पतिपत्नीको झगडा परालको आगो नबन्दाको परिणाम : न सम्बन्ध, न विच्छेद   | Khabarhub Khabarhub

पतिपत्नीको झगडा परालको आगो नबन्दाको परिणाम : न सम्बन्ध, न विच्छेद  



केही दिन अगाडी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) र उनकी श्रीमती सोनी सिन्धु रानी सम्बन्धविच्छेद नगरी विवाह कायम नै राखेर अलग बस्नेगरी मिलापत्र गरे । 

प्रतिनिधि सभाका सांसद समेत रहेका राउतले पत्नी रानीसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी गत भदौमा निवेदन दिएका थिए । तर श्रीमतीले नमानेपछि सम्बन्धविच्छेद मुद्दा मिलापत्रमा टुंगिएको छ ।  

मिलापत्रमा पत्नीलाई मासिक ३३ हजार रुपैयाँ दिनुपर्ने उल्लेख छ । महँगीको आधारमा यो रकम बर्सेनी १० प्रतिशतका दरले बढ्ने छ । यस्तै, राउतले पत्नीलाई अंशबापत काठमाडौं उपत्यकामा दिएको जग्गामा घर बनाइदिनुपर्नेछ । राउतको भागमा पर्ने पैत्रिक सम्पत्तिलाई ५ भाग (छोराछोरीसहित) लगाएर एक हिस्सा पत्नीलाई दिने मिलापत्रमा उल्लेख छ । 

दुवैले सार्वजनिकरूपमा एकअर्काको आलोचना नगर्ने मिलापत्रमा उल्लेख गरिएको छ । मिलापत्रबमोजिम ३ सन्तानको जिम्मा सीकेले लिनेछन् । बच्चाको भागमा परेको सम्पत्ति पनि सीकेकै नाममा रहनेछ । सीकेले भविष्यमा आर्जन गर्ने सम्पत्तिमा पत्नीको हक नलाग्ने भएको छ । छोराछोरी भने हकवाला कायम रहनेछन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको इजलासले वैवाहिक नाता कायम रहने गरी बैशाख १० गते मिलापत्रमा मुद्दाको टुंगो लगाइदिएको थियो । अदालतले सम्बन्धविच्छेद नगरी अलग–अलग रहन अनुमति दिएको हो । ‘मधेश स्वराज’को नारा लगाएर उदाएका सीकेले पत्नीमाथि दुर्व्यवहार गरेको भन्दै उनको आलोचना भएको थियो । 

सम्बन्धविच्छेदको मुद्दा मिलापत्रमा टुंगिएलगत्तै राउतले सामाजिक सञ्जाल फेसबुकमा पत्नीसहितको तस्बिर राखेका थिए । त्यसअघि सिके र उनकी श्रीमतीबीचको सम्बन्धमा दरार आएको विषय सार्वजनिक भएको थियो । यसबारे सिके र उनकी श्रीमतीले पनि सञ्चारमाध्यमहरूमा एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै अन्तर्वार्ताहरू दिइरहेका थिए ।

गएको भदौमा सिकेले ललितपुर जिल्ला अदालतमा श्रीमती रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका थिए । श्रीमती घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्दामा उल्लेख गरेका छन् । उनले मुद्दामा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । 

साथै, प्राइमटाइम टेलिभिजनको अन्तर्वार्तामा उनले आफ्नी श्रीमती लामो समयदेखि मानसिक बिरामी भएको बताएका थिए । मानसिक बिरामी पत्नीको प्रयोग गरी आफ्नो राजनीति सक्ने खेलमा दुस्मनहरू लागिरहेको उनले आरोप लगाएका थिए । साथै, पत्नीको उपचारमा धेरै पैसा खर्च गर्दा पनि सञ्चो नभएको उल्लेख गरेका थिए । 

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर– २ बाट निर्वाचित सांसद हुन् । पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । 

त्यसैगरी पत्नी सोनीले राउतले एक दशकदेखि आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् । उनले सिकेलाई पटक–पटक परस्त्रीसँग रंगेहात फेला पारेको दाबी गर्दै आएकी छन् । अर्को विवाह गर्न आफूलाई पन्छाउन सिकेले अन्याय गरेको उनको भनाइ छ । 

सोनीको माइती भारतीय राज्य बिहारको पूर्णिया जिल्ला सिमरिया ग्राम पञ्चायत वडा नम्बर ३ हो । उनी उमेश सिंहकी छोरी हुन् । सामान्य लेखपढ गरेकी सोनीले लामो समयदेखि घरेलु हिंसामा परेको बताउँदै आएकी थिइन् । राउत दम्पतीका दुई सन्तानमध्ये जेठो छोरा १३ वर्ष र कान्छी छोरी ८ वर्षका छन् ।

एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै गर्दा उनीहरू यति बेला विवाहलाई कायम राख्दै अंश लिएर अलग भएका छन् । पतिपत्नी सँगै पनि नबस्ने तर सम्बन्धविच्छेद नहुने अवस्था भनेको के हो ? 

सम्बन्धविच्छेद नभएपछि दोस्रो विकल्प : अधिवक्ता

सम्बन्धविच्छेद नभएपछिको दोस्रो विकल्पका रूपमा अंश लिएर अलग हुन सकिने अधिवक्ता विकास गिरी बताउँछन् । खबरहबसँग उनले भने, ‘कानुनतः महिला र पुरुष दुवैले डिभोर्सको लागि मुद्दा हाल्न पाउँछन् । तर पुरुषले मुद्दा हाल्नेवित्तिकै डिभोर्स हुन कठिन छ । यदि पत्नीले चाहिनन् भने वा मानिनन् भने अदालतले डिभोर्स दिँदैन । त्यस्तो अवस्थामा अंश लिएर अलग हुने अर्को मुद्दा हाल्न पाइन्छ ।’

‘कानुनले व्यवस्था गरेको अवस्था नआई सम्बन्धविच्छेद हुँदैन । मुलुकी देवानी संहिता अनुसार पति र पत्नी मिलेर सम्बन्धविच्छेदको लागि आए हो । नत्र एक जनाले मात्रै चाहेर हुँदैन । सम्बन्धविच्छेद रहरले गर्ने वा देखासिकीले गर्ने विषय होइन’ गिरी थप्छन्, ‘दफा ९८ ले मेलमिलाप गराउने भनेको छ । अदालतले सम्झाइ बुझाइ गर्नै पर्छ । त्यसपछि पनि भएन भने एक वर्षसम्म समय राखिन्छ । त्यसलाई ‘कुलिङ पिरियड’ भनिन्छ । धैर्य भएर सोच्नको लागि राखिएको समय हो । ’

अंश लिनु भनेको पत्नीको अधिकारविहिन हुने भन्ने होइन । तर अंश लिएपछि वा दिएपछि अर्को बिहे गर्ने बाटो खुल्ने गिरीको भनाइ छ । ‘पतिले मुद्दा हालेर सम्बन्धविच्छेद नहुने भएपछि अंश लिएर छुट्टिएर अलग बस्ने व्यवस्था छ । सम्बन्धविच्छेद नभएपछि अंशवण्डा गरिपाउँ भनेर अर्को मुद्दा हाल्छन् । अंशवण्डा हार्ने मुद्दा हुँदैन । खास यो चोरी बाटो हो’ उनले भने ।  

डिभोर्स नभएको अवस्थामा पछिल्लो समय पुरुषहरूले अंश दिएर अलग हुने अपनाएको अधिवक्ता गिरीको अनुभव छ । भन्छन्, ‘मुलुकी अपराध संहिता दफा १७५ को उपदफा ३ मा  यदि पत्नीलाई अंश दिइसकेको छ भने पतिले अर्को बिहे गर्न पाउने बाटो खोल्दिएको छ । त्यसलाई बहुविवाह मानिँदैन । कुनै पनि महिलाले सम्बन्धविच्छेद नगरी पतिसँग अंश र मानाचामल मागेर बस्न पाउँछिन् । देवानी संहिताले पहिलो पत्नीसँग सम्बन्धविच्छेद नगरी विवाह गर्नै नपाउने, गरेपनि त्यसले मान्यता नपाउने हो ।’ 

तर यदि बच्चा भइसकेको छ भने वैवाहिक सम्बन्ध भएको मानिने तर श्रीमतीको हैसियत (मानाचामल र अंश) नपाउने व्यवस्था भएको उनले बताए । विवाह दर्ता पनि हुँदैन । जन्मिएको बच्चाले पितृत्वको आधारले अंश पाउने भयो । मिलापत्र वा फैसलाको आधारमा अर्को विवाह दर्ता हुन्छ । देवानी संहिताले सम्बन्धविच्छेद नगरी अर्को बिहे गर्न नपाइने भनेको छ । तर फौजदारी संहिताले अंश लिएको छ भने बहुविवाह हुँदैन, गिरीले भने । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : ३५ बजे

बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

काठमाडौं– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट

उपचारमा लापरबाही मुद्दामा ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला

काठमाडौं– ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही

जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालले नेपाली

इरानपछि लेबनानमा इजरायलको हवाई आक्रमण

तेलअभिभ- इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ ।