बिरामीको एउटै परीक्षण दोहोर्‍याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने  | Khabarhub Khabarhub

बिरामीको एउटै परीक्षण दोहोर्‍याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् ।

हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।

सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्तर्गत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ । त्यसो भएमा बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

‘रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘बिरामीको खर्च र परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन नयाँ व्यवस्थाले सघाउ पुर्‍याउने अपेक्षा गरेका छौँ ।’ 

मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ले एकीकृत अभिलेखन गर्दा सेवा प्रदायक तथा सेवाग्राही दुवै कागजी झण्डझटबाट जोगिनुका साथै अर्को पटक पुनः सेवा लिन आउँदा पहिलेकै रेकर्डका आधारमा उपचार हुने भएकाले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह चुस्त र शुलभ हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

हाल विद्युतीय प्रणाली अस्पतालहरूमा लागू भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्ने खालका छैनन् । यसले गर्दा बिरामीले पटक पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा गरिएको प्रवक्ता बुढाथोकीले बताए । 

अब स्वास्थ्य संस्थाहरूले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ ।

प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वास्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा छ । 

बिरामीको चिकित्सकीय सेवाबापतको भुक्तानी समेत अनलाइन हुने व्यवस्था गरिएको छ । प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ ।

मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संल्गन स्वास्थ्यकर्मीबाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानून बमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ । नागरिकका स्वास्थ्य समस्याका जानकारीका आधारमा राज्यले लिने नीति र कार्यक्रममासमेत एकीकृत प्रणालीले मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

मन्त्रालयले यस प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाई बेग्लै एकाइ परिकल्पना गरिएको छ ।

साथै संघीय तहमा मन्त्रालयले अतिरिक्त सचिवको नेतृत्वमा निर्देशक समिति गठन गरेर प्रणालीको अनुगमन तथा समस्या समाधानमा भूमिका खेल्ने निर्देशिकाले परिकल्पना गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ०५ बजे

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका

नेतन्याहूको भाषण बहिष्कार गरेर राष्ट्र संघ महासभाबाट बाहिरिए दर्जनौँ देशका प्रतिनिधि

न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,