काठमाडौं – वरिष्ठ कलाकार हरिवंशको निर्वाह गरेको आइकोनिक क्यारेक्टर हो– हरिबहादुर ।
हरिवंशको पर्याय बनेको छ, हरिबहादुर । ठ्याक्कै तुलोमा हालेर जोख्न नमिले पनि हरिवंशले निर्वाह गरेको सबैभन्दा चर्चित पात्र नै हरिबहादुर हो भनेर दाबी गर्दा फरक नपर्ला !
कारण– अहिले युवा कमेडियनले पनि यही पात्रको क्यारिकेचर गर्छन् ।
जेनजी पुस्ताले रुचाउने मिमको खुराक पनि ‘हरिबहादुर’ले वर्चस्व जमाएको भेटिन्छ ।
प्रिय छैन त हरिबहादुर ?
फेरि यो ज्ञानी, इमानदार, बलियो, सुगठित शरीर, वैचारिक कोण र समाजसेवी भएर दर्शकको प्रिय भएको होइन ।
हरिबहादुर ‘फटाहा’ चरित्रले दर्शकको प्रिय भएको हो ।

जहिल्यै एक रङे टोपी लगाउने, युवावस्था पार गरे जस्तो शारीरिक बनावट भएको, नाकको डाँडीमा बूढो कोठी भएको, दाहिनेतर्फ मुख चुच्चो बनाएर तिखो आवाजमा बोल्ने त्यो हरिबहादुर कति वर्षको भयो होला ?
जन्मका हिसाबले ‘हरिबहादुर’ जेन–जी नै हो ।
तर, यसका जन्मदाता हरिवंशले युवावस्था पार गरिसकेको शारीरिक वनावटमा जन्माएर के गर्नु ?
हरिबहादुरको जन्म
करिब दुई दशक अगाडि ‘मह जोडी’ अर्थात् हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ माइतीघरस्थित आफ्नै कार्यालय ‘मह सञ्चार’मा थिए ।
यसरी कार्यालयमा बस्नु उनीहरुको दैनिकी सामान्य थियो ।
एक सिलवाल थरका व्यक्ति काम खोज्दै आए । हरिवंशलाई भने, ‘म काम खोज्दै आएको सर । काम छ भने दिनुहोस् ।’
‘मह सञ्चार’लाई कर्मचारीको आवश्यकता थिएन ।
तर, ती सिलवालको हाउभाउ हरिवंशलाई रमाइलो लाग्यो ।
हरिवंशले मदनकृष्णलाई भने, ‘मान्छे रमाइलो लाग्यो । हामी कामले बाहिर हुँदा अफिस पनि खुला हुने, यो मान्छेलाई राखौं ।’
मदनकृष्णले ‘हुन्छ’ भनेपछि सिलवालले ‘मह सञ्चार’ कार्यालयको कर्मचारी बने ।
काम खोज्दै आएका सिलवाल हरिवंशलाई किन रमाइलो लाग्यो त ?
हरिवंश भन्छन्, ‘हरिबहादुर पात्र सिलवालबाट प्रभावित हो । हरिबहादुरको बोल्ने शैली र बोल्दा दाहिनेतिर मुख चुच्चो बनाउँछ नि त्यो पूरा सिलवालबाट प्रभावित हो ।’
‘पाठशाला सिरियल’मा हरिवंशले बोलेको भाइरल संवाद ‘ह्वाट इज योर फादर पुट इज योर नेम ?’ छ यो पनि सिलवालबाटै उत्पति भएको हो ।
हरिवंश भन्छन्– कार्यक्रम जाँदा धादिङमा गाडी रोकेर खाजा खान लागियो । सिलवाल पनि गएका थिए । त्यहाँ उनले एक बच्चालाई सोधे–ह्वाट इज योर फादर पुट इज योर नेम ? अनि यो के भनेको भन्दा उनले जवाफ फर्काए– तिम्रो बुवाले तिम्रो नाम के राखिदिए भनेर अंग्रेजीमा सोधेको ।
अर्थात्, सिलवाल पनि हरिवंशको जस्तै ‘दख्खल नभएको विषयमा जान्ने बन्ने’ स्वभाव थियो । तर, हरिवंश भन्छन्, ‘हरिबहादुर जस्तो फटाहा चाहिँ थिएनन् । उनी एकदमै इमानदार थिए ।’
‘मह सञ्चार’ सिलवाल भित्रिनु ‘हरिबहादुर’ गर्भमा बस्नु हो ।
पछि हरिवंशले सिरियल ‘हरिबहादुर मदनबहादुर’बाट ‘हरिबहादुर’को जन्म गराए । त्यो हिसाबले ‘हरिबहादुर’ जेन्जी हो ।
हरिवंशले सिरियल तयार भएपछि एक दिन सिलवाललाई सोधेका थिए, ‘हे¥यौं त सिरियल ।’
सिलवालले जवाफ फर्काए, ‘हरे, मै जस्तो रहेछ ।’
एक सिलवालले ‘हरिबहादुर पात्र मबाट प्रभावित रहेछ रोयल्टी चाहियो’ भनेर दाबी गरेको समेत हरिवंश बताउँछन् ।
खैर, हरिबहादुरको जन्म जे जस्तो र जसरी भए पनि यो दर्शकको प्रिय छ । त्यसैले त अहिले ऊ फिल्मको हिरो बन्न पाएको छ ।
फूलपातीबाट ‘हरिबहादुर’ हिरो बन्दैछ । फिल्मको शीर्षक मै उनको जुत्ताबाट हाइलाइट गरेर राखिएको छ, ‘हरिबहादुरको जुत्ता’ ।
फिल्ममा डेब्यू गराउने निर्देशक

‘हरिबहादुर’ सानो पर्दाको पात्र हो । अब यसले ठूलो पर्दाको उडान भरेको छ ।
यो उडानमा लेखक अर्थात् विमान निर्माताको जिम्मेवारी हरिवंश नै छन् । निर्देशक अथवा पाइलटको भूमिकामा दीपेन्द्र के खनाल छन् ।
दीपेन्द्र आफैँ पनि हरिवंश र मदनकृष्णलाई टीभीमा हेर्दै हुर्किएका हुन् ।
उनले पर्दाका महजोडीसँगको एक किस्सा सेयर पनि गरे ।
उनले सुनाए– विद्यार्थीकालमा टाइफाइड भएर १८ दिन ओछ्यान परेको थिएँ । बुवाले बिरामी छोरालाई निको हुन सहयोग हुन्छ भनेर एउटा सिरियलको सीडी किनेर ल्याउनु भएको थियो । त्यो सीडी मह जोडीको सिरिलय ‘१५ गते’को थियो ।
उनै दीपेन्द्रले हरिवंशको आइकोनिक पात्र ‘हरिबहादुर’लाई ठूलो पर्दामा डेब्यू गराउन पाए ।
यसलाई उनी अवसरकै रुपमा लिन्छन् । भन्छन्, ‘हरि दाइ (हरिवंश)ले निर्वाह गरेको धेरै क्यारेक्टर दर्शकमाझ प्रिय छन् । त्यसैले पनि उहाँसँग काम गर्ने लोभ त थियो नै । झन् आइकोनिक क्यारेक्टरको बारेमा बनेको फिल्म निर्देशन गर्ने मौका पाएँ । त्यो मेरो लागि ठूलो खुसीको क्षण हो ।’
खुसी पनि किन नहुने ? उनी भन्छन्, ‘विद्यार्थीकालमा हाम्रो पुस्तालाई मनोरञ्जन दिने पात्र हो– हरिबहादुर । हाम्रो एक कालसँग यो पात्रको गज्जबको स्मृति छ ।’
तर, यो भावनाको कुरा भयो । अहिले समय फेरिएको छ । दीपेन्द्र विद्यार्थीबाट निर्देशक बनिसके । त्यो पनि हरिवंशले सम्झिने ।
सँगै दीपेन्द्रको कामलाई नजिकबाट पछ्याउने दर्शकहरुले विश्वास राख्छन्, ‘कन्टेन्टले नतानेसम्म उनले फिल्म निर्देशनमा हात हाल्दैनन् ।’
‘यो फिल्ममा दीपेन्द्रलाई के ले तान्यो ?’ भन्ने प्रश्नमा दीपेन्द्र दुई कारण देखाउँछन् ।
पहिलो–हरिबहादुर क्यारेक्टर र दोस्रो– हरिवंशको लेखन ।
उनी थप्छन्, ‘हरि दाइले एक फिल्म छ कुरा गर्नु पर्यो भन्दा मलाई कस्तो होला भन्ने कौतुहलता निकै थियो । उहाँले हरिबहादुर क्यारेक्टरमा फिल्म बनाउन लागेको भन्दा, मैले ल गज्जब भयो भनेको थिएँ । बच्चादेखि बूढाले मन पराएको पात्रमा फिल्म बन्ने हुँदा निर्देशन नगर्ने भन्ने कुरै भएन ।’
निर्देशनका लागि दीपेन्द्रलाई कन्फिडेन्ट दिने पाटो ‘हरिवंशको लेखन’ हो ।
उनी भन्छन्, ‘हरि दाइको लेखनमा शंका गर्नुपर्ने कारण नै छैन । हँसाउँदा–हँसाउँदै दर्शकलाई रुवाउने र सन्देश दिने क्षमता उहाँसँग छ । यो फिल्मको स्क्रिप्ट पढ्दा नि त्यो पाएँ । मैले निर्देशकका रुपमा केही थपघट गर्ने प्रस्ताव राखेको थिएँ । त्यो पनि सम्बोधन भयो ।’
यो फिल्म निर्देशन गर्न पाउँदा दीपेन्द्र खुसी मात्रै छैनन् कन्फिडेन्टमा पनि छन् ।
फिल्मको कन्टेन्टप्रति उनको विश्वास छ, ‘जसरी परिवार नै कुरेर हरिबहादुरलाई टीभीमा हेर्नुहुन्थ्यो । त्यो पूरानो माहोल स्मरण गराउने दृश्य यो दशैँभर हलमा देख्न पाइन्छ । पारिवारिक फिल्म हो । परिवार नै आएर हेर्नुहुन्छ ।’
प्रतिक्रिया