काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनअघि पूर्वी नेपालका पहिचानवादी युवा नेता थिए उपार्जुङ चाम्लिङ । जेन-जी आन्दोलनका बेला उनी परिवर्तनको पक्षमा खटे । अहिले उनी सुदन गुरुङको समूह काउन्सिल अफ जेन-जीमा जोडिएका छन् । गुरुङले हरेकजसो राजनीति गतिविधिहरूमा उपार्जुङलाई लिएर हिँडेको देखिन्छ । उपार्जुङ कोशी प्रदेश काउन्सिल अफ जेन-जीका संयोजकसमेत छन् ।
अहिले सबै जेन-जीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएको चर्चा छ । बालेन्द्र साह, रवि लामिछाने र कुलमान मिलेपछि सबै जेन-जीहरू त्यहीँ गएको भन्ने तर्क भइरहेको छ । तर, उपार्जुङ यो कुरालाई स्वीकार गर्दैनन् । उनी जेन-जीहरूले राजनीति, सैद्धान्तिक सहमति पत्र तयार पारिरहेको बताउँछन् । त्यो राजनीति सहमतिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी र कुन रूपले कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाउँछ, त्यसपछि मात्रै तीनवटा जेन-जी समूह राजनीति दलमा जाने-नजाने निर्णयमा पुग्ने उनी बताउँछन् ।
नेपाल जेन-जी फ्रन्ट, काउन्सिल अफ जेन-जी र जेन-जी मुभमेन्ट अलायन्सले आन्दोलनलाई संस्थागत गर्न आफ्ना मागहरू कार्यान्वयन गराउने सन्दर्भमा रास्वपासँग सहमतिको लागि काम गरिरहेको उनी दाबी गर्छन् । भन्छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र पनि जेज-नी हुन् । उनी र अन्य जेन-जीलाई एउटै रूपमा व्याख्या गर्न मिल्दैन । जेन-जी भनेको उमेर समूह हो ।’
उपार्जुङ हिटलर र महात्मा गान्धीको उदाहरण दिँदै भन्छन्, ‘जेन-जी पुस्ता कुनै पार्टीमा देख्नुभयो भने त्यसकै आधारमा प्रश्न गर्नु उचित हुँदैन । हामीले राजनीति सहमतिको लागिमस्यौदा तयार गरिरहेका छौँ । त्यसलाई बोक्ने हैसियत रास्वपाले देखाउँछ भने हामी जान्छौँ । अरू साथीहरू पनि जानुहोला । त्यसअघि कुनै सहमतिबिना रास्वपामा जाने कुरा असम्भव छ ।’
उपार्जुङले पुस १४ गते बालेन कुलमान घिसिङको उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी मिल्दा एउटा प्रस्ताव राखेको बताए । त्यस प्रस्ताव अनुसार काम गरिरहेको सुनाउँदै भन्छन्, ‘हिजोमात्रै हामीले बालेन र कुलमानसँग एउटा प्रस्ताव राखेका छौँ । जसरी यहाँहरूले रास्वपासँग सम्झौता गर्नुभयो, त्यसरी नै जेन-जीसँग पनि हुनुपर्छ । हाम्रा पनि केही एजेन्डा छन्, ती एजेन्डा बोक्न सक्ने काँध यहाँहरूसँग छ भनेमात्रै मिल्छौँ भनेका छौँ ।’
सबै नयाँ शक्ति मिलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘बहुमत आउँछ भन्ने धेरै युवा मतदाताको विश्लेषण छ । तर, हामीचाहिँ के भन्छौँ भने जेन-जीको विषयमा पार्टीले कस्तो सम्झौता गर्छ, कस्तो धारणा बनाउँछ ? त्यसमै बहुमत आउने-नआउने भर पर्छ।’
चाम्लिङसँग हामीले रवि, बालेन, कुलमान र सुदन गुरूङसहितको सम्झौता आगामी दिनको योजना, देशको राजनीति अवस्थाबारे जेन-जीको धारणा लगायतका विषयमा कुराकानी गरेका छौँ ।
वैकल्पिक शक्ति मिलाउन जेन-जीहरू पनि खटेको देखियो, अबको मिसन के हो यहाँहरूको ?
निर्वाचन चाहिँ प्रगतिशीलको पक्षमा हुनुपर्छ । परिवर्तन चाहनेहरूको पक्षमा हुनुपर्छ । चुनाव परिवर्तन चाहनेको पक्षमा हुने हो । परिवर्तनको चेतना भएकाको पक्षमा पनि हुने हो । यसमा अझै ख्याल गर्न बाँकी छ । हाम्रो मिसन त्यही हुन्छ । चुनाव जित्ने कुरा खासै ठूलो भएन । त्योभन्दा ठूलो मिसन चेतनशीलले जित्न सक्ने, आन्दोलनको रक्षा गर्छु भनेर विश्वास दिलाउनेले जित्ने हुनसक्छ ।
यसमा देशभरका मतदाताले कस्तो कमिटमेन्ट गर्नुपर्छ ?
उहाँहरूले मत हालेर ४ वर्ष पाँच वर्ष पछुताउदिनँ भन्ने प्रतिबद्धता गरे पुग्छ । त्यसमा धेरै व्याख्या गर्नुपरेन ।
यहाँको भनाइको आशय पुराना दललाई मत नदेऊ भन्ने हो ?
होइन, म फेरि नयाँ र पुराना भन्ने भाष्यमा त्यति धेरै मज्जा लिन्न । तर वैचारिक र मुद्दाका हिसाबले सकेसम्म नयाँलाई प्राथमिकता राख्दा अन्याय हुँदैन । नयाँ भन्नेबित्तिकै सबै विकल्प हुने, पुरानो हुनेबित्तिकै शत्रु हुने लाइनमा हामी हुनुहुँदैन भन्ने लाग्छ ।
जेन-जी आन्दोलनपछि चर्चित चार पात्र बालेन, कुलमान, सुदन र ०७९ को निर्वाचनमा वैकल्पिक धारका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी एक ठाउँमा आएकका छन् । यसलाई कसरी हेर्नुभएको छ ? सुदन त यहाँको नेता पनि हो ?
सुदन हाम्रोभन्दा पनि जेन-जी आन्दोलनको नेता हो । चारजना एक ठाउँमा आउनु मुलुकको आवश्यकता हो । कुन मानेमा भने भदै २३ र २४ पछिको मुलुकको आवश्यकता परिवर्तन र आक्रोशको सम्बोधन र समाधान चाहिएको छ । अहिले त्यो आन्दोलनलाई हेर्ने नजरको आवश्यकता हो । एउटै दृष्टिकोण भएका व्यक्ति एकै ठाउँ भएको राम्रो हो । समान विचार भएकाहरू एकै ठाउँमा आउनु स्वाभाविक हो । त्यसमा हामी सबैको भूमिका थोरबहुत रह्यो । तर उहाँहरू नै मतदातालाई डिभाइड नगराऔँ भन्ने पक्षमा हुनुन्थ्यो । त्यही भएर एकता सम्भव भयो ।

यो एकताका लागि सुदन गुरुङले भूमिका खेल्नुभयो, उहाँले अरू स्वार्थ राख्नुभएको छ पनि भन्छन्, कसैबाट परिचालित हो पनि भन्छन् नि ?
सँगै काम गरेको भन्दैमा उहाँको सबै कुराको जिम्मा म लिन सक्दिनँ । तर उहाँको स्वार्थ देश प्रगतिशील होस्, जनताले दुःख नपाउन् भन्ने हो । उहाँमा देश विकास र जनताको जीविकामा परिवर्तन गर्ने उत्कट चाहना छ । उहाँलाई मात्रै होइन, अहिलेको समयमा सबैलाई के लाग्छ भने युवा वर्ग मिल्नुपर्छ । त्योचाहिँ उहाँको मात्रै होइन, सबैको चाहना हो । वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने कुरालाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने लाग्छ।
के सबै जेन-जी राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका हुन् ?
होइन, जेन-जी सबै एउटै विचारसँग छैनन् । त्यो स्वाभाविक हो । यो पुस्ताको कुरा पनि हो । हिजो मात्रै हामीले रवि, बालेन र कुलमानसँग एउटा प्रस्ताव राखेका छौँ । जसरी यहाँहरूले रास्वपासँग सम्झौता गर्नुभयो, त्यसरी नै जेन-जीसँग पनि राजनीतिक सहमति हुनुपर्छ । हामीसँग पनि केही एजेन्डा छन् । ती बोक्न सक्ने काँध तपाईँहरूसँग हुन्छ भनेमात्रै सँगै जान्छौँ भन्ने हाम्रो कुरा छ ।
के के तयारी गर्नुभएको छ सम्झौताका लागि ?
हामी मस्यौदा तयार गरिरहेका छौँ । सहमतिको मस्यौदामा उहाँहरूको सहमति रहन्छ, त्यसलाई बोक्नसक्ने हैसियत देखाउनुहुन्छ भने जान्छौँ । अरू साथीहरू पनि जानुहुन्छ । त्यसअगाडि कुनै बिनासम्झौता जाने कुरा असम्भव छ ।
राजनीति सहमतिको मस्यौदा क-कसले बनाउँदै हुनुहुन्छ ?
मुख्यतः हामीले आन्दोलनलाई अपव्याख्या हुनबाट बचाउन वास्तविक व्याख्या गर्दै, जुन नेपाल सरकारसँग सम्झौता गरेका छौँ, नेपाल जेन-जी फ्रन्ट, काउन्सिल अफ जेन-जी र जेन-जी मुभमेन्ट अलायन्स बसेर तयारी गरिरहेका छौँ ।
त्यसो भए तीन वटा जेन-जी समूह राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भए भन्दा अन्यथा हुन्छ ?
हो, त्यहाँ केही जानुभयो होला । तर हामी सबै जेन-जीहरू रास्वपामा सामूहिक प्रवेश गरेका छैनौँ।
लिखित सहमति नगरी जान विश्वास भएन है ?
लिखित भएपछि मात्र जान्छौँ । हामीसँग नेपाल सरकारसँगका सम्झौता पनि छन् । सँगसँगै मुलुकका विगतका उपलब्धिहरूप्रति हाम्रो उपस्थिति कहाँ हुन्छ । ती उपलब्धिलाई हामीले कसरी विश्लेषण र व्याख्या गछौँ । त्यसलाई हामीले लिने कसरी ? अधिकार सम्पन्न गराउने सन्दर्भमा, कार्यान्वयन र सबलीकरणको सन्दर्भमा हाम्रो उपस्थिति कहाँ रहन्छ भन्ने कुरा हामी लिन्छौँ ।
ती कुराहरूमा जनताको सामाजिक न्यायको, तल्लो वर्गका कुरा कसरी एडजस्ट गर्छ भन्नेमा पनि हाम्रो चासो रहन्छ । यी कुरामा उहाँहरूको सकारात्मक स्वीकारोक्ति र जवाफ आएको सन्दर्भमा मात्रै हामी लगायत जेन-जी साथीहरू प्रवेश गर्ने अवस्था रहन्छ ।
केही साथीहरूको त समानुपातिकमा नाम देखियो नि ! उहाँहरूलाई छोड्या हो ?
जेन-जी त पुस्ता हो । पूर्व राजाका नाति हृदयेन्द्र शाह पनि उमेरको हिसाबले जेन-जी हो नि । तर कस्तो किसिमको भन्ने प्रश्न आउला, उहाँको जिम्मा लिन सकिएन नि !पुस्ताको कुरा गर्दा हिजो २० औँ शताब्दीको पहिलो दशकतिर दक्षिणतिर अहिंसावादी आन्दोलनबारे बोल्दब ेहुनुहुन्थ्यो महात्मा गान्धी ।
त्यसैबेला ६० लाख यहूदीहरूलाई पोल्दै गरेको हिटलर पनि थियो । दुवै एउटै पुस्ताका व्यक्ति हुन्। जेन-जी पुस्ता कुनै पार्टीका देख्नुभयो, त्यसकै आधारमा चाहिँ सबै जेन-जी त्यहाँ देखिए त खै तपाईँहरू ? भन्ने प्रश्न उचित हुँदैन । न्ययोचित हुँदैन ।
अन्तिममा यहाँहरू पनि राजनीति सहमतिपछि रास्वपा जाने सम्भावना रहला, यहाँहरूलाई के लाग्छ, बहुमत आउँछ ?
बहुमत आउँछ भन्ने धेरै युवा मतदाताको विश्लेषण छ । विश्वास पनि छ । हामीले भन्ने कुरा चाहिँ हाम्रो जेन-जीको विषयमा पार्टीले कस्तो विचा र धारणा बनाउँछ, त्यसमा भर पर्छ । अहिले त आन्दोलनलाई संस्थागत गरेर स्वीकारिदिने कुरा प्रमुख हो । जेन-जीसँग राजनीतिक सहमतिपछि यसको व्याख्या उचित होला कि ?
विश्वास चाहिँ गरिहाल्ने अवस्था छैन है ?
आशावादी छौँ । निराश हुने वातावरण पक्कै नबन्ला ।













प्रतिक्रिया