पूर्वराष्ट्रपतिको सदस्यता नवीकण हुँदैन, एमालेको भावी अध्यक्ष ओली नै : प्रदीप ज्ञवाली « Khabarhub

पूर्वराष्ट्रपतिको सदस्यता नवीकण हुँदैन, एमालेको भावी अध्यक्ष ओली नै : प्रदीप ज्ञवाली


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका छन् । 

शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित विधान महाधिवेशनबारेको अन्तरसंवाद कार्यक्रममा बोल्दै ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकोले अब भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने बताएका हुन् । 

उनले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनीत जुनसुकै पदमा भए पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुनेबित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने उल्लेख भएको भन्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि त्यहीबेला नै निष्क्रिय भएको बताए ।

ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेलामा बोल्ड लिडर आवश्यक पर्ने र त्यो केपी शर्मा ओली नै भएको दाबी गरे । 

उनले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने बताए । ज्ञवालीका अनुसार आगामी असोज २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २ हजार ३ सय ५० जना सहभागी हुनेछन् । 

यदि विधान महाधिवेशनमा कुनै कुरा टुङ्गोमा पुर्‍याउन मतदान गर्नुपर्ने स्थिति आएमा दशौँ महाधिवेशनमा भाग लिएका २ हजार ३३ जनाले मतदान गर्ने उनले जानकारी दिए ।

जनताको बहुदलीय जनवाद (जबज) को विकल्प एमालेले खोज्न थालेको भनेर टिप्पणी भइरहेकोमा ज्ञवालीले आपत्ति जनाए । 

उनले मार्क्सवाद–लेनिनवादलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने क्रममा यसको सृजनात्मक प्रयोगको रूपमा एमालेले जबज ल्याएको र नेपालको सन्दर्भमा मार्क्सवाद भनेकै जबज भएको स्पष्ट पारे । 

ज्ञवालीले पाँचौँ महाधिवेशनमा कार्यक्रम भने पनि सिद्धान्तका आधारहरू रहेको, छैटौँ महाधिवेशनमा निर्देशक विचारको रूपमा सबै विचारहरूलाई मार्गदर्शन गरेको, सातौँमा त्यसैलाई निरन्तरता दिएको, आठौँमा मार्गदर्शक सिद्धान्त भनेको, नवौँमा २० वर्षको अभ्यासले जबज कसरी सही प्रमाणित भयो भन्ने छलफल गरेको बताए ।

दशौँमा महाधिवेशनमा त्यसलाई अझ माथि उठाएको उनले बताए । यहीकारण जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा थप पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।

उनले यस महाधिवेशनमा जबजले सामन्तवादको अन्त्य गर्न, निरंकुश राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सामाजिक न्याय, समावेशीता र मौलिक अधिकारसहितको प्रणाली स्थापित गर्न, समाजवादउन्मुख संविधान निर्माण गर्न मार्गदर्शन गरेको विषयमा जोड दिइने बताए । 

ज्ञवालीले जबजको यात्रा यहाँ मात्रै नरोकिने भन्दै अब समृद्धिको यात्रामा जान जबजलाई समयाअनुकूल विकास गर्नुपर्ने बताए । यस विकासको क्रममा लोकतान्त्रीकरणका कुराहरू पनि थप गर्न खोजिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : १५ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा