खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ « Khabarhub

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ



काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर भ्रामक शीर्षकका कारण सर्वसाधारणको खानपानमा धेरै भ्रम सिर्जना भएको छ । जस्तै  ‘दूध चिया विष हो’, ‘कागती पानीले बोसो पगाल्छ’ वा ‘रक्सीले मुटुलाई फाइदा गर्छ’ जस्ता हल्लाको पछि लाग्दा धेरैले आफ्नो स्वास्थ्यलाई धरापमा पारीरहेका छन् । 

अहिले हाम्रो समाजमा व्याप्त खानासम्बन्धी १० वटा प्रमुख भ्रमहरूको वैज्ञानिक चिरफार मैले यहाँ गर्न खोजेको छु । 

१. दूध चिया विष होइन

दूध चियालाई ‘विष’ भन्नु गलत हो। चिया पत्तिमा हुने एन्टीअक्सिडेन्ट मुटुका लागि राम्रो हुन्छ । दूध र चिनी मिसाउँदा त्यसको पूर्ण फाइदा नपाइने भए पनि यसले शरीरमा विषकै काम गर्छ भन्ने कुरामा सत्यता छैन । 

ग्यास्ट्रिकको समस्या भएकाहरूले खाली पेटमा दूध चिया खान हुँदैन र खानै परे पनि चिनी कम गर्नुपर्छ ।  

२.अनारले प्रेसर बढाउँदैन, घटाउँछ

धेरैलाई अनारले ब्लड प्रेसर बढाउँछ भन्ने भ्रम छ यो एकदमै गलत हो । किनभने अनारमा हुने तत्त्वले रक्तचाप बढाउने इन्जाइमलाई रोक्छ, जसले गर्दा उल्टै ब्लड प्रेसर नियन्त्रणमा आउँछ । यो मुटु रोगीका लागि लाभदायक फल हो ।

३.रेड वाइन र महँगो रक्सीले फाइदा गर्दैन

रेड वाइनले मुटुलाई फाइदा गर्छ भन्ने भनाइ पिउने बहाना मात्रै हो ।  रक्सीले मुटुको चाल बिगार्ने, प्रेसर बढाउने र खराब कोलेस्ट्रोल बढाउने काम गर्छ । अंगुरमा पाइने फाइदाजनक तत्त्व अङ्गुर वा अन्य फलफूल खाएरै पाइन्छ, त्यसका लागि रक्सी नै पिउनु पर्दैन । साथै, ‘ब्रान्डेड रक्सीले हानि गर्दैन’ भन्नु पनि मूर्खता हो । 

४.कागती पानीले नसाको बोसो पगाल्दैन

बिहान कागती पानी वा विभिन्न जुस खाएर रगतको नसामा जमेको बोसो वा ब्लकेज पगाल्छ भन्नु सरासर गलत हो । वर्षौँदेखि जमेको बोसो सामान्य झोल पदार्थले सफा हुँदैन । यसका लागि जीवनशैली सुधार र औषधि नै आवश्यक पर्छ ।

५.ड्राइ फ्रुट्सले राम्रो कोलेस्ट्रोल बढाउँछ

काजु, पेस्ता, बदाम जस्ता ड्राइ फ्रुट्सले खराब बोसो बढाउँदैन । यसमा वनस्पतिबाट पाइने राम्रो फ्याट हुने हुँदा यसले शरीरलाई फाइदाजनक ‘गुड कोलेस्ट्रोल’ बढाउन मद्दत गर्छ ।

६. डढेको मासु सेकुवा र क्यान्सर 

धेरै आगोमा पोलेको वा डढेको खानेकुरामा हानिकारक रसायन उत्पादन हुन्छ, जुन जनावरमा गरिएको परीक्षणमा क्यान्सरसँग जोडिएको छ । मानिसमा यसको प्रभाव पूर्ण पुष्टि नभए पनि धेरै डढेको, धेरै पटक तारेको वा अत्यधिक हिटमा पकाएको खानेकुरा जस्तै आलु चिप्स, फ्राइज कम खानु नै बुद्धिमानी हुन्छ ।

७.मधुमेहमा आलु वर्जित छैन

मधुमेह (सुगर) का बिरामीले आलु खानै नहुने भन्ने होइन । आलुलाई नतारी वा फ्राइ नगरी उसिनेर थोरै मात्रामा खाँदा खासै असर गर्दैन ।

८. खानापछि गुलियो खाने बानी गलत

भोजभतेरमा पेटभरि खाना खाएपछि अन्तिममा गुलियो (मिठाई, आइसक्रिम) खाने चलन स्वास्थ्यका लागि हानिकारक छ । यसको सट्टा ल्वाङ, सुकमेल वा ज्वानो खानु पाचनका लागि राम्रो हुन्छ ।

९.माछा खाँदा सचेत बनौँ

माछा मुटुका लागि राम्रो भए पनि आजकल पाइने माछामा विषादीको प्रयोग र डिप फ्राइ गरेर खाने बानीले यसलाई अस्वस्थकर बनाएको छ। तेलमा धेरै तारेको माछाले फाइदा भन्दा हानि बढी गर्छ ।

१०. ‘सेतो खाना खानुहुन्न’ भन्ने नियम पूर्ण सत्य होइन

चिनी र मैदाजस्ता सेतो खानेकुरा नराम्रो भए पनि सबै सेतो खाना (जस्तै दही) नराम्रो हुँदैन । त्यसैले रङ्गका आधारमा खानेकुरा बार्नु वैज्ञानिक छैन ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ३३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन