काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर भ्रामक शीर्षकका कारण सर्वसाधारणको खानपानमा धेरै भ्रम सिर्जना भएको छ । जस्तै ‘दूध चिया विष हो’, ‘कागती पानीले बोसो पगाल्छ’ वा ‘रक्सीले मुटुलाई फाइदा गर्छ’ जस्ता हल्लाको पछि लाग्दा धेरैले आफ्नो स्वास्थ्यलाई धरापमा पारीरहेका छन् ।
अहिले हाम्रो समाजमा व्याप्त खानासम्बन्धी १० वटा प्रमुख भ्रमहरूको वैज्ञानिक चिरफार मैले यहाँ गर्न खोजेको छु ।
१. दूध चिया विष होइन
दूध चियालाई ‘विष’ भन्नु गलत हो। चिया पत्तिमा हुने एन्टीअक्सिडेन्ट मुटुका लागि राम्रो हुन्छ । दूध र चिनी मिसाउँदा त्यसको पूर्ण फाइदा नपाइने भए पनि यसले शरीरमा विषकै काम गर्छ भन्ने कुरामा सत्यता छैन ।
ग्यास्ट्रिकको समस्या भएकाहरूले खाली पेटमा दूध चिया खान हुँदैन र खानै परे पनि चिनी कम गर्नुपर्छ ।
२.अनारले प्रेसर बढाउँदैन, घटाउँछ
धेरैलाई अनारले ब्लड प्रेसर बढाउँछ भन्ने भ्रम छ यो एकदमै गलत हो । किनभने अनारमा हुने तत्त्वले रक्तचाप बढाउने इन्जाइमलाई रोक्छ, जसले गर्दा उल्टै ब्लड प्रेसर नियन्त्रणमा आउँछ । यो मुटु रोगीका लागि लाभदायक फल हो ।
३.रेड वाइन र महँगो रक्सीले फाइदा गर्दैन
रेड वाइनले मुटुलाई फाइदा गर्छ भन्ने भनाइ पिउने बहाना मात्रै हो । रक्सीले मुटुको चाल बिगार्ने, प्रेसर बढाउने र खराब कोलेस्ट्रोल बढाउने काम गर्छ । अंगुरमा पाइने फाइदाजनक तत्त्व अङ्गुर वा अन्य फलफूल खाएरै पाइन्छ, त्यसका लागि रक्सी नै पिउनु पर्दैन । साथै, ‘ब्रान्डेड रक्सीले हानि गर्दैन’ भन्नु पनि मूर्खता हो ।
४.कागती पानीले नसाको बोसो पगाल्दैन
बिहान कागती पानी वा विभिन्न जुस खाएर रगतको नसामा जमेको बोसो वा ब्लकेज पगाल्छ भन्नु सरासर गलत हो । वर्षौँदेखि जमेको बोसो सामान्य झोल पदार्थले सफा हुँदैन । यसका लागि जीवनशैली सुधार र औषधि नै आवश्यक पर्छ ।
५.ड्राइ फ्रुट्सले राम्रो कोलेस्ट्रोल बढाउँछ
काजु, पेस्ता, बदाम जस्ता ड्राइ फ्रुट्सले खराब बोसो बढाउँदैन । यसमा वनस्पतिबाट पाइने राम्रो फ्याट हुने हुँदा यसले शरीरलाई फाइदाजनक ‘गुड कोलेस्ट्रोल’ बढाउन मद्दत गर्छ ।
६. डढेको मासु सेकुवा र क्यान्सर
धेरै आगोमा पोलेको वा डढेको खानेकुरामा हानिकारक रसायन उत्पादन हुन्छ, जुन जनावरमा गरिएको परीक्षणमा क्यान्सरसँग जोडिएको छ । मानिसमा यसको प्रभाव पूर्ण पुष्टि नभए पनि धेरै डढेको, धेरै पटक तारेको वा अत्यधिक हिटमा पकाएको खानेकुरा जस्तै आलु चिप्स, फ्राइज कम खानु नै बुद्धिमानी हुन्छ ।
७.मधुमेहमा आलु वर्जित छैन
मधुमेह (सुगर) का बिरामीले आलु खानै नहुने भन्ने होइन । आलुलाई नतारी वा फ्राइ नगरी उसिनेर थोरै मात्रामा खाँदा खासै असर गर्दैन ।
८. खानापछि गुलियो खाने बानी गलत
भोजभतेरमा पेटभरि खाना खाएपछि अन्तिममा गुलियो (मिठाई, आइसक्रिम) खाने चलन स्वास्थ्यका लागि हानिकारक छ । यसको सट्टा ल्वाङ, सुकमेल वा ज्वानो खानु पाचनका लागि राम्रो हुन्छ ।
९.माछा खाँदा सचेत बनौँ
माछा मुटुका लागि राम्रो भए पनि आजकल पाइने माछामा विषादीको प्रयोग र डिप फ्राइ गरेर खाने बानीले यसलाई अस्वस्थकर बनाएको छ। तेलमा धेरै तारेको माछाले फाइदा भन्दा हानि बढी गर्छ ।
१०. ‘सेतो खाना खानुहुन्न’ भन्ने नियम पूर्ण सत्य होइन
चिनी र मैदाजस्ता सेतो खानेकुरा नराम्रो भए पनि सबै सेतो खाना (जस्तै दही) नराम्रो हुँदैन । त्यसैले रङ्गका आधारमा खानेकुरा बार्नु वैज्ञानिक छैन ।













प्रतिक्रिया