खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ « Khabarhub

खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ

संविधान नमान्ने देशमा कार्यविधि काम छैन



काठमाडौं- ‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवानका रुप हुन् । उनीहरुको स्वागत सत्कार गर्नु नेपाली समाजको संस्कार पनि हो । घर मात्रै होइन, औपचारिक समारोहमा पनि अतिथिलाई उत्तिकै मान गरिन्छ । तर पछिल्लो समय भने ‍औपचारिक कार्यक्रममा अतिथिलाई गरिने स्वागत प्रदर्शनमुखी बन्दै गएको छ ।

अतिथिहरू कार्यक्रममा ढिला आइपुग्छन् । ढिला भए पनि तिनीहरूलाई माला, अबीर र खादाबाट ठूलै प्रगति गरेसरह भव्य रूपमा स्वागत गरिन्छ । त्यसपछि लामो आसन ग्रहण र भाषणको क्रम सुरु हुन्छ । त्यसमै पनि वरियता अनुसार आसनग्रहण नगराएको भन्दै चर्काचर्की हुने गरेको सुनिन्छ ।

त्यसैगरी, कार्यक्रमको विषयनै रुपान्तर हुनेगरी व्यापारी र नेताले मनका भडास, आक्रोश र आरोपप्रत्यारोप फैल्याउने थलो पनि त्यहीँ मञ्चलाई बनाउँछन् । सरकारी कार्यक्रम होस् वा संघसंस्थाको भेला, आजभोलि प्रतिष्ठा प्रदर्शन गर्ने प्रचलन जहाँत्यहीँबाट स्थापित हुँदै गएको देखिन्छ ।

यसैबीच, अर्थमन्त्री रामेश्वर खनालले भने यसबारे बिल्कुल फरक दृष्टिकोण प्रकट गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्ता कार्यक्रममा हुने खर्चिलो र तडकभडक शैलीलाई प्रतिष्ठासँग जोड्ने प्रवृत्तिको विरोध गरेका छन् ।

अर्थमन्त्री खनालको उक्त पोष्टमा पत्रकार टीकाराम यात्रीले अनुशरणयोग्य काम भन्दै प्रशंसा गरेका छन् । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले पनि प्रमुख अतिथिको रुपमा आएको निम्ता बाहेकका कार्यक्रममा आफू पनि दर्शक दीर्घाबाटै कार्यक्रममा खनाल जस्तै सहभागी हुनेगरेको भन्दै खनाललाई समर्थन गरेका छन् ।

यस्तै, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) मा हाइड्रोलोजिक मोडलरका रुपमा कार्यरत ओम राउतले भने कानुननै बनाएर अघि बढ्न खनाललाई सुझाए । ‘कानुन बनाएरै यो सब लागू गर्न सके क्या खासा हुने थियो’ उनले लेखेका छन् ।

मन्त्री खनालको स्ट्याटसमा कमेन्टको विश्लेषण गर्दा खनालले अघि सारेका तर्क र धारणा समाजले सान्दर्भिक र यथार्थपरक ठानेको आंकलन गर्न सकिन्छ । त्यसो भनिरहँदा अतिथि सत्कारलाई संस्कार बनाएको नेपाली समाजमा यी अभ्यासलाई पूर्ण बहिष्कार गर्ने कि मर्यादित र समुचित प्रयोग सुनिश्चित गर्ने भन्ने विषय बढी महत्वपूर्ण बनेको नेपाल सरकारको स्थानीय विकास, वातावरण तथा उद्योग मन्त्रालयका पूर्व सचिव समेत रहेका कृष्ण ज्ञवाली लेख्छन् ।

खनालको यो सन्देशले चार वर्षअघि पर्सा पुगेर १५१ किलोको माला लगायका निवर्तमान प्रधानमन्त्री केपी ओली लगायत पूर्वप्रधामन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा, झलनाथ खनालसहित मन्त्री, व्यवसायी र प्रहरीलाई अवश्य चिसो पसेको हुनुपर्छ ।

उसो त औपचारिक कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीदेखि केही स्थानीय पालिका र प्रदेश सरकारले पहलकदमी लिएको देखिन्छ । गण्डकी प्रदेशले त २०७६ सालमा कार्यक्रमलाई व्यवस्थित गराउन औपचारिक बैठक तथा समारोह सञ्चालन सम्बन्धी निर्देशिका नै जारी गरेको थियो ।

यसअघि २०७५ साउनमा कास्कीको मादी गाउँपालिकाले कार्यक्रममा खादा, माला, अबिरमा फजुल खर्च नगरी स्थानीय घरेलु उत्पादनका वस्तु मात्र प्रयोग गर्ने कार्यविधि बनायो । २०७४ सालको निर्वाचनको प्रचारप्रसारका क्रममा मतदाताले अत्याधिक अबीर, माला र खादाको प्रयोग गरेकाले त्यसलाई व्यवस्थित बनाउन सो समयमा अध्यक्ष पदमा निर्वाचित बनेका वेदबहादुर गुरुङले सो कार्यविधि बनाएका थिए ।

कैलालीको जानकी गाउँपालिकाले पनि कार्यपालिका बैठकबाट पालिकाभित्र गरिने जुनसुकै समारोहमा खादामाला तथा प्लाष्टिकजन्य चम्चा, प्लेट, पेयपदार्थ प्रयोग नगर्न सुझाएको थियो । त्यसको सट्टा दूध मोहीलगायत स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिइएको थियो ।

यस्तै २०७८ सालमा माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघले अध्यक्षलाई मात्र मञ्चमा राखिने र अतिथि सहभागीसँगै दर्शकदीर्घामा बस्ने घोषणा गरेको थियो । साथै, युवासघंका कार्यक्रममा पनि खादा, माला प्रयोग नगर्ने निर्णय केन्द्रीय कमिटीलेनै गरेको थियो ।

गुल्मीको छत्रकोट गाउँपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका लगायतका थुप्रै पालिकाले पनि यस्ता निर्णय गरेका छन । तर ‘लागेको बानी नछोड नानी’ भन्ने उखान जस्तै कार्यान्वयनमा भने अझैपनि उही प्रवृत्ति दोहोरिएको देखिन्छ । संघ सरकारले भने यसबारे नीतिगत निर्णय गरेको छैन ।

प्रदर्शनमुखी शैलीमा माला–खादा संस्कृति अपनाउनु केवल व्यक्तिगत प्रतिष्ठा मात्रै होइन, समाजमा असमानता र पुरातन धार्मिक–सामन्तवादी चिन्तनलाई पनि बल पुर्‍याउने कार्य हो। अर्थमन्त्री खनालको दृष्टिकोणले यस प्रवृत्तिलाई सुधार्ने र अतिथि सत्कारलाई वास्तविक सम्मानको रूप दिन सक्ने मार्ग देखाएको छ ।

यसबारे समाजशास्त्री दिपेश घिमिरे के भन्छन् ?

सार्वजनिक संघसंस्था, सरकार राजनैतिक दलले गर्ने कार्यक्रम कस्तो भयो भने प्रचारित वा प्रतिष्ठित व्यक्तित्व ल्याउने र उनकै बुइ चढेर आफ्नो प्रचारप्रसार गर्ने प्रचलन नेपालमा विगत लामो समयदेखि फस्टाइरहेको छ । त्यो विषयको जानकारलाई खोज्नेमा धेरैको चासो भएन ।

जो पदमा हुन्छ, त्यो सबै विषय जानेको हुन्छ भन्ने बाँकी केही जानेका हुदैनन् भन्ने भाष्य बनाएर लामोसमयदेखि त्यसलाई अभ्यास गर्दै गयौँ ।

कुनै पनि पदमा पुग्ने मान्छे कुनै प्रकृयाको आधारमा त्यहाँ पुगेको हुन्छ । तर सर्वज्ञानी भएरै पदमा पुगेको भन्ने भाष्य बनाउँदै त्यसलाई अभ्यास गर्दै आयौं । अब यसलाई ब्रेक गर्नुपर्ने छ ।

अनि अर्को कुरा प्रमुख अतिथि हतार हुँदा सुरुमै बोल्ने वा अन्तिममा मात्रै बोल्ने प्रचलन छ । यसो हुँदा दर्शक दिर्घा हिँडिसक्ने देखिन्छ । यो किन हुन्छ भने त्यहाँ आएका दर्शक कार्यक्रममा रुचिले आएका हुँदैनन् । त्यहाँ भीड देखाउन मात्रै मानिसहरु आएका हुन्छन् ।

केही पालिका र प्रदेशमा कार्यक्रमलाई व्यवस्थित बनाउन कानुनी प्रावधान नै ल्याइएको छ । यो कत्तिको प्रभावकारी हुन्छ ?

यसरी कानुनले बाँध्दैमा कार्यक्रम व्यवस्थान हुन्छ भन्ने भन्ने लाग्दैन । यो त हाम्रो नैतिकतासँग जोडिएको विषय हो । संविधानको समेत उल्लङघन हुने देशमा कार्यविधिले सुधार ल्याउँछ भन्ने लाग्दैन । यसमा त कार्यक्रमका अतिथि तथा दर्शकदीर्घा दुबैले त्यस कार्यक्रममा सहभागी हुँदा आफूले पार्न सक्ने प्रभाव र लिन सक्ने लाभको मूल्यांकन गरेर सहभागिता जनाउँदा प्रभावकारी हुने देखिन्छ ।

कार्यक्रममा त आजभोलि एक डेढसय किलोसम्मको माला लगाइदिने लगायतको तडकभडक निकै देखिने गरेको छ । यो प्रवृत्तिलाई यहाँले कसरी हेर्नुहुन्छ ?

हामीले विगत लामो समयदेखि चाकडीको हद नाघेको सामाजिक मूल्य मान्यता उस्तै छ । एउटा पदमा पुगेको व्यक्तिलाई खुसी पार्न अनावश्यक देखावटी देखाउने गरिएको छ । यसले राणाकालदेखिको चाकडीबाज अहिलेसम्म नबदलिएको स्वरुपको निरन्तरता हो ।

अर्थमन्त्रीले भनेजस्तै पदमै रहेको आधारमा मलाई सबै विषयको जानकार भन्दा पनि दर्शकदीर्घामै बसरे सुन्छु, सिक्छु बुझेको विषय भएमात्र बोल्छु भन्ने सन्देश अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ४८ बजे

पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा

‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई