काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम । उनी नायिका तथा मोडलसमेत हुन् । तर उनलाई कलाकारिताले भन्दा धमला पत्नीकै रुपमा आमनागरिकले चिन्ने गर्छन् । कलाकारितामा आउनुअघि नै उनले जोडतोडले राजनीतिमा आउने प्रयास गरेकी थिइन् ।
फ्याट्टै मन्त्री बन्ने दाउमा रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ प्रवेश गरिन् । उनले पार्टी प्रवेशसँगै आफ्नो राजनीतिक यात्रा आरम्भ भएको बताएकी थिइन् । तर, पाँच महिना नबित्दै पार्टी छोडेको घोषणा गरिन् । धरान पुगेर उनले राजनीतिक दल छोडेर आफू स्वतन्त्र भएको प्रष्ट गरिन् । साथै, आफ्नो रुचि कलाकारितामा भएकोले फिल्म अभिनयलाई आफ्नो करिअर बनाउने बताइन् ।
एलिजालाई ‘घुइँचो’ फिल्मको लागि अफर आएको भनिएपनि उनको सपना साकार पार्न श्रीमान् आफैँले लगानी गर्नुपर्यो । अन्य निर्देशक र निर्माताले नपत्याएपछि धमला आफैँ अघि सरे । पत्नी एलिजालाई ‘अनुराग’ फिल्मबाट डेब्यु गराए । तर फिल्मले ‘पानी’ सम्म भन्न पाएन । अर्थात् दर्शकले एलिजालाई नायिकाको रुपमा स्वीकार गरेनन् ।
उनको अभिनयलाई मन पराइदिएनन् । त्यसपश्चात् धमलाले अर्को फिल्ममा हात हाल्न सकेनन् । कहिलेकाहीँ सामाजिक कार्यमा देखिने गौतम पुनः राजनीतिमा फर्किने जमर्कोका साथ जुटिन् । जेन–जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव घोषणा गरेसँगै उनी दल दर्ता गर्न निर्वाचन आयोग पुगिन् । रमणकुमार कर्ण नेतृत्वको ‘जनादेश पार्टी, नेपाल’ को उपाध्यक्ष भइन् ।
दल दर्ता गरेसँगै आफ्नो सक्रियता बढाउन माइतीघर मण्डलामा न्यायका लागि धर्ना बसेका सहकारी पीडितहरु भेट्न पुगिन् । आफ्नै टिभी प्राइम टाइमका पत्रकार बोकेर उनी पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले पुगेकी थिइन् । तर उनी त्यहाँ नराम्रोसँग चिप्लिइन् । बुम तेर्स्याइरहेकाआफ्नै मिडियाको पत्रकार नै छक्क पर्ने गरी उनले नारा लगाइन्– ‘सहकारी पीडितलाई कारवाही गर, कारवाही गर ।’
धमला एक यस्ता पत्रकार हुन् । आँखै अगाडि आलोचना भइरहेपनि हँसिलो अनुहार लगाउन सक्छन् । एक अन्तर्वार्तामा धमलाले काम गर्ने मान्छेको प्रशंसा र आलोचना दुवै हुने बताएका थिए । साथै, उनले प्रशंसा सुन्दा खुसी हुने र आलोचना सुन्दा झोक्राउने आफ्नो स्वभाव नभएको बताएका थिए । यदाकता श्रीमानको गुण पत्नी गौतममा पनि देख्न सकिन्छ । तब न उनले जिब्रो चिप्लिएको स्वीकार गरिन् ।
उनले एक युटुबमा भनेकी छिन्, ‘सहकारी पीडितको साथ र उनीहरुकै पक्षमै बोल्न पुगेकी थिएँ । सरकारले न्याय दिनुपर्छ भन्दै थिएँ, तर चिप्लिएँ । भगवान गौतम बुद्धबाट त गल्ती हुन्थ्यो, मत एलिजा गौतम हुँ । मान्छे हुँ, हिँड्दाहिँड्दै कहिले लडिन्छ । बोल्दाबोल्दै कहिलेकाहीँ चिप्लिन्छ ।’ गौतमले आफ्नो बचाउ गर्दै नकारात्मक नसोच्न आग्रह गर्छिन् । स्वाभाविक हो, मान्छेको जिब्रो चिप्लिन्छ । भन्न खोजिएको कुराको अनर्थ फुत्किन्छ ।
एक थोक भन्न खोजिएको हुन्छ, अर्को थोक बोलिन्छ । ‘सहकारी पीडितलाई कारवाही गर’ भन्ने अभिव्यक्ति दिनुभन्दा अगाडि उनले निर्वाचन आयोगबाट दल दर्ता गरेर निस्कँदै गर्दा दिएको अभिव्यक्ति पनि त्यसैगरी चिप्लिएको थियो । पत्रकारले तपाईँ किन राजनीतिमा भन्ने प्रश्नको जवाफमा उनले भनेकी थिइन्, ‘शिक्षा, स्वास्थ्य र भ्रष्टाचार अन्त्य गर्छु ।’ शिक्षा, स्वास्थ्य र भ्रष्टाचार शब्दबीचको तादाम्य कति फरक हो भने उनले मेसो पाएको देखिएन ।
एलिजा चिप्लिराख्ने व्यक्ति हुन् । तर पछिल्लो ‘बलात्कार भएको मान्छेलाई फाँसीको सजाय दिनुस् न’ भन्ने अभिव्यक्तिले आलोचित बन्न पुगेकी छिन् । पत्रकार गौरव पौडेलले सय घण्टा टिभी टक शो सञ्चालन गरेर गिनिज वल्र्ड रेकर्ड राख्ने अन्तर्वार्तामा उनी चिप्लिएकी हुन् । आफ्नै टिभीबाट प्रसारण भएको अन्तवार्ता लाइभ थियो ।
उनको अन्तर्वाताको छोटो क्लिप भाइरल भयो । उनले भनेकी थिइन्, ‘अहिलेको हाम्रो कानूनमा फाँसीको सजाय नहुँदा बलात्कार बढेको हो । ‘फाँसीको सजाय दिनुस् न बलात्कार भएको मान्छेलाई अनि बलात्कार घट्छ ।’यस अभिव्यक्तिलाई नागरिकले सहजै मान्न सकिरहेका छैनन् । फाँसी कसलाई दिने सम्म थाहा नभएकाले राजनीति गर्ने भनेर आलोचना भइरहेको छ ।
आलोचना भएपछि उनले दिने रेडिमेट एउटा जवाफ छ– ‘म भगवान् होइन, मान्छे हुँ । नकरात्मक नसोच्नुस्, सकारात्मक सोच्नुस् ।’ गौतमलाई प्रश्न ? कति कुरामा सकारात्मक हुने ? बलात्कार भएको मान्छेलाई फाँसी दिनुपर्छ भन्ने अभिव्यक्तिमा कसरी सकारात्मक हुने ?
अझ उनले भेउ नपाएर गरेको अर्को गल्ती भनेको आलोचनाबाट बच्न नाबालिक छोरीको प्रयोग गरेकी छिन् । आमाबुवाले राम्रो काम गर्दागर्दै ट्रोलको सिकार बन्नुपर्दा मन दुखेको अभिव्यक्ति छोरीले दिएकी छिन् । साथै, छोरीले आमाले कति सामाजिक कार्य गरेको नदेख्ने तर सानो गल्तीको ट्रोल बनाउन भनेर प्रतिवाद गरेको देखिन्छ ।
बच्चालाई बच्चै भएर हुर्कन दिनुपर्छ । आलोचनाको प्रतिकारमा बच्चालाई उतार्नु बालअधिकारको खिलाफ हो । छोरीको प्रतिकार देखेर मख्ख परेका धमला दम्पत्तिमा बालअधिकारको पनि अनभिज्ञता देखिन्छ । मिडियाबाट आउन सक्ने नकारात्मक असरबाट नाबालक छोरीलाई जोगाउन सकिरहेका छैनन् ।
एलिजा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाकै झल्को दिने अभिव्यक्ति दिन्छिन् । आरजुले संसदमै मानिसलाई टोक्ने सर्पलाई कारवाही गर्नुपर्ने बताएकी थिइन् । साथै, उनी माटो र मल छुट्टयाउन नसक्ने भएपनि कृषि समितिको सभापतिसमेत बनेकी थिइन् । आफ्नो क्षमता भन्दापनि श्रीमानको पावर सेन्टरको फाइदा लिने प्रयास दुवै महिलामा देखिन्छ ।
यसो भनिरहँदा डा. आरजु र एलिजा असक्षम महिला भन्न खोजिएको होइन । तर क्षमता एकातिर, काम अर्कोतिर भइरहेको हो कि ? नेता बन्नु चानचुने कुरा होइन । नेताले बोलेको हरेक शब्दले अर्थ राख्छ । त्यसकारण पनि नेतासँग उन्नत चेतनाको आवश्यकता पर्छ । जनताले नेताबाट उन्नत विचारको अपेक्षा राख्छन् । मानिस र जीवबीचको फरक थाहा छैन । पीडित र पीडकबीचको फरक थाहानहुनु भनेको सामान्य भन्दा सामान्य चेतना अभाव हो ।
एक महिना अगाडि मात्रै आफै संस्थापन रहेर स्थापना गरेको जनादेश पार्टी छोडेर प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) प्रवेश गरेकी छिन् । आजपाको उपाध्यक्ष रहेकी गौतम भोलि मन्त्री बनेर कसरी छिमेकी राष्ट्रसँग अन्तक्रिया गर्लिन् ? अन्तर्राष्ट्रिय तथा कूटनीतिक सम्बन्धका बारेमा पनि यस्तै जिब्रो चिप्लियो भने के हुन्छ ?जति ठूलो ठाउँमा पुगिन्छ, उति जवाफदेही बन्नुपर्छ । तर यस्तै सधैँ जिब्रो चिप्लियो भनेर कहाँ क्षमा पाइन्छ र ?













प्रतिक्रिया