खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ « Khabarhub

खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ

संविधान नमान्ने देशमा कार्यविधि काम छैन



काठमाडौं- ‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवानका रुप हुन् । उनीहरुको स्वागत सत्कार गर्नु नेपाली समाजको संस्कार पनि हो । घर मात्रै होइन, औपचारिक समारोहमा पनि अतिथिलाई उत्तिकै मान गरिन्छ । तर पछिल्लो समय भने ‍औपचारिक कार्यक्रममा अतिथिलाई गरिने स्वागत प्रदर्शनमुखी बन्दै गएको छ ।

अतिथिहरू कार्यक्रममा ढिला आइपुग्छन् । ढिला भए पनि तिनीहरूलाई माला, अबीर र खादाबाट ठूलै प्रगति गरेसरह भव्य रूपमा स्वागत गरिन्छ । त्यसपछि लामो आसन ग्रहण र भाषणको क्रम सुरु हुन्छ । त्यसमै पनि वरियता अनुसार आसनग्रहण नगराएको भन्दै चर्काचर्की हुने गरेको सुनिन्छ ।

त्यसैगरी, कार्यक्रमको विषयनै रुपान्तर हुनेगरी व्यापारी र नेताले मनका भडास, आक्रोश र आरोपप्रत्यारोप फैल्याउने थलो पनि त्यहीँ मञ्चलाई बनाउँछन् । सरकारी कार्यक्रम होस् वा संघसंस्थाको भेला, आजभोलि प्रतिष्ठा प्रदर्शन गर्ने प्रचलन जहाँत्यहीँबाट स्थापित हुँदै गएको देखिन्छ ।

यसैबीच, अर्थमन्त्री रामेश्वर खनालले भने यसबारे बिल्कुल फरक दृष्टिकोण प्रकट गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्ता कार्यक्रममा हुने खर्चिलो र तडकभडक शैलीलाई प्रतिष्ठासँग जोड्ने प्रवृत्तिको विरोध गरेका छन् ।

अर्थमन्त्री खनालको उक्त पोष्टमा पत्रकार टीकाराम यात्रीले अनुशरणयोग्य काम भन्दै प्रशंसा गरेका छन् । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले पनि प्रमुख अतिथिको रुपमा आएको निम्ता बाहेकका कार्यक्रममा आफू पनि दर्शक दीर्घाबाटै कार्यक्रममा खनाल जस्तै सहभागी हुनेगरेको भन्दै खनाललाई समर्थन गरेका छन् ।

यस्तै, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) मा हाइड्रोलोजिक मोडलरका रुपमा कार्यरत ओम राउतले भने कानुननै बनाएर अघि बढ्न खनाललाई सुझाए । ‘कानुन बनाएरै यो सब लागू गर्न सके क्या खासा हुने थियो’ उनले लेखेका छन् ।

मन्त्री खनालको स्ट्याटसमा कमेन्टको विश्लेषण गर्दा खनालले अघि सारेका तर्क र धारणा समाजले सान्दर्भिक र यथार्थपरक ठानेको आंकलन गर्न सकिन्छ । त्यसो भनिरहँदा अतिथि सत्कारलाई संस्कार बनाएको नेपाली समाजमा यी अभ्यासलाई पूर्ण बहिष्कार गर्ने कि मर्यादित र समुचित प्रयोग सुनिश्चित गर्ने भन्ने विषय बढी महत्वपूर्ण बनेको नेपाल सरकारको स्थानीय विकास, वातावरण तथा उद्योग मन्त्रालयका पूर्व सचिव समेत रहेका कृष्ण ज्ञवाली लेख्छन् ।

खनालको यो सन्देशले चार वर्षअघि पर्सा पुगेर १५१ किलोको माला लगायका निवर्तमान प्रधानमन्त्री केपी ओली लगायत पूर्वप्रधामन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा, झलनाथ खनालसहित मन्त्री, व्यवसायी र प्रहरीलाई अवश्य चिसो पसेको हुनुपर्छ ।

उसो त औपचारिक कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीदेखि केही स्थानीय पालिका र प्रदेश सरकारले पहलकदमी लिएको देखिन्छ । गण्डकी प्रदेशले त २०७६ सालमा कार्यक्रमलाई व्यवस्थित गराउन औपचारिक बैठक तथा समारोह सञ्चालन सम्बन्धी निर्देशिका नै जारी गरेको थियो ।

यसअघि २०७५ साउनमा कास्कीको मादी गाउँपालिकाले कार्यक्रममा खादा, माला, अबिरमा फजुल खर्च नगरी स्थानीय घरेलु उत्पादनका वस्तु मात्र प्रयोग गर्ने कार्यविधि बनायो । २०७४ सालको निर्वाचनको प्रचारप्रसारका क्रममा मतदाताले अत्याधिक अबीर, माला र खादाको प्रयोग गरेकाले त्यसलाई व्यवस्थित बनाउन सो समयमा अध्यक्ष पदमा निर्वाचित बनेका वेदबहादुर गुरुङले सो कार्यविधि बनाएका थिए ।

कैलालीको जानकी गाउँपालिकाले पनि कार्यपालिका बैठकबाट पालिकाभित्र गरिने जुनसुकै समारोहमा खादामाला तथा प्लाष्टिकजन्य चम्चा, प्लेट, पेयपदार्थ प्रयोग नगर्न सुझाएको थियो । त्यसको सट्टा दूध मोहीलगायत स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिइएको थियो ।

यस्तै २०७८ सालमा माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघले अध्यक्षलाई मात्र मञ्चमा राखिने र अतिथि सहभागीसँगै दर्शकदीर्घामा बस्ने घोषणा गरेको थियो । साथै, युवासघंका कार्यक्रममा पनि खादा, माला प्रयोग नगर्ने निर्णय केन्द्रीय कमिटीलेनै गरेको थियो ।

गुल्मीको छत्रकोट गाउँपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका लगायतका थुप्रै पालिकाले पनि यस्ता निर्णय गरेका छन । तर ‘लागेको बानी नछोड नानी’ भन्ने उखान जस्तै कार्यान्वयनमा भने अझैपनि उही प्रवृत्ति दोहोरिएको देखिन्छ । संघ सरकारले भने यसबारे नीतिगत निर्णय गरेको छैन ।

प्रदर्शनमुखी शैलीमा माला–खादा संस्कृति अपनाउनु केवल व्यक्तिगत प्रतिष्ठा मात्रै होइन, समाजमा असमानता र पुरातन धार्मिक–सामन्तवादी चिन्तनलाई पनि बल पुर्‍याउने कार्य हो। अर्थमन्त्री खनालको दृष्टिकोणले यस प्रवृत्तिलाई सुधार्ने र अतिथि सत्कारलाई वास्तविक सम्मानको रूप दिन सक्ने मार्ग देखाएको छ ।

यसबारे समाजशास्त्री दिपेश घिमिरे के भन्छन् ?

सार्वजनिक संघसंस्था, सरकार राजनैतिक दलले गर्ने कार्यक्रम कस्तो भयो भने प्रचारित वा प्रतिष्ठित व्यक्तित्व ल्याउने र उनकै बुइ चढेर आफ्नो प्रचारप्रसार गर्ने प्रचलन नेपालमा विगत लामो समयदेखि फस्टाइरहेको छ । त्यो विषयको जानकारलाई खोज्नेमा धेरैको चासो भएन ।

जो पदमा हुन्छ, त्यो सबै विषय जानेको हुन्छ भन्ने बाँकी केही जानेका हुदैनन् भन्ने भाष्य बनाएर लामोसमयदेखि त्यसलाई अभ्यास गर्दै गयौँ ।

कुनै पनि पदमा पुग्ने मान्छे कुनै प्रकृयाको आधारमा त्यहाँ पुगेको हुन्छ । तर सर्वज्ञानी भएरै पदमा पुगेको भन्ने भाष्य बनाउँदै त्यसलाई अभ्यास गर्दै आयौं । अब यसलाई ब्रेक गर्नुपर्ने छ ।

अनि अर्को कुरा प्रमुख अतिथि हतार हुँदा सुरुमै बोल्ने वा अन्तिममा मात्रै बोल्ने प्रचलन छ । यसो हुँदा दर्शक दिर्घा हिँडिसक्ने देखिन्छ । यो किन हुन्छ भने त्यहाँ आएका दर्शक कार्यक्रममा रुचिले आएका हुँदैनन् । त्यहाँ भीड देखाउन मात्रै मानिसहरु आएका हुन्छन् ।

केही पालिका र प्रदेशमा कार्यक्रमलाई व्यवस्थित बनाउन कानुनी प्रावधान नै ल्याइएको छ । यो कत्तिको प्रभावकारी हुन्छ ?

यसरी कानुनले बाँध्दैमा कार्यक्रम व्यवस्थान हुन्छ भन्ने भन्ने लाग्दैन । यो त हाम्रो नैतिकतासँग जोडिएको विषय हो । संविधानको समेत उल्लङघन हुने देशमा कार्यविधिले सुधार ल्याउँछ भन्ने लाग्दैन । यसमा त कार्यक्रमका अतिथि तथा दर्शकदीर्घा दुबैले त्यस कार्यक्रममा सहभागी हुँदा आफूले पार्न सक्ने प्रभाव र लिन सक्ने लाभको मूल्यांकन गरेर सहभागिता जनाउँदा प्रभावकारी हुने देखिन्छ ।

कार्यक्रममा त आजभोलि एक डेढसय किलोसम्मको माला लगाइदिने लगायतको तडकभडक निकै देखिने गरेको छ । यो प्रवृत्तिलाई यहाँले कसरी हेर्नुहुन्छ ?

हामीले विगत लामो समयदेखि चाकडीको हद नाघेको सामाजिक मूल्य मान्यता उस्तै छ । एउटा पदमा पुगेको व्यक्तिलाई खुसी पार्न अनावश्यक देखावटी देखाउने गरिएको छ । यसले राणाकालदेखिको चाकडीबाज अहिलेसम्म नबदलिएको स्वरुपको निरन्तरता हो ।

अर्थमन्त्रीले भनेजस्तै पदमै रहेको आधारमा मलाई सबै विषयको जानकार भन्दा पनि दर्शकदीर्घामै बसरे सुन्छु, सिक्छु बुझेको विषय भएमात्र बोल्छु भन्ने सन्देश अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ४८ बजे

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने

थाइल्यान्डद्वारा युद्धविराम उल्लङ्घनको आरोप

एजेन्सी– थाइल्यान्डको सेनाले सोमबार कम्बोडियामाथि नयाँ हस्ताक्षर गरिएको युद्धविराम सम्झौता

बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान्

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टीका

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको