कच्चा निर्देशनले ‘राँटो’ राखे « Khabarhub

कच्चा निर्देशनले ‘राँटो’ राखे


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

फिल्म : मालती मंगले
कलाकार : विजय बराल, वर्षा राउत र मेक्सम गौडेल
कथा तथा निर्देशन : प्रकु पाण्डेय
पटकथा : सम्योग गुरागाईं
निर्माता : गायक रामकृष्ण ढकाल

फिल्मका निर्माता गायक रामकृष्ण ढकालका कारण बहिष्कारको निशानामा परेको ‘मालती मंगले’ शुक्रबारबाट प्रदर्शनमा आयो । अब यो फिल्म दर्शकको हो, बहिष्कार र स्वीकार उनीहरूकै निर्णयमा भर छ ।

फिल्म नहेर्ने दर्शकहरूलाई सुरुमै जानकारी दिँदा– यो फिल्मको कथा राजनीतिसँग मेल खाँदैन । अर्थात्, फिल्म जे घटनाले बहिष्कारको निशानामा पर्‍यो, कथा त्योभन्दा दूरीमा छ ।

‘मालती मंगले’ शुद्ध पारिवारिक र सामाजिक फिल्म हो । यो कुराको संकेत ट्रेलरले नै गर्छ ।

फिल्मको कथा नायक विजय बराल ‘मंगले’को लाइनबाट भनिएको छ । नायिका वर्षा राउतले निर्वाह गरेको चरित्र ‘कमला’ फिल्म बन्नुको कारक हुन् । मंगलेको जीवनको हरेक उत्तारचढाव उनैसँग जोडिन्छ ।

एक दुर्गम गाउँ, जहाँ सञ्चारको सुविधा पुगेको छैन । जहाँ ‘कटुवाल’ले दमाहा बजाएर सूचना फैलाउँछन् । निर्देशकले यो गाउँ स्याङ्जामा स्थापित गरेका छन् ।

गाउँमा भर्खरै फिल्म पुगेको छ । टीभीमा फिल्म देखाएर कमलाका दाइको चरित्र निर्वाह गरेका कलाकार सुवर्ण थापाले राम्रै दाम छापेका हुन्छन् ।

जुड्डी साथी मेक्समसँग फिल्म हेर्न जाने क्रममा मङ्गलेले मालतीलाई देख्छ । फिल्ममा औधि रुचि राख्ने कमलालाई मंगलले आफ्नी मालती बनाउन कस्तो प्रयास र हर्कत गर्ला ?

फेरि कमलाभन्दा कमजोर आर्थिक अवस्था भएको परिवारको हो, मंगले । त्यहीमाथि फूलटाइम बेरोजगार ।

यसको अनभुव दर्शकले फिल्मको ‘कोल्ड ओपन’मा गर्न पाउँछन् । ‘कोल्ड ओपन’ अर्थात्, फिल्मको शीर्षक र निर्देशकको नामभन्दा अगाडि देखाइने दृश्य ।

यो फिल्मको ‘कोल्ड ओपन’ नै सामान्यभन्दा निकै लामो छ । यसैमा निर्देशकल प्रकु पाण्डेयले पात्रहरूलाई स्थापित गरेका छन् ।

शैक्षिक चेतना कमजोर भएको गाउँमा प्रजननबारेको जानकारी नहुँदा उत्पन्न पस्थितिमा यो फिल्म बनेको छ ।

मालतीलाई छोराको इच्छा हुँदा-हुँदै मंगलेले कि भ्यासेक्टोमी (बन्ध्याकरण) गर्छ ? श्रीमान् मंगलेले भ्याक्सेक्टोमी गरेपछि श्रीमती मालती कसरी गर्भवती भई ? फिल्मको मुख्य द्वन्द्व र सस्पेन्स यीनै हुन् ।

अब मालतीलाई नखाएको विष लाग्यो वा उनले विष खाएकै हुन् ? यो थाहा पाउन दर्शक फिल्मको अन्तिमसम्म कुर्नुको विकल्प छैन । ‘मालतीको गर्भले विजयको बेचैनी’माथि दर्शकलाई अन्तिमसम्म अड्याएर राख्नुपर्ने जिम्मेवारी छ ।

अत्यधिक माया गर्ने श्रीमती गर्भवती भई, त्यो पनि आफूले भ्यासेक्टोमी गरेपछि । यही घटनाको निचोड निकालेर फिल्म सकिन्छ ।

मांगले र मालतीको दाम्पत्य जीवन समधुर नै रहला ? मालतीको गर्भ मंगलेले स्वीकार गर्ला ? यसको जवाफ थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ ।

कच्चा निर्देशन

फिल्म निर्माणलाई गाडी कुदाउनुसँग दाँज्ने हो भने निर्देशक चालक हुन् । गाडी ड्राइभरको एकल जिम्मेवारीमा हुन्छ । त्यसैरी नै फिल्म निर्माणको जिम्मा निर्देशककै हुन्छ । फिल्मका हरेक सिनको अन्तिम निर्णय निर्देशककै रहन्छ ।

अब सोच्नुहोस्– सक्षम चालक भएन भने गाडीको हातल के हुन्छ ?

छोटकरीमा भन्दा ‘मालती मंगले’ सक्षम चलाक नभएको फिल्म हो । अर्थात्, कच्चा निर्देशनमा बनेको फिल्म हो ।

यो फिल्ममा पाण्डेयको तारिफ गर्ने पाटो हुँदै नभएको होइन, छ । उनले नायक विजय बराललाई फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को पूर्णबहादुरको ह्याङबाट भने उतारेका छन् । बाँकी भद्रगोल ।

फिल्मको कथा केही दशकअघि सञ्चार र शिक्षा जस्ता पूर्वाधारको पहुँच नपुगेको ग्रामीण गाउँको हो । त्यो जमना, जहाँ ब्ल्याक एन्ड ह्वाइट टीभीमा फिल्म देखाइएर पैसा कमाइन्छ । स्वास्थ्य चौकीको मुख देख्न सदरमुकाम जानुको विकल्प छैन ।

अर्थात्, कथा दशकौं पुरानो हो । तर, पर्दामा हिजो आज गाउँघरमा चल्ने पहिरनमा कलाकारहरूलाई देखाइएको छ । कथा पुरानो जमानको, पहिरन आधुनिक समयको । जसले कलाकारहरू फिल्मले देखाउन खोजेको समयका व्यक्तिहरू नै लाग्दैनन् । कतै नायकको ड्रेस मिलेको छैन, कतै नायिकाको । यसले पहिलो गाँसमै ढुङ्गा लगाउँछ । परिवेश पनि आधुनिक छ । यसमा निर्देशक मज्जैले चुके ।

‘कोल्ड ओपन’ १० मिनेटभन्दा लामो राख्नुलाई जोखिम मानिन्छ । निर्देशकले जोखिम मोले तर, पछारिए ।

लामो ‘कोल्ड ओपनिङ’ले फिल्म लम्बिएर साढे २ घण्टा कट्यो । अनि पहिलो र दोस्रो दुवै हाफ सुस्त भयो । अनावश्यक दृश्यहरू थुपारेर निर्देशकले फिल्म लम्बाए । कथा अगाडि नबढ्दा दर्शकलाई पट्यार लाग्ने स्थान दुवै हाफमा भेटिन्छ ।

सबै स्थानमा होइन फेरि । कतै कथा अनावश्यक बत्याइएका छन् । जस्तो– फिल्मको कथा वास्तविकतानजिक देखाउने निर्देशकको प्रयास छ । तर, मंगले र मालतीको प्रेम यति चाँडो स्थापित हुन्छ कि दर्शक कन्भिन्स नै हुन गाह्रो पर्छ ।

मंगलेलाई सुन्दरतामा लठ्ठ पार्न मालतीलाई भारी बोक्दा पनि निर्देशकले हँसाएका छन् । मालतीलाई भारी बोकाउने दृश्यमा निर्देशकले दर्शकलाई हेपेका छन् । जे गर्दा पनि हुन्छ वा यत्तिको चल्छ भन्ने पनि कन्फिडेन्ट हो ?

पहिलो त गाउँकी मालती, जसको दैनिकी मिल जाने हुन्छ । उसैलाई भारी बोक्न आउँदैन । नाम्लोमा भारी बोक्दाँ अस्वभाविक देखेपछि अरू विकल्प रोजेका भए हुने नि ? मिलमा पिँस्न लगेको भारीमा चिट गरेको दर्शकले प्रष्ट थाहा पाउँछन् ।

यो भारी बोकेको दृश्यमा भाउजूको भूमिका निर्वाह गरेकी सुष्मा निरौलाले वर्षालाई ओझेलमा परेकी छन् । सहायक कलाकारको अभिनय क्षमताले शीर्ष कलाकार डोमिनेट भएको दृश्यले पनि निर्देशकको क्षमतामा प्रश्न गर्ने ठाउँ छ । यस अर्थमा कि- शीर्ष कलाकारलाई किन यसरी कमसल प्रस्तुत गरेको ?

कुनै-कुनै स्थानमा त वर्षा मिस कास्ट भइन् जस्तो लाग्छ । विशेषगरी मध्यान्तरसम्म । तयारी नपुगेको पक्कै हो । उनको स्याङ्जाली लवज झन् अस्वभाविक छ । जबरजस्तीको छ । थप मिहिनेत आवश्यक छ ।

वर्षाको तारिफ गर्ने विषय पनि छ- इमोशनको पाटोमा असन्तुष्ट बन्नुपर्ने कारण छैन । यो फिल्मबाट उनले आफनो करिअरमा थपेको कुरा यही हो । मध्यान्तरपछिको इमोशनल दृश्यले उनीप्रति सहानुभूति बढ्ने ठाउँ छ ।

यो फिल्मको मुख्य कमजोरी नै कमजोर क्लाइमेक्स हो । क्लाइमेक्स दर्शकले शंका गरेकै हुन्छ । स्लोमा अगाडि बढेको कथामा धैर्य राख्दै दर्शक त्यही शंका गरेको क्लाइमेक्स हेर्न बाध्य छन् ।

सबै राम्रा फिल्म व्यापारिक रुपमा सफल हुन सक्दैनन् । तर, दर्शकले हलमा यातना महसुस नगर्ने फिल्म बनाउनु नै निर्देशकको क्षमता हो । यसमा पाण्डेय चुके ।

थप…

विजय बराल यस पटक नयाँ चरित्रमा महसुस गराएका छन् । टाइपकास्टको भाष्य तोडेका छन् ।

वर्षा लवजमा चिप्लिएकी छन् । यसले सुरूमै निराश बनाउँछ । डिटेलिङमा ध्यान नदिँदा कुनै फ्रेममा सहायक पात्रको डोमिनेशनमा परेकी छन् । इमोशनको पाटोमा भने सन्तुष्ट हुन सकिन्छ ।

विजयको साथीको भूमिकामा मेक्सम छन् । उनले सबैभन्दा बढी स्क्रिन टाइम पाएको फिल्म यही हो । तर, विजयको छायामा नपर्ने गरी उनले अभिनय क्षमता देखाएका छन् ।

अनाश्यक दृश्य थुपारेर सलल कथा बगाउन नसक्दा फिल्म चिप्लिएको छ । यसको मुख्य जिम्मेवार निर्देशक हुन् । पर्दामा हेर्दा उनले कलाकारलाई नियन्त्रणमा राख्न नसकेको महसुस हुन्छ । कच्चा निर्देशनले फिल्ममा राँटो बसेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ४८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट