काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा गएका छन् ।
उनी बिहीबार बिहान हेलिकप्टरमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा अवस्थित धार्मिक पीठहरूको भ्रमणमा गएका हुन् ।
नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावलका अनुसार महामन्त्री थापा सवार हेलिकप्टर बिहान उग्रतारा मन्दिर नजिकै अवतरण भएको थियो । उनले थापासहितको टोली उग्रतारा मन्दिरको दर्शन गरेर बैतडीतर्फ उडेको जानकारी दिए ।
‘कांग्रेस महामन्त्री गगन थापा उग्रतारा मन्दिरको दर्शनमा आउनुभएको डडेल्धुरा प्रहरीले भन्यो,’ अध्यक्ष रावलले भने,‘प्रहरीले नै उहाँ सवार हेलिकप्टर डडेल्धुरा उडेको जानकारी दियो । मैले बैतडी कांग्रेसका सभापति चतुरबहादुर चन्दलाई यसबारेमा बुझ्न खोज्दा उहाँले जानकारी नभएको बताउनुभयो ।’
महामन्त्री थापा श्रीमती डा. अन्जना केसीका साथ सुदूरपश्चिम पुगेका हुन् । थापा निकट कैलाली अत्तरियाका कांग्रेस नेता लोकराज पाण्डेय ‘आगो’ले फेसबुकमा महामन्त्री थापासहितको तस्बिर राख्दै सुदूरपश्चिमका धार्मिक पीठहरू उग्रतारा, त्रिपुरा सुन्दरी, उदयदेव, बडिमालिका, खप्तड लगायतको यात्रामा सफलताका कामना गरेका छन् ।
प्रतिक्रिया