काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको लागि झण्डै अन्तिम सहमति भएको विषय एकाएक बाहिरियो । साथै, पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्त र पदाधिकारीको स्वरूपमा समेत सहमति भएको कुरा सञ्चार माध्यममा प्रकाशन भए ।
तर, सो बाहिरिएसँगै माओवादी र एकीकृत समाजवादी दुबै पार्टीको तर्फबाट सामाजिक सञ्जालबाट प्रतिवाद हुनु सुरु भयो । समाजवादीका सम्मानित नेता झलनाथ खनालले विज्ञप्ति नै निकालेर असहमति जनाए भने माओवादी भित्रबाट जनार्दन समूह लगायत धेरैले सामाजिक सञ्जालमार्फत खुलेरै विरोध गरे ।
चौतर्फी विरोधको आवाज र एकता प्रत्युत्पादक हुने देखेपछि माओवादीका अध्यक्ष प्रचण्ड तत्काललाई थप अगाडि बढ्न सकेनन् । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही दिन साँझ सचिवालयको तर्फबाट एकताको लागि छलफल भइरहेको भएपनि टुंगो नलागेको भन्दै धारणा सार्वजनिक गरे । मंगलबार प्रचण्डले आफ्नै तर्फबाट अपिल सार्वजनिक गर्दै सबै माओवादी घटक र बामपन्थीहरूसँग एकताको लागि अपिल गरेका छन् ।
कसरी आए प्रचण्ड एकताको अपिल गर्ने स्थितिमा ?
तत्कालीन सशस्त्र युद्ध (जनयुद्ध) गरेको मूल पार्टी विगतमा पटक–पटक विभाजन हुँदा नेतृत्वको भूमिकामा रहेर पनि प्रचण्डले असहज मानेको देखिँदैनथ्यो । उनले आफैँलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रममा भन्दा पनि तत्कालका लागि शक्ति सन्तुलन कायम गर्ने प्रयत्न गर्थे । तर, आफ्नो प्रयत्न असफल हुने देखेपछि विभाजनको विरुद्धमा लाग्दैनथे, छाडिदिन्थे ।
विगतमा मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ लगायतका नेतृत्वहरूले माओवादी विभाजन गरेर नयाँ पार्टी निर्माण गर्दा प्रचण्डले धेरै पीडावोध गरेको देखिँदैन । साथै, विगतमा प्रचण्ड र विभाजन गरेर जाने पक्षसँग पनि धेरै वादविवादमा उत्रिएको देखिँदैनथ्यो ।
तर, प्रचण्डले मंगलबार छोटो अपिल लेख्दै ‘राष्ट्रिय स्वाधिनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका बामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता’ भएको बताए ।
प्रचण्डले सो अपिल एकीकृत समाजवादीसँग एकता असफल भएपछि र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वले दल दर्ताको प्रक्रिया अगाडि बढाएपछि दिएका छन् ।
यतिबेला जेनजी आन्दोलनले ठूला दलको धरातल खलबलाइदिएको छ भने नेतृत्वको भूमिका र औचित्यमाथि प्रश्न उठाएको छ । अर्थात् माओवादीलाई पनि अन्य दल सरहकै कित्तामा राखेर नयाँ पुस्ताले अस्विकार गरेको छ ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायत वर्तमान व्यवस्थाका विशिष्ट विषय माओवादीले आफ्नो आन्दोलनको उपलब्धि हो भनेर निरन्तर दाबी गर्दै आएको छ । तर, जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनको विषयमा कांग्रेश–एमाले र माओवादीलाई एउटै कित्तामा राखेर प्रचार गरेका छन् । यद्यपी प्रचण्ड सहित माओवादीले भने त्यसको प्रतिवाद गर्ने कोसिस गरिरहेका छन् ।
जेन-जी विद्रोह पछिको सरकारले फागुन २१ मा चुनावको घोषणा गरेको छ, त्यसमा मुख्य दलमध्ये प्रचण्डले नै अघि सरेर समर्थन गरे । साथै, जेनजी विद्रोहको माग अनुसार उनले नै पार्टीको तर्फबाट सबैभन्दा पहिला मंसिरमा महाधिवेशनको घोषणा समेत गरे ।
यहिँनेर, महाधिवेशनबाट मुलुकमा जेनजी पुस्ताको मागअनुसार नेतृत्वको पुस्तान्तरण, व्यवस्थाको थप सुदृढीकरण गर्नेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्न वा चुनावमा विगतको साख जोगाउन प्रचण्डका लागि निकै चुनौतीको विषय बनेको देखिन्छ ।
विगतमा पार्टीभित्र अन्तरसंघर्ष र विभाजनको बेलामा प्रचण्डलाई साथ दिएको एउटा समूह नै सुशासनको तारोमा परेको स्पष्टै देखिएको छ । अर्थात् प्रचण्डपछि नेतृत्व हस्तान्तरण गर्न सकिने प्रभावशाली तथा लोकप्रिय पात्र माओवादीमा अभाव छ । त्यसमाथि लामो समयदेखि पार्टीमा नै विगतमा रहेकाहरू आउने जाने बाहेक संगठनात्मक विस्तार हुन सकेको देखिँदैन ।
जेनजी विद्रोहले धरातल हल्लाइदिनु, कांग्रेश–एमालेको तुलनात्मक रूपमा संगठन नभत्किनु र मुलुकले नयाँ नेतृत्व सहितको विकल्प खोज्नु नै प्रचण्डका लागि पार्टी एकता वा मोर्चा अहिले अनिवार्य आवश्यकता बन्न गएको देखिन्छ ।
त्यतिमात्रै होइन, जेनजी विद्रोहको क्रममा प्रचण्डको भाडाको आवास, चितवनको आफ्नै घर र छोरी गंगा दाहालको घर समेतमा आगजनी भयो । आगजनीसँगै उनको र छोरी गंगा दाहालको सम्पत्तिमाथि पनि राज्यले निगरानी गर्ने अवस्था सिर्जना भएको छ । अर्थात् उनको जीवनशैलीमाथि पनि सार्वजनिक रूपमा गम्भीर प्रश्न उठ्न पुगेको छ ।
महाधिवेशनको घोषणा गरेपनि पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिएको छ । चुनावमा अहिलेकै पार्टी संरचनामा जाँदा साख बचाउन समेत उनलाई गाह्रो हुने अवस्था पनि अघि आएको छ ।
सोही विकसित शक्ति सन्तुलनमा एकताको लागि छलफलमा नै रहेका शक्तिहरू टाढिने अवस्था बनेपछि प्रचण्ड अपिल गर्ने स्तरमा पुगेको जानकार बताउँछन् ।
विप्लवको पार्टीले भन्यो ‘अब एकता हुँदैन’
मंगलबार निर्वाचन आयोगको कार्यालयमा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले दल दर्ताको लागि निवेदन दिएको छ । लामो समयदेखि माओवादीसँग समाजवादी मोर्चामा रहेर काम गरेको र एकताको विषयमा संवाद गरिरहेको दलले छुट्टै दल दर्ता प्रक्रिया अघि बढाएपछि ती दुई दलबीचमा तत्काल एकता हुन नसक्ने सोझै अनुमान गर्न सकिन्छ ।
माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले विप्लव नेतृत्वको पार्टी पछिल्लो विकसित परिस्थितिपछि एकतालाई अस्वीकार गरेको बताए । खासगरी विकसित परिस्थितिलाई हेर्ने दृष्टिकोण र आगामी कदमको विषयमा नै मतभिन्नता रहन गएको भन्दै तत्काल एकता हुन नसक्ने जानकारी आएको गुरुङले खबरहबलाई बताए ।
‘उहाँले अहिले तत्काल एकता नगर्ने भनेर नै भन्नुभएको छ, एकता नगर्ने भनेर नै दल दर्ता गर्नुभएको छ, त्यसरी नै जानकारी गराउनुभएको छ’, उनले भने ।
साथै, उनले विप्लव नेतृत्वको पार्टी शुशिला कार्की नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार निर्माणको दिशामा अगाडि बढ्दै नयाँ संविधान लेख्ने पक्षमा देखिएको उनले बताए ।
‘जेनजी आन्दोलनको बारेमा पनि फरक फरक धारणा आयो, जेनजी आन्दोलन क्रान्ति हो, यसले आमुल परिवर्तन गर्यो, संसदीय व्यवस्था र संसदवादी पार्टीहरूलाई ध्वस्त गरेर आमुल परिवर्तनको भूमिका निर्वाह गर्यो, ती उपलब्धिलाई रक्षा गर्दै अगाडि बढ्न शुशिला कार्कीबाट हुँदैन हाम्रो नेतृत्वमा सरकार गठन गरेर अगाडि बढ्नुपर्छ र नयाँ संविधान बनाउनुपर्छ भन्ने लाइनमा उहाँहरू हुनुहुन्छ ।
तर, माओवादी भने अहिलेको विद्रोहले राष्ट्रियता र लोकतन्त्रलाई धरापमा पारेको भन्दै देशको अवस्थालाई गम्भीर संकटमा पुर्याएको भन्दै लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्ने धारणा अघि सारेको उनले बताए ।
विप्लवले पनि बुधबार मात्रै सामाजिक सञ्जालमा आफ्नो छोटो धारणा सार्वजनिक गर्दै माओवादीप्रति एकताको संकेत गरेका छैनन् । बरु उनले सबै कम्युनिष्ट, देशभक्त लगायतका शक्तिसँग सहकार्यको कुरा गरेका छन् ।
‘चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौं, नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी,कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधिनता ,नेपाली विशेषताको समाजवाद, जनताको विशेषतः युवाहरूको शिक्षा, रोजगारीका लागि निरन्तर लडने प्रतिबद्धता व्यक्त गर्दछौं’, उनले भनेका छन् ।













प्रतिक्रिया