रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल « Khabarhub

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल



काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा पेस गरेको नामावलीका आधारमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशका ७७ मध्ये १९ जिल्लामा मात्रै बढी मत प्राप्त गर्न सकिने अनुमान गरेको देखिएको छ ।

एउटा पार्टीले समानुपातिकतर्फको बन्दसूचीमा ११० जनाको नाम पेस गर्न सक्नेमा रास्वपाले भने १९ वटा जिल्लाबाट मात्रै ८८ जनाको नाम पेस गरेको छ । जसमा अधिकांश सहरीया र केही बढी मत भएका पहाडी जिल्ला रहेका छन् ।

रास्वपाले चितवन जिल्लाबाट मात्रै समानुपातिकतर्फ २१ जनाको नाम बन्दसूचीमा समावेश गरेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाबाट ०७९ मंसिरमा भएको निर्वाचनमा रास्वपाले दुई सिट जितेको थियो भने एक सिट राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको थियो ।

चार लाख ८२ हजार मतदाता रहेको चितवनलाई रास्वपाले पहिलो प्राथमिकता दिएर समानुपातिक सूचीमा महत्व दिएको देखिन्छ ।

त्यस्तै, रास्वपाले ७ लाख ८३ हजार बढी मतदाता रहेको मोरङ जिल्लालाई रास्वपाले दोस्रो प्राथमिकता दिएको छ । छ वटा निर्वाचन क्षेत्र भएको सो जिल्लाबाट ०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भने रास्वपाले एक सिट पनि जित्न सकेको थिएन ।

काठमाडौं उपत्यका र तराईका केही जिल्लामा रास्वपाको बढी आशा

रास्वपाले तराईका केही जिल्ला र काठमाडौं उपत्यकाबाट बढी मतको अपेक्षा गरेको उसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूचीले देखाएको छ । रास्वपाले १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट पाँच जना, तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरबाट चार जना र दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरबाट तीन जनाको नाम बन्दसूचीमा पेस गरेको छ ।

रास्वपाले तराई क्षेत्रका ३ जिल्ला सिरहा, सप्तरी र सुनसरीलाई पनि बढी प्राथमिकता दिएको देखिन्छ । ती जिल्लाबाट रास्वपाले समान पाँच जनाको नाम समानुपातिकको बन्दसूचीमा पेस गरेको छ । त्यस्तै, महोत्तरीबाट चार र धनुषाबाट तीन जनाको रास्वपाले बन्दसूचीमा पेस गरेको छ ।

साथै, रास्वपाले सिन्धुपाल्चोक, कास्की, ताप्लेजुङ, दाङ, कञ्चनपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सुर्खेत र कपिलवस्तु जिल्लाबाट समान दुई जनाको नाम बन्दसूचीमा पेस गरेको छ ।

इलाम, स्याङ्जा, हुम्ला, गोरखा, खोटाङ, रुकुम, म्याग्दी, झापा, रूपन्देही, नुवाकोट, भोजपुर, पाँचथर, बारा र बाँके जिल्लाबाट भने रास्वपाले १/१ जनाको नाम मात्रै बन्दसूचीमा पेस गरेको छ ।

यी जिल्लामा रास्वपाद्वारा मतको आशा कम

रास्वपाले देशका अधिकांश जिल्लाबाट मतको आशा कम गरेको बन्द सूचीको नामावलीले देखाएको छ । रास्वपाले सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लाको प्रतिनिधित्व गर्नेगरी दुई जनाको नाम सिफारिस गरेको छ भने बाँकी जिल्लाबाट प्रतिनिधित्व शून्य छ ।

पेस गरेको बन्दसूचीमा आठ जना व्यक्तिको ठेगाना नलेखिएको बाहेक कोशी प्रदेश अन्तर्गतका धनकुटा, तेह्रथुम, संखुवासभा र उदयपुर जिल्लाको प्रतिनिधित्व रास्वपाको बन्दसूचीमा देखिँदैन । मधेश प्रदेश अन्तर्गतका सर्लाही, रौतहट र पर्सा जिल्लाको प्रतिनिधित्व छुटेको छ भने बागमती प्रदेश अन्तर्गतको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, धादिङ र मकवानपुरको प्रतिनिधित्व छुटेको देखिन्छ ।

त्यस्तै, रास्वपाले समानुपातिकतर्फ गण्डकी प्रदेश अन्तर्गत लमजुङ, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, बागलुङ र नवलपुर जिल्ला छुटाएको छ भने लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी पश्चिम, प्युठान, रोल्पा, रुकुम पूर्व र बर्दिया जिल्ला छुटाएको छ ।

कर्णाली प्रदेश अन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, दैलेख र जाजरकोट तथा सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम र कैलालीको प्रतिनिधित्व रास्वपाले समानुपातिक सूचीमा छुटाएको छ ।

रास्वपालाई बन्दसूचीको छनौटले नकारात्मक प्रभाव पर्नसक्ने संकेत

रास्वपाले बन्दसूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाउँदा नेता तथा कार्यकर्ता र जनपरिचालनमा समस्या पर्नसक्ने सामान्य अनुमान गर्न सकिन्छ । साथै, समानुपातिक सूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुट्दा पार्टीभित्र असन्तुष्टी पनि बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

जसले गर्दा, आगामी निर्वाचनमा पुराना तथा परम्परागत दललाई चुनौती दिने घोषणा गरेको रास्वपा पार्टीले प्राप्त गर्ने मत घट्ने र प्रतिनिधिसभामा उपस्थितिको आकारलाई संकुचित हुनसक्ने समेत अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : ४७ बजे

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको