सडक डिभिजन प्रमुखलाई प्रश्न– भन्सार नै ठप्प पार्ने इकोको पहिरो कसरी व्यवस्थापन हुँदैछ ? « Khabarhub

अन्तर्वार्ता

सडक डिभिजन प्रमुखलाई प्रश्न– भन्सार नै ठप्प पार्ने इकोको पहिरो कसरी व्यवस्थापन हुँदैछ ?



काठमाडौं- अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने कोदारी बजार नजिकै इकोको पहिरोले हरेक वर्ष सताउने गरेको छ । भोटेकोशी गाउँपालिका–२ मा पर्ने उक्त ठाउँमा गत साउनमा पहिरो खसेपछि २ महिनासम्म राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती व्यहोर्नु पर्‍यो । यात्रुमात्रै होइन, उक्त राजमार्ग हुँदै चीनतर्फ सामान आयात-निर्यात गर्ने व्यापारीलाई अझ फसाद पर्‍यो ।

चाडवाडको मुखमा लोड गरिसकेका लत्ताकपडा लामो समयसम्म स्टोरमै थन्किए । फलफूल स्टोरमै सड्दा व्यापारीले करोडौँको घाटा व्यहोर्नु पर्‍यो । भूकम्प पश्चात वर्षेनी बल्झिरहेको इकोको पहिरो र त्यहाँको भू–अवस्था सामान्य छैन । त्यसैमाथि पहिरोको सिरानमा बस्ती छ । सोसमयमा स्थानीयबाट बस्ती जोखिममा पर्ने भन्दै भित्तो काटेर सडक मर्मत गर्न नदिँदा समस्या थपियो ।

तर, सडक डिभिजन कार्यालय चरिकोटसहित नवनियुक्त मन्त्रीको टोली निरीक्षणका लागि त्यहाँ पुगेपछि भने सम्झौताका लागि स्थानीय तयार भए । सो सम्झौताअनुरुप कार्यान्वयनमा डिभिजनको तयारी के छ ? पहिरो व्यवस्थापनका लागि के कस्ता सावधानी अपनाइन्छ भन्ने प्रश्नसहित कार्यालय प्रमुख इन्जिनीयर नारायणदत्त भण्डारीसँग खबरहबले गरेको अन्तर्वार्ताको सम्पादित अश-

अरनिको राजमार्ग अन्तर्गतको कोदारी भोटेकोशी गाउँपालिका–२ कोदारी बजार नजिकै पर्ने इको भन्ने ठाउँमा विगत १० वर्षदेखि पटक–पटक पहिरो खस्ने गरेको छ । नागरिकलाई आवत जावतमा सास्ती मात्रै नभई दुई देशको व्यापारमा समेत गिरावट आउने गरीपटक–पटक पहिरो किन बल्झिरहेको छ ?

साउन ७ मा अरनिको राजमार्ग अन्तर्गतको भोटेकोशी गाउँपालिका–२ कोदारी बजारनजिकै पर्ने इकोमा ठूलो पहिरो खस्यो । जसकारण अरनिको राजमार्ग करिब २ महिना ठप्प रह्यो । चीनतर्फको मुख्य नाका केरुङ हो । यस नाकाले स्थलमार्गमार्फत चीनसँग हुने व्यापारको ६० प्रतिशत हिस्सा ओगटेको छ । तर, असार २४ गते लेहेन्देखोलामा आएको बाढीले नेपाल–चीन सिमाको मितेरी पुल बगाएपछि त्यो नाकासित पनि सडक सञ्जाल टुटेको थियो ।

पहिरो हटाउन नसक्दा चीनतर्फको दोस्रो ठूलो नाका मानिने तातोपानीबाट पनि आवतजावत बन्द जस्तै थियो । सो अवस्थामा सरकारका नवनियुक्त मन्त्री कुलमान घिसिङले पहल कदमी लिनुभयो । पानी परिरहेको बेला जोखिम मोलेरै उहाँ असोज ६ गते फिल्डमै आएर राजमार्गको निरीक्षण गर्नुभयो । सो समयमा हामीसहित सरोकारवाला सबै पहिरो पन्छाउँदै थियौँ ।

त्यसको भोलिपल्टै बाँस, गिट्टी लगायतको प्रयोग गरेर अस्थाई रुपमा माटो अड्याएर सडक सुचारु गर्‍यौँ । अहिलेसम्म सडक सोही अवस्थामा छ । तर अवरोध भोग्नु परेको छैन । २०७२ सालको भूकम्पपछि यहाँ पटक-पटक सडक भासिने समस्या आइरहेको हो । जसकारण सडकमाथिको बस्ती समेत पहिरोको उच्च जोखिममा छ ।

सो समयमा पहिरोको दीर्घकालिन व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय, चरिकोटले स्थानीयसँग सम्झौता समेत गरेको थियो ।सम्झौतामै सीमित हुनुहुन्छ कि कार्यान्वयनमा जानुभयो ?

हरेक वर्ष बल्झिने गरेको कोदारी (इको) पहिरो व्यवस्थापनसँगै सडक विस्तार गर्न बस्तीमा असर नपर्नेगरी स्थानीयसँग दशैअघि हामीले तीन महिनाभित्र ठेक्का सम्झौता गर्ने बाचा गरेका थियौँ । अनुसार डिजाइन बनाएर करिब ४८ करोड रुपैँया बराबर बजेट मागसहित कार्यालय, विभाग हुँदै अहिले अर्थमन्त्रालयमा त्यो फाइल पुगिसकेको छ । अर्थबाट उक्त प्रस्तावमा सहमति आउने बित्तिकै ठेक्का लगाउनेछौँ ।

डिभिजनले तयार पारेको डिजाइनमा पहिरोको दीर्घकालिन व्यवस्थापनका लागि के–के विषय समेट्नु भएको छ ?कसरी काम गर्ने योजना छ ?

त्यसका लागि हामीले माथिदेखि तलसम्म पहिरो रोक्ने गरी डिजाइन गरेका छौं । भोटेकोशीले कटान गरेको ठाउँमा पक्की (आरसीसी) पर्खाल निर्माण गर्नेछौं । त्यहाँ चट्टान छ त्यसमा एङ्कर गरेर सात मिटर अग्लो आरसीसी पर्खाल निकाल्छौं । योसँगै त्यहाँबाट रसाइरहेको पानी व्यवस्थापनका लागि हामीले पहिरोको तल ४० मिटर गहिरो र ४ डाएमिटर गोलाइ रहनेगरी तीनवटा इनार खन्छौं ।

पहिरो क्षेत्रमा ३० मिटरसम्म ड्रिल गरेर रडको सहायतामा पाइप घुसाएर त्यहाँ रसाएको पानीको निकास गराउँछौँ । सो गरेर त्यहाँको जमिन सुख्खा बनाइसकेपछि बाटोको लागि (एम.एस.सी वाल) अर्थातस्टिल वा जिओग्रिड जाली र माटोलाई एकसाथ बाँधेर बनाइने मजबुत पर्खाल बनाइन्छ। यो पर्खाल धेरै भार सहनसक्ने, भूकम्पमा लचिलो र कम लागतमा छिटो निर्माण गर्न सकिने विशेषता बोकेको हुन्छ ।

पहिरो भएको क्षेत्रमा सडकमाथि गाउँ समेत रहेकाले त्यसलाई समेत रोक्नेगरी भूगर्भविद्को विस्तृत अध्ययनपछि पाएको प्रतिवेदन अनुरुप डिजाइन तयार गरेका थियौँ । त्यसमा हामीले सरोकारवालसहित धेरै पटक छलफल गरिसकेपछि मात्रै डिजाइन कार्यान्वयनमा ल्याउने निर्णय गरेका थियौँ ।

सडक डिभिजन कार्यालय दोलखाका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारी

त्यहाँ लामोसमयदेखि भू–गर्भविद्ले अध्ययन पनि गरिरहेका थिए । उनीहरुको रिपोर्टमा के पाइयो ?

उहाँहरुको रिपोर्टमा रसाइरहने पानीका कारण माटो अडिन नसकेको देखिएको छ । सडकभन्दा १२/१३ मिटर तल चट्टानले बनेको पहरो छ । त्यो भन्दामाथि माटोढुङ्गा र बलोट बसेको छ । त्योसँगै तल पानी जम्मा भएर कुवा पनि बनेको छ । सडकभन्दा ४/५ मिटर माथि पानीका मुहान छन । त्यसले गर्दा माटो बगेको बग्यै छ । पानीको व्यवस्थापन नगरेसम्म माटो बस्ने देखिदैन । त्यो अनुसार मुख्यतया रसाएको पानी निकाल्ने तथा जमिन सुख्खा बनाउनुपर्नेछ । त्यसपछि पर्खाल निर्माण गर्नुपर्छ । त्यो विषय डिजाइनमा उल्लेख गरिसकेका छौँ ।

पहिरो व्यवस्थापनका लागि कति क्षेत्रफलमा काम गर्नुपर्ने देखिन्छ ?

त्यसका लागि हामीले २ सय मिटर लम्बाई र डेढ सय मिटर चौडाईमा काम गर्नुपर्ने हुन्छ ।

कति समय लाग्छ काम सम्पन्न गर्न ?

पहिरो व्यवस्थापनको काम यसैवर्ष सम्पन्न गर्ने योजना छ ।

विगतका वर्षमा पनि त्यहाँ काम भएको थियो त्यो किन विफल भयो ? तपाईको डिजाइन सफल हुनेमा कसरी विश्वस्त पार्नुहुन्छ ?

जमिन अनुरुप डिजाइन नभएर काम पूरा भएन । यसपटक डिजाइन परिवर्तन गरेर काम गरेका छौँ । त्यसैले हामी सफल हुनेमा आशावादी छौँ ।

अरनिको राजमार्ग विस्तारको क्रममा छ । काभ्रेको बनेपा क्षेत्रमा बिहिबार मन्त्री आफै निरीक्षणमा पुग्नुभयो । समस्याग्रस्त बाह्रबीसे–तातोपानी नाका जोड्ने सडकको अवस्था के छ ? सडक सुधारका लागि सरकारको रेसपोन्स कस्तो पाउनुभएको छ ?

सडकका लागि मङ्सिर २ मा सम्झौता भएको हो । जुन तीन वर्षभित्र दुई लेनमा डबल पिचसहित निर्माण गर्नेछौँ । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २८ किलोमिटर सडकका लागि १ अर्ब ३४ करोड रुपैयाँमा मृत सञ्जीवनी कलुवा जेभीलाई जिम्मा दिइसकेका छौँ ।

साइटमा कन्ट्रयाक्टरले काम गर्न थालिसक्नुभएको छ । सुरुमा डीपीआरका आधारमा सम्झौता भएकोमा यतिबेला कन्ट्रयाक्टर र सडक डिभिजन कार्यालय चरिकोटको प्राविधिक दुबै टोली बसेर सर्भे र डिजाइन गछौं । त्यसको आधारमा काम अगाडी बढाउँछौँ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ४ : १४ बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र