याक्थुङ लिम्बू चिनाउने साङधुङगेहाङ सेरेङ लिङथेप वंशावली | Khabarhub Khabarhub

पुस्तक चर्चा

याक्थुङ लिम्बू चिनाउने साङधुङगेहाङ सेरेङ लिङथेप वंशावली



धरान – याक्थुङ लिम्बू समुदायमा पछिल्लो एक दशक यता आफ्नो कुल–पितृको उत्पत्ति र विस्तारको इतिहास खोज्दै वंशावली प्रकाशन गर्ने होडबाजी चलिरहेको छ ।

आफ्नो वंशको पहिलो पुर्खा वा पुराना पुर्खा को थिए ?, कसरी आजको अवस्थामा आइपुगे, उनीहरुको तत्कालीन अवस्था कस्तो थियो ? कुन स्थान (गुफा, पाखा पखेरा, खोला, जङ्गल, डाँडापाखा) मा बसेर वंश विस्तार गरे ?, कति दाजु–भाइ र छोरीचेली थिए ? ती दाजुभाइ छोरीचेली कसरी छुटेर अर्को उपवंशमा परिणत भए ? याक्थुङ लिम्बूभित्र भएका वंश मध्ये कुन वंशको नजिक कुन वंश पर्छ आदिको उत्तर पनि आधुनिक वंशावलीमा उल्लेख गर्ने गरेको पाइन्छ ।

यतिमात्र नभएर राणाकाल र पञ्चायतकालसम्म नै पूर्वका याक्थुङ लिम्बू समुदाय ‘आपुङ्गी,’ ‘भूइँफुट्टा’ (भाइफुट्टा ?) शासक भनेर इतिहासमा दर्ज भएको छ । आधुनिक वंशालीमा वंश–दुस्मनी, विजय–पराजय, वंशनास, सम्बन्ध स्थापनाजस्ता विषयलाई पनि उल्लेख गर्न थालिएको छ ।

वंशावली निकाल्ने यो होडबाजीमा कतिपय याक्थुङ लिम्बू समुदाय नराम्ररी चुकेका पनि छन् । आफ्नो कुलवंशको उत्पति र विस्तारको इतिहासको गाथालाई ओजपूर्ण र ऐतिहासिक देखाउने र बनाउने नाममा अवैज्ञाानिक तथ्य, दन्त्यकथा, भ्रामक र अविश्वसनीय दस्तावेज प्रयोग गरेर झन् हल्का र उडन्ते वंशावली पनि बनाएका उदाहरण धेरै छन् ।

सामान्यतया कुनै पनि कुलको वंशावलीमा कति पुस्तासम्म हुन्छ या हुनुपर्छ र हालको पुस्तादेखि कति माथि (ऐतिहासिक पात्र, स्थल) सम्म पुर्‍याउनु पर्छ भन्ने कुनै मापदण्ड छैन । जुन वंशका अगुवालाई जति थाहा हुन्छ वा उसले आफ्नो दरपुस्ताबाट सुन्दै र संरक्षित गरिएका कागजातका र जानकारीका आधारमा पुस्ता सङ्ख्या गणना हुन्छ ।

हालसम्ममा याक्थुङ लिम्बूका करिब साढे ३ सय थरमध्ये ८० थरको वंशावली प्रकाशित भएका छन् । ती साढे ३ सय थरहरू २९ भन्दा बढी वंशबाट विस्तार भएको पाइन्छ । उदाहरणका लागि याक्थुङ लिम्बू भित्रको मेन्याङ्बो एउटा वंश हो भने प्राचीन पुर्खा थिन्दोलुङ खो?याहाङ । जो सातौं शताब्दीका आठ राजा र दश सरदारभित्रका समकालीन हुन् । तिनै थिन्दोलुङ खो?याहाङका सन्तानहरू फैलिएर यतिबेला ६ थरीमा विस्तार भएका छन् । ती छ थरहरूमा मेन्याङ्बो, खिम्दिङ, आङबोहाङ (आङ्भाङ), उसुक, खोयाहाङ र फाक्लेछुवा हुन् ।

कुनै पनि लिम्बूको वंशको प्राचीन पुर्खा एउटै हो भनेर चिनिने माध्यम भनेको उसको माङ्गेना यक र मिङ्श्रा हो । त्यसैले अहिले विभिन्न थरमा विस्तार भएर आफ्नो बेग्लै पहिचान बनाइसके पनि मेन्याङ्बो, खिम्दिङ, आङबोहाङ (आङ्भाङ), उसुक, खोयाहाङ र फाक्लेछुवाको माङ्गेना यक (प्राचीन पुर्खाले रस्ती–बस्ती सुरु गरेको) चेङ्थापु हो र मिङ्श्रा (वंश समूह विस्तार गर्नेको नाम) थिन्दोलुङ खो?याहाङ हो । यो माङ्गेना यक र मिङ्श्रा याक्थुङ लिम्बूले आफ्नो मुन्धुमी परम्परामा आधारित सांस्कृतिक अनुष्ठानहरू जस्तै माङ्गेना, नाहाङ्मा, साम्सामा, तङ्सिङ आदि साम्बा, येवा÷येमा, फेदाङ्मामार्फत् गर्दा श्रुतिपरम्परा शैलीमा उच्चारण गर्दै फलाक्ने गरिन्छ ।

माङ्गेना यक र मिङ्श्रा एउटै भएको वंशबीच विवाह हुँदैन । एकाघरको दाजुभाइ नभए पनि एउटै कुल (खान्दान) को रुपमा लिने गरिन्छ । सोही अनुसार पिँढीदर पिँढी साइनो सम्बन्धहरू तय हुने गर्छन् । यसैले कहिल्यै नभेटेको, नदेखेको व्यक्ति भएपनि माङ्गेना यक र मिङश्रा मिलेपछि वंश पिँढीको आधारमा बाजे, काका, दाजु, भाइ, फुपू, बोजू, भजित, भतिजी, नाति, नातिनी आदिको साइनो लगाउने गरिन्छ ।

आफ्ना पुर्खाको खोजी गर्दै र ती पुर्खाबाट विस्तार भएका सन्तानको पहिचान गर्न वंशावली निकाल्ने होडबाजीका बीच कतिपय वंशले ४० देखि ६० पिँढी पुगेको वंशावली पनि निकालेका छन् । कतिपयले त्यो पिँढीलाई याक्थुङ मुन्धुमी पात्रहरूसँग पनि जोडेका छन् । कतिपयले त चिनियाँ, तिब्बतका प्राचीन पात्रसँग पनि जोडेका छन् । कसैले यलम्बरसँग त कसैले विजयपुरको पहिलो संस्थापक राजा विजयनारायणसँग पनि जोड्ने गरेका छन् । कतिसम्म भने केहीले युमा माङ (मुन्धुमी स्त्री पात्र) सँग पनि जोडेका छन् । कसरी र किन ती पात्रहरू आफ्नो वंशको पुर्खा भए भनेर कुनै वैज्ञानिक कारण नदिई किन जोडेका हुन् ?, वंशावली बनाउने र प्रकाशित गर्नेहरुले नै जानून् ।

वंशावली पुस्तक मोटो बनाउनका लागि मात्र जबरजस्ती कथित नाम थपेर पुस्ता लामो बनाउँदैमा त्यो वंश ऐतिहासिक थियो र छ भन्ने आधारलाई पनि कसैले पत्याइहाल्दैन । लिम्बुवानमा लिखित दस्तावेजको इतिहास लामो छैन । बढीमा तीन सय वर्ष यताका मात्र लिखित दस्तावेज पाइएका छन् । अलिखित र श्रुति परम्पराका आधारमा आफ्ना पुर्खाको नाम र इतिहास कण्ठाग्र गर्दै ल्याउँदा पनि मुस्किलले ३० देखि ४० पुस्ताको याद गर्न भने सकिन्छ । तर हजारौं वर्ष अघिको मुन्धुमी पात्रसँग जोड्न पुग्दा भने त्यो वंशावली अध्ययन गर्न योग्य होलाजस्तो लाग्दैन । किनकि मुन्धुमी पात्रहरू कुनै याक्थुङ लिम्बूको एउटा वंशको मात्र होइन सबै याक्थुङ लिम्बूको साझा र ऐतिहासिक गाथा भित्रको पात्र हो ।

विश्वको सबैभन्दा लामो वंशावली चिनका दार्शनिक कन्फुसियसको हो । आजभन्दा २५ सय वर्ष अघिको लुम्बिनीका सिद्धार्थ गौतम बुद्धको समकालीन चिनियाँ कन्फुसियसको वंश पुस्ता अहिले ८१ औं पुस्तामा चलिरहेको छ । कन्फुसियसदेखि सुरु भएको वंशको कुल सन्तान (जनसङ्ख्या) यतिबेला करिब २५ लाख पुगेको छ । अब यो हिसाबसँग तुलना गर्ने हो भने अहिले याक्थुङ लिम्बूको कुनै एक वंशले आफ्नो पुस्ता ६० पिँढीमा पुगेको दाबी गरिरहेको बेला एक पुस्ताको २५–३० वर्ष राखेर हेर्दा त्यो वंशले करिव १५ सय वर्ष यतादेखिको पुस्ता जोडेको देखिन्छ । आफूहरूको वंश पिँढी ६० पुस्ता पुगेको दाबी गर्नेहरूको जनसङ्ख्या पनि कम्तिमा १५ लाख पुग्नु पर्ने हो । जब कि नेपालमा त के संसार भरीका याक्थुङ लिम्बूको सबै जनसङ्ख्या जोड्दा पनि १५ लाख पुग्दैन ।

हालसम्म नेपालमा प्रकाशित लिम्बूहरूले आफ्नो वंशावलीमा उल्लेख गरेका पिँढीहरूमा १५ पुस्ता देखि ६० पुस्तासम्म छन् । अधिकांशका पिँढी ३० पुस्ताभन्दा माथिका छन् । प्रत्येक वंशले दाबी गरेअनुसार पिँढीको हिसाब गर्ने हो भने याक्थुङ लिम्बूको कुल जनसङ्ख्या यतिबेला एक करोड भन्दा बढी पुग्नु पर्ने होइन ?

साङधुङगेहाङ सेरेङ लिङथेप वंशावली

वंशावली निकाल्ने होडबाजीका बीच हालै लिङ्थेप वंशले ४२५ पृष्ठको रङ्गिन कलेवरमा ‘साङधुङगेहाङ सेरेङ लिङथेप वंशावली’ प्रकाशन गरेका छन् । आफ्नै वंशबीच केही विवाद रहँदै प्रकाशित वंशावलीको लेखन र सम्पादन उत्तमकुमार लिङ्थेपले गरेका छन् ।

लिङ्थेप कल्याणकारी समिति, मादी नगरपालिका–४ सङ्खुवासभाले प्रकाशित गरेको उक्त वंशावलीको सह–सम्पादकको रुपमा सुरेन्द्र लिङ्थेप रहेका छन् ।

लामो समय शिक्षण पेशामा रहेका इतिहासका खोजकर्ता अध्येता उत्तमकुमार विशेष गरी लिम्बू समुदायको इतिहास व्याख्यामा दक्खल राख्छन् । इतिहासलाई उडन्ते बनाउनु हुँदैन भन्ने मान्यता राख्ने उत्तमकुमार लिङ्थेपको लेखन र सम्पादन रहेको उक्त वंशावली अन्य वंशावलीभन्दा भिन्न शैलीमा प्रकाशित भएको छ ।

प्रकाशित वंशावलीअनुसार लिङ्थेपहरूका पुर्खा साङधुङ्गेहाङ हुन् । उनीपछिका पुर्खा केरेङहाङ (सिसिगेन सेरेङ) सातौं शताब्दीका आठ राजा (हाङ) र दश सरदार (हाङ)का समकालीन मानिन्छन् । उनै सिसिगेनका सन्तानका रुपमा अहिलेका लिङ्थेपहरूले आफूलाई चिनाउने गरेका छन् । सातौं शताब्दीमा आठ राजा र दश सरदारको युद्धबारे विभिन्न इतिहासकारले पुस्तकमा लेखिसकेका छन् । अर्थात् लिङ्थेप वंशले आफ्नो वंश विस्तार भएको समय सातौ शताब्दी मानेका छन् ।

लिङ्थेप वंशका नजिकका नातेदार वंश समूहहरूमा साम्याङ्खाम, लङ्वा, चोङबाङ, थुयुमा, पेक्सोमा, मुदेम्मा, सिङ्धावा, मादेन, हाङ्गाम, नाल्बो, केदेम र तुम्बाहाङ्फे गरी १३ उपथरी रहेको उक्त वंशावलीमा उल्लेख छ । अर्थात् उल्लिखित वंशहरू पनि सिसिगेन सेरेङबाट नै विस्तार भएका सन्तान हुन् भन्न खोजिएको छ । उनीहरूको माङ्गेना यक मासेरेङ (ताप्लेजुङको मेरिङेदन) हो भने मिङ्श्रा सिसिगेन सेरेङ । वंशावलीमा ५३ पिँढी पुगेको उल्लेख गरिएको छ ।

कतिपय लेखक इतिहासकारले सङ्खुवासभाका लिङ्थेपहरूलाई याक्खा, देवान भएको बताएर झन् भ्रमित पारेकोमा उक्त भ्रम चिर्न वंशावली प्रकाशन गरेको सम्पादक उत्तमकुमार लिङ्थेप बताउँछन् । अझै पनि कतिपय लिङ्थेपको नागरिकतामा याक्खा लेखिएको पाइन्छ । तर याक्खा वा देवान लेखिनुका पछाडि अज्ञानता भएको उनको कथन छ ।

लिङथेप वंशावलीमा भनिएको छ, ‘दश लिम्बुवान सत्र थुम मध्ये खपन÷पाँच खपन र मैवाखोला समेतको सुभाङ्गी प्राप्त लिङथेपहरू चैनपुर क्षेत्रकासशक्त सुभाहरू थिए । उस बखत् सेनराज्य कालमा प्राप्त अधिकारलाई गोरखा राज्यसत्ताबाट अनुमोदन गराइनु अति आवश्यक हुन्थ्यो । विसं. १८३१, १८३९, १८४८ आदिका विद्रोहले विस्थापित लिङ्थेप वंशले वि.सं १८५२ को आममाफीबाट केही राहत महसुस गर्यो । लिङ्थेपका पुर्खा यूंस्योहाङका नाउँमा जारी सो आममाफीको रुक्का (विज्ञापन–पत्र) मा आफ्ना थातथलामा आउन भनिएको छ ।

लिङथेप वंशावली पुस्तकमा लिङथेपको गाथा र इतिहासमात्र नभएर याक्थुङ लिम्बूको इतिहास नै समेटिएको छ । लिङ्थेप वंशले सेन, शाह र राणाकालमा पाएका लालमोहर, स्याहामोहर, कस्य रुक्का, तिर्जा, अंशवण्डा–पत्र, तमसुकहरू, मुद्दामामिलाका कागजहरू इजहार, सनद–पत्रहरू पनि समावेश गरिएको छ । सम्पादक उत्तमकुमारका अनुसार ती पुराना कागजपत्र हालसम्म सार्वजनिक भएका थिएनन् ।

वंशावलीलाई थप ओजदार बनाउन सम्पादक लिङथेपले ब्रह्माण्डको सृष्टि, मानव उत्पत्ति र विकासको खण्डमा वैज्ञानिक सिद्धान्तसँगै मुन्धुमी सिद्धान्तलाई पनि स्थान दिएका छन् । गण, गोत्र र जातिको विकासको व्याख्या गर्दै वंश विभाजनको पनि उल्लेख गरेका छन् । किरात वृतान्त खण्डमा उनले धार्मिक ग्रन्थमा किरात, इतिहासमा किरात, मुन्धुममा किरात, प्रचलित साहित्यमा किरात, नेपालमा किरात, किरातको भाषा, धर्म, संस्कृति र लिम्बू समुदायमा किरातबारे बहसको व्याख्या गर्दै याक्थुङ लिम्बू किरातभित्र नपर्ने तर्क अघि सारेका छन् ।

लिम्बू जातिको धर्म, मुन्धुम, संस्कृति तथा सामाजिक परम्परा खण्डमा लिम्बूको धर्म प्रकृतिपूजक भएको उल्लेख गरिएको छ । सामाजिक संस्कारमा मेखिम (विवाह) साप्पोक चोमेन( गर्भोत्सव), याङ्दाङ फोमा (कोक्रो उठाउनी), सिवा थिम (मृत्यु संस्कार) मेल्लुङ फुमा (सायमुन्द्री वाग्दात) माङ्दे साक्मुरा खेङ्गा वादेम्मा (गाली सराप बगाउने संस्कार) नाहेन साक्मा (आँखी डाही छेक्ने) देखि भाषा, नृत्य, गायन खानपान, भेषभूषाबारेमा पनि वंशावलीमा अटाइएका छन् ।

लिम्बू जातिः उत्पति र विस्तार खण्डमा याक्थुङ लाजे र याक्थुङ्वा, लिम्बू र लिम्बूवान, आठ आपुङ्गी राजा र दश सरदारहरूको युद्ध, खाम्बोङ्वा लुङ्बोङ्वा वंश, ताङ्साङ्था वंश, यक्के नावा वंश, ताइ वा श्यान वंश, सौमर कासिथाङ्वा वंश, इमेहाङ वंश, भाइफुट्टा वा भुइँफुट्टा वंशको बारेमा पनि व्यापक अध्ययन गरेर पुस्तकमा अटाएका छन् । वंशावलीमा लिम्बू जातिको वंश र वंश समूह पनि छुट्याएर अध्ययन गर्न चाहनेलाई सहज बनाइदिएका छन् । जसमा मिङ्श्रा,, माङ्गेना यक र थातथलोको आधारमा स्थापित लिम्बूहरूका बारेमा विस्तृत वर्णन गरिएको छ ।

यसबाहेक चैनपुरको लिम्बू–गोरखा युद्ध र युद्धको परिणाम वि.सं १८४८ सालको लिम्बु–लेप्चा विद्रोह, फागु राई (राय–लिम्बू) सँग सम्बन्ध, आपसी द्वन्द्व र मुद्दा, पाँचखपन र दशमझियामा जिमिदारी तथा अमाल प्रथा, किपट, सुभाङ्गी प्राप्त गर्ने तत्कालीन तरिकादेखि वर्तमान समयका लिङ्थेपसम्मका इतिहासलाई लिपीबद्ध गरिएकाले लिङ्थेप वंशावली सबैका लागि पठनीय बनेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा