फैलँदो तिज र महिला सशक्तीकरण « Khabarhub

फैलँदो तिज र महिला सशक्तीकरण



तिज आयो, तिज आयो । सबैतिर हर्षोल्लास छायो । अचेल साउन लागेदेखि नै तिजको चर्चा सुनिन्छ । बालकदेखि वृद्ध, धनीदेखि गरिब सबैका घरमा तिज छपक्कै छाउँछ । परम्पराअनुसार चेलीलाई माइत बोलाउने गरिन्थ्यो ।

तर अहिले माइती, मावली, साथीभाइ, छरछिमेक, इस्टमित्र सबैलाई समेट्ने चलन छ । यसरी नै यो वर्ष पनि धार्मिक–साँस्कृतिक परम्पराअनुसार तिज मनाइयो ।

तर तिज तडकभडकपूर्ण भएको टिकाटिप्पणी र चर्चा सञ्चारमाध्यममा छ्याप्छ्याप्ती छन् । यी समाचारले हामीलाई तिजका राम्रा–नराम्रा पक्ष बुझ्न मद्दत गर्छन् । जातधर्म वा रहनसहन जे भए पनि अहिले हामी एउटै थलोमा भेला भई रमाइलो गर्ने, सुखदुःख बाँड्ने गर्छौं । यसले आपसी सामिप्यता र जातीय एकता बलियो बनाएको छ । संस्कृतिको जगेर्ना गर्दै महिलाको सशक्तीकरणको उदाहरण बनेको छ । महिलामा गर्व, अस्तित्वबोध र आत्मविश्वास बढेको छ ।

परम्पराअनुसार विवाह भइसकेकी चेली एक दिन भए पनि दर खान माइत जाने चलन अझै छ । माइतमा दर खाँदै आमा, साथीहरूसँग बिताएका पल सम्झने अवसर पाइन्छ । यसलाई महिलाले आफ्ना भाव प्रकट गर्ने थलोका रूपमा लिन्छन् । पहिले बुवा–दाजु लिन आउनु पर्थ्यो, अहिले त्यो प्रचलन घट्दै गएको छ । पुरुषप्रधान समाजमा महिलाका इच्छा गौण भए पनि अहिले अवस्था धेरै बद्लिएको छ ।

हाल महिलाहरू शिक्षित, स्वरोजगार र आर्थिक रूपमा सक्षम हुँदै गएका छन् । उनीहरू अधिकारबारे सचेत भई आफैं निर्णय लिने, आफैं तिज कार्यक्रम आयोजना गर्ने स्तरमा पुगेका छन् । यो आर्थिक स्वतन्त्रताको उपलब्धि हो । यसले खुला समाजलाई अझ सकारात्मक बनाएको छ ।

अब तिज माइतमा मात्र सीमित छैन । छरछिमेकी, सहकर्मी, वृद्धाश्रमका आमा–दिदीहरूसँग, डिजिटल माध्यम र प्रवाससम्म मनाउन थालिएको छ । यसले धर्म–संस्कृतिको प्रचार मात्र होइन, विश्वभर छरिएका नेपालीबीचको सम्बन्ध जोडेको छ । जागिरे वा व्यवसायी महिलाहरू सक्षम हुँदै गएका छन्, ‘अबला’ भन्ने दृष्टिकोण घट्दै गएको छ ।

महिलाहरू समूह गठन, क्लब–सहकारीमा आवद्ध हुँदै संगठनमार्फत अवसर पाएका छन् । यसले तिजको महत्व अझ बढाएको छ । महिलाले पति–सन्तानको सुखका लागि व्रत बस्ने भएकाले तिजको विशेष धार्मिक मूल्य छ । यसका साथै खुलेर नाचगान, रमाइलो गर्ने मौका भएकाले यसलाई महिला भावना अभिव्यक्तिको पर्व मानिन्छ । यसबाट बजार–पसलदेखि यातायातसम्म चलायमान भई आर्थिक गतिविधि बढेको देखिन्छ ।

तिजले परिवारलाई बाँध्ने, पुराना–नयाँ साथीलाई नजिक ल्याउने, वृद्धाश्रमका आमालाई एक दिन भए पनि घरजस्तै अनुभूति दिने गरेको छ । यसले छिमेक र समाजमा सम्बन्ध मजबुत बनाएको छ । विगतमा छोरी हेप्ने मानसिकतालाई चुनौती दिएको छ ।

अतः तिज महिलाको यौवन, भावना र मेलमिलापको पर्व हो । यसले सशक्तीकरणलाई बलियो बनाउँदै मौलिक परम्परा जोगाउँदै नयाँ रुप लिएको छ ।

लेखक शिक्षिका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : ०७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै