नेपाल प्रेस युनियन मोरङ : संगठन कि सत्ता ? | Khabarhub Khabarhub

नेपाल प्रेस युनियन मोरङ : संगठन कि सत्ता ?



नेपाल प्रेस युनियन मोरङसँग मेरो औपचारिक यात्रा २०७६ सालदेखि सुरु भयो । भोजराज बस्नेतको नेतृत्वमा गठन भएको समितिमा म पहिलोपटक जिल्ला कार्यसमिति सदस्यका रूपमा समावेश भएँ । पत्रकार हितका मुद्दा उठाउने, संगठन विस्तार गर्ने र साझा नेतृत्वको अभ्यास गर्ने हाम्रो उद्देश्य थियो । तर, संगठनमा प्रवेशसँगै सिकाइको यात्रा पनि सुरु भयो — जहाँ आदर्श र यथार्थबीचको अन्तरलाई नजिकबाट बुझ्न पाएँ ।

२०७८ सालको नेपाल पत्रकार महासंघ निर्वाचन नजिकिँदै गर्दा युनियनभित्र राजनीतिक स्पन्दन तीव्र भयो । शंखर खरेल दाइलाई अध्यक्षका रूपमा अघि सार्ने निर्णय भयो । तर त्यो निर्णय युनियनको विधिवत् प्रक्रिया अनुरूप नभई वैकल्पिक बैठकबेलबारीको वेतना सिमसार—बाट गरियो । यहीँबाट युनियन दुई धारमा विभाजित भयो । शंखर दाइ देउवा समूहतर्फ थिए । र, म पनि त्यही धारतिर आकर्षित भएँ ।

निर्वाचनमा हारको सामना गरेपछि हामीले हारको कारण अन्तर्घात भनेर विश्लेषण गर्‍याैं तर, त्यससँगै संगठनभन्दा गुट बलियो हुँदै गएको संकेत पनि स्पष्ट देखियो । त्यसपछि हामीले उपाध्यक्ष कौशल निरौलालाई कार्यवाहक अध्यक्षको रूपमा अघि सार्‍यौं । नेतृत्व दुईतर्फी भयो— एक मौन, अर्को सक्रिय । करिब एक वर्षसम्म युनियन नेतृत्वको द्विविधामा अलमलियो । अन्ततः केन्द्रले कार्यवाहक अध्यक्षलाई मान्यता दिएपछि विवाद केही मथ्थर भयो । र, सहमतिमा दुवै नेताको संयोजनसहित युनियन फेरि एकीकृत बन्यो ।

यसबीच मेरो संगठनात्मक दृष्टिकोण परिष्कृत हुँदै गयो । गुटभन्दा माथि उठेर सहकार्यको बाटो खोज्ने प्रयास गरें । फेरि भोजराज दाइसँग सहकार्य सुरु भयो । केही कार्यक्रममा साथ दिँदै विश्वास निर्माण गर्न चाहें — र त्यो प्रयास सफल पनि बन्यो ।

तर, २०७९ सालको स्थानीय निर्वाचनपछि देउवा समूहप्रति मेरो विश्वास खस्किँदै गयो । त्यसपछि म कोइराला समूहतिर उन्मुख भएँ । विगतमा विद्रोहीको पहिचान बनिसकेको हुँदा त्यो समूहमा विश्वास प्राप्त गर्नु सजिलो थिएन । त्यसैले गुट परिवर्तन गर्दै गर्दा आत्मविश्वास त थियो, तर सँगै चिसोपन पनि थियो ।

२०८० को युनियन निर्वाचन फेरि एउटा महत्वपूर्ण मोड बन्यो । कोइराला समूहभित्र पनि दुई धार थिए— केदार कार्की र नागेश कोइराला । म नागेश दाइको समूहमा लागेँ । वेदराज पौडेल अध्यक्षमा र म स्वयम् कोषाध्यक्षमा उम्मेदवार भएँ । निर्वाचनमा बहुमत स्थानमा हामी विजयी भयौं । त्यसपछि, पहिलोपटक म कोइराला निवासमा प्रवेश गरेँ— अब म गुटको ‘आधिकारिक सदस्य’ भइसकेको थिएँ ।

तर, विजयसँगै जिम्मेवारी मात्रै आएन, असहजता पनि थपियो । युनियनभित्र राजनीतिक हस्तक्षेप अझ स्पष्ट रूपमा देखिन थाल्यो । संगठनभन्दा गुट विशेषका हितमा क्रियाशील केही पात्रहरूको सक्रियता बढ्न थाल्यो । यद्यपि केही संरचनागत अभ्यास सुध्रिए पनि संस्थाको आत्मनिर्भरता अझै दूरको सपना थियो ।

महासंघ निर्वाचनको तयारीका क्रममा युनियनले बैठक बोलाएर भोजराज बस्नेतलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो । प्रक्रिया अनुशासित थियो । सामूहिकताको अभ्यास भइरहेको थियो । तर त्यो अनुशासन लामो टिक्न सकेन । कोइराला निवासबाट आदेश आएपछि युनियनको निर्णय उल्ट्याइयो । कांग्रेस मोरङले सुशीला पाठकलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । यसको प्रभावस्वरूप युनियन अध्यक्ष वेदराज पौडेल र सचिव गोपाल पोखरेल ‘कोइराला गुट’ को निर्देशनमा चल्न बाध्य भए । पारदर्शी निर्णय प्रक्रिया एकाएक विघटित भयो ।

संगठनमा लामो समयदेखि क्रियाशील साथीहरू, अनुशासनमा काम गरिरहेका पदाधिकारीहरू र निस्वार्थ योगदान दिने कार्यकर्ताहरूले त्यो निर्णय आत्मसात् गर्न सकेनन् । कतिपय बागी बने, कतिपय निष्क्रिय । र, कतिपय गुटभित्रको दबाबले मौन रहन बाध्य भए ।

यी सबै प्रक्रियाले मलाई गहिरो प्रश्न गर्न बाध्य बनायो — के हामी संगठन निर्माण गर्दैछौं ?, वा केवल गुट संरक्षित सत्ता व्यवस्थापन गर्दैछौं ?

नेपाल प्रेस युनियनजस्तो संस्था पत्रकारहरूको साझा आवाज हो—कुनै गुट विशेषको आदेशपालक यन्त्र होइन । तर आज, संस्था कमजोर पारिँदैछ । पदाधिकारीहरूको आत्मसम्मान अपमानित हुँदैछ । र, सक्षम नेतृत्वको मूल ढोका बन्द भइरहेका छन् ।

हिजो संगठनको सपना देख्नेहरू आज परिधिमा छन् । गुट अनुकूलता नै मूल्य बनिसकेको छ । यसरी संस्थामा खुला राजनीतिक हस्तक्षेप र निर्णय प्रक्रियामा बाँकी पदाधिकारीहरूलाई निष्क्रिय तुल्याइनु दीर्घकालीन रूपमा प्रेस स्वतन्त्रताको मर्म र पत्रकार समुदायकै विश्वासमाथि चोट हो ।

संगठनलाई गुट–उपगुटमा विभाजन गरेर आफूलाई बलियो बनाउने प्रवृत्ति अब बन्द हुनु जरुरी छ । नेताहरूले पत्रकारलाई गोटी होइन, स्वतन्त्र निर्णय गर्न सक्ने सक्षम व्यक्ति ठान्नुपर्छ । पेशागत रूपमा पत्रकारलाई बलियो बनाउन, हस्तक्षेप होइन, स्वविवेकमा निर्णय गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।

आज पत्रकारिता पेशा नै संकटमा छ— विज्ञापनको अभाव, ठूला प्रकाशन संस्थाहरूको सीमितता, र पत्रकारहरूको बेरोजगारीले पेशाको अस्तित्व संकटमा पारेको छ । बढ्दो विस्थापनले धेरै पत्रकार पेसा छाडेर विदेशिने अवस्था सिर्जना भएको छ । यस सन्दर्भमा नेताहरूले पत्रकारिताको स्वतन्त्रता, सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने नीतिगत कदम चाल्नुपर्छ— न कि पत्रकारलाई आफ्नो स्वार्थपूर्तिका लागि गोटी बनाउने गलत अभ्यासलाई निरन्तरता दिनु ।

हामीले जुन संगठनात्मक अनुशासन, सहमति र पारदर्शिता निर्माण गर्न थालेका थियौं, त्यसलाई गुटीय हस्तक्षेपले ध्वस्त पारिदिएको छ । यदि हामी अझै समयमै सचिएनौं भने संगठनको आत्मा गुम्नेछ— र, बाँकी रहनेछ केवल गुट, गुट, अनि गुट ।

अब पनि समय छ— संगठनलाई गुटको मोहबाट मुक्त गरौं ।

पोखरेल, नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : २७ बजे

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं – सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका