अध्यक्षमा उनै देवीप्रसाद भट्टचन थिए। भट्टचन २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। तर अहिले उक्त कम्पनी कुसुम लामाले सम्हालिरहेकी छन् ।

विदेशबाट आउने रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाइदिने भन्दै प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट रकम लिएको खुलेको छ । तर उक्त रकम फिर्ता नगरेपछि पीडित सहकारीहरूले उजुरी दिएका थिए । एजेन्ट पनि भट्टचनकै कार्यकालमा बनाइएको थियो ।

भट्टचन नेतृत्वको कम्पनीले रकम फिर्ता नगरेको भन्दै गोरखा जिल्लाका सहकारीहरूले संयुक्त रूपमा ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

पीडितहरूले भुक्तानी बाँकी रकम फिर्ताका लागि प्रमुख जिल्ला अधिकारीमार्फत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागमा ज्ञापनपत्र पठाएका थिए ।

प्रभु म्यानेजमेन्टले गोरखास्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २ लाख २२ हजार, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ३ लाख १४ हजार रुपैयाँ, दैनिक उत्थानको १० लाख १० हजार, भीमसेन-८ को सिर्जनशील बचतको १७ लाख २० हजार, भीमकुल बचतको ३ लाख ९२ हजार र सिद्धिगणेश बचतको १ हजार ५ सय रुपैयाँ फिर्ता नदिएको खुलेको थियो ।

सनराइज बचतको १ लाख ५ हजार, सुलिकोट बहुउद्देश्यीय बचतको १३ लाख १३ हजार र ससारी बचतको ५ लाख ८ हजार रुपैया फिर्ता लिन बाँकी थियो ।

उता गोरखकाली बचतको ३ लाख, महिला जागरण बारपाक सुलिकोट बचतको १ लाख १० हजार, गोरखा उद्यमशील बचतको ३ लाख ११ हजार, चम्पावती बचतको ३ लाख ८ हजार, थालाजुङ विकास बहुउद्देश्यीय बचतको २ लाख ४० हजार, सप्तकोशी बचतको २ लाख ४१ हजार र शीतला बचतको २८ लाख ३५ हजार लिन बाँकी रहेको पीडितहरूले बताएका थिए ।

प्रभु म्यानेजमेन्टले देशभर चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको थियो । तर रेमिट्यान्सबापत सहकारीले भुक्तानी गरेको रकम यो कम्पनीले फिर्ता दिएको थिएन। यो कम्पनीले सहकारीहरूको करिब १ अर्ब रकम फिर्ता नदिएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको छ।

अर्कातिर भक्तपुरका १८ वटा सहकारी संस्थाको ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले दिएको थिएन । प्रभु म्यानेजमेन्टले २ वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकेको पीडितहरूको गुनासो थियो ।

प्रभु म्यानेजमेन्ट प्रालि प्रभु समूहकै एक कम्पनी हो । यसले जिल्लास्थित सहकारीलाई एजेन्ट बनाएर रेमिट्यान्स भुक्तानी दिने गर्थ्यो। यो कम्पनीले सहकारीहरूबाट धरौटी पनि लिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ०२ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि