नेपाल प्रेस युनियन मोरङ : संगठन कि सत्ता ? | Khabarhub Khabarhub

नेपाल प्रेस युनियन मोरङ : संगठन कि सत्ता ?



नेपाल प्रेस युनियन मोरङसँग मेरो औपचारिक यात्रा २०७६ सालदेखि सुरु भयो । भोजराज बस्नेतको नेतृत्वमा गठन भएको समितिमा म पहिलोपटक जिल्ला कार्यसमिति सदस्यका रूपमा समावेश भएँ । पत्रकार हितका मुद्दा उठाउने, संगठन विस्तार गर्ने र साझा नेतृत्वको अभ्यास गर्ने हाम्रो उद्देश्य थियो । तर, संगठनमा प्रवेशसँगै सिकाइको यात्रा पनि सुरु भयो — जहाँ आदर्श र यथार्थबीचको अन्तरलाई नजिकबाट बुझ्न पाएँ ।

२०७८ सालको नेपाल पत्रकार महासंघ निर्वाचन नजिकिँदै गर्दा युनियनभित्र राजनीतिक स्पन्दन तीव्र भयो । शंखर खरेल दाइलाई अध्यक्षका रूपमा अघि सार्ने निर्णय भयो । तर त्यो निर्णय युनियनको विधिवत् प्रक्रिया अनुरूप नभई वैकल्पिक बैठकबेलबारीको वेतना सिमसार—बाट गरियो । यहीँबाट युनियन दुई धारमा विभाजित भयो । शंखर दाइ देउवा समूहतर्फ थिए । र, म पनि त्यही धारतिर आकर्षित भएँ ।

निर्वाचनमा हारको सामना गरेपछि हामीले हारको कारण अन्तर्घात भनेर विश्लेषण गर्‍याैं तर, त्यससँगै संगठनभन्दा गुट बलियो हुँदै गएको संकेत पनि स्पष्ट देखियो । त्यसपछि हामीले उपाध्यक्ष कौशल निरौलालाई कार्यवाहक अध्यक्षको रूपमा अघि सार्‍यौं । नेतृत्व दुईतर्फी भयो— एक मौन, अर्को सक्रिय । करिब एक वर्षसम्म युनियन नेतृत्वको द्विविधामा अलमलियो । अन्ततः केन्द्रले कार्यवाहक अध्यक्षलाई मान्यता दिएपछि विवाद केही मथ्थर भयो । र, सहमतिमा दुवै नेताको संयोजनसहित युनियन फेरि एकीकृत बन्यो ।

यसबीच मेरो संगठनात्मक दृष्टिकोण परिष्कृत हुँदै गयो । गुटभन्दा माथि उठेर सहकार्यको बाटो खोज्ने प्रयास गरें । फेरि भोजराज दाइसँग सहकार्य सुरु भयो । केही कार्यक्रममा साथ दिँदै विश्वास निर्माण गर्न चाहें — र त्यो प्रयास सफल पनि बन्यो ।

तर, २०७९ सालको स्थानीय निर्वाचनपछि देउवा समूहप्रति मेरो विश्वास खस्किँदै गयो । त्यसपछि म कोइराला समूहतिर उन्मुख भएँ । विगतमा विद्रोहीको पहिचान बनिसकेको हुँदा त्यो समूहमा विश्वास प्राप्त गर्नु सजिलो थिएन । त्यसैले गुट परिवर्तन गर्दै गर्दा आत्मविश्वास त थियो, तर सँगै चिसोपन पनि थियो ।

२०८० को युनियन निर्वाचन फेरि एउटा महत्वपूर्ण मोड बन्यो । कोइराला समूहभित्र पनि दुई धार थिए— केदार कार्की र नागेश कोइराला । म नागेश दाइको समूहमा लागेँ । वेदराज पौडेल अध्यक्षमा र म स्वयम् कोषाध्यक्षमा उम्मेदवार भएँ । निर्वाचनमा बहुमत स्थानमा हामी विजयी भयौं । त्यसपछि, पहिलोपटक म कोइराला निवासमा प्रवेश गरेँ— अब म गुटको ‘आधिकारिक सदस्य’ भइसकेको थिएँ ।

तर, विजयसँगै जिम्मेवारी मात्रै आएन, असहजता पनि थपियो । युनियनभित्र राजनीतिक हस्तक्षेप अझ स्पष्ट रूपमा देखिन थाल्यो । संगठनभन्दा गुट विशेषका हितमा क्रियाशील केही पात्रहरूको सक्रियता बढ्न थाल्यो । यद्यपि केही संरचनागत अभ्यास सुध्रिए पनि संस्थाको आत्मनिर्भरता अझै दूरको सपना थियो ।

महासंघ निर्वाचनको तयारीका क्रममा युनियनले बैठक बोलाएर भोजराज बस्नेतलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो । प्रक्रिया अनुशासित थियो । सामूहिकताको अभ्यास भइरहेको थियो । तर त्यो अनुशासन लामो टिक्न सकेन । कोइराला निवासबाट आदेश आएपछि युनियनको निर्णय उल्ट्याइयो । कांग्रेस मोरङले सुशीला पाठकलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । यसको प्रभावस्वरूप युनियन अध्यक्ष वेदराज पौडेल र सचिव गोपाल पोखरेल ‘कोइराला गुट’ को निर्देशनमा चल्न बाध्य भए । पारदर्शी निर्णय प्रक्रिया एकाएक विघटित भयो ।

संगठनमा लामो समयदेखि क्रियाशील साथीहरू, अनुशासनमा काम गरिरहेका पदाधिकारीहरू र निस्वार्थ योगदान दिने कार्यकर्ताहरूले त्यो निर्णय आत्मसात् गर्न सकेनन् । कतिपय बागी बने, कतिपय निष्क्रिय । र, कतिपय गुटभित्रको दबाबले मौन रहन बाध्य भए ।

यी सबै प्रक्रियाले मलाई गहिरो प्रश्न गर्न बाध्य बनायो — के हामी संगठन निर्माण गर्दैछौं ?, वा केवल गुट संरक्षित सत्ता व्यवस्थापन गर्दैछौं ?

नेपाल प्रेस युनियनजस्तो संस्था पत्रकारहरूको साझा आवाज हो—कुनै गुट विशेषको आदेशपालक यन्त्र होइन । तर आज, संस्था कमजोर पारिँदैछ । पदाधिकारीहरूको आत्मसम्मान अपमानित हुँदैछ । र, सक्षम नेतृत्वको मूल ढोका बन्द भइरहेका छन् ।

हिजो संगठनको सपना देख्नेहरू आज परिधिमा छन् । गुट अनुकूलता नै मूल्य बनिसकेको छ । यसरी संस्थामा खुला राजनीतिक हस्तक्षेप र निर्णय प्रक्रियामा बाँकी पदाधिकारीहरूलाई निष्क्रिय तुल्याइनु दीर्घकालीन रूपमा प्रेस स्वतन्त्रताको मर्म र पत्रकार समुदायकै विश्वासमाथि चोट हो ।

संगठनलाई गुट–उपगुटमा विभाजन गरेर आफूलाई बलियो बनाउने प्रवृत्ति अब बन्द हुनु जरुरी छ । नेताहरूले पत्रकारलाई गोटी होइन, स्वतन्त्र निर्णय गर्न सक्ने सक्षम व्यक्ति ठान्नुपर्छ । पेशागत रूपमा पत्रकारलाई बलियो बनाउन, हस्तक्षेप होइन, स्वविवेकमा निर्णय गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।

आज पत्रकारिता पेशा नै संकटमा छ— विज्ञापनको अभाव, ठूला प्रकाशन संस्थाहरूको सीमितता, र पत्रकारहरूको बेरोजगारीले पेशाको अस्तित्व संकटमा पारेको छ । बढ्दो विस्थापनले धेरै पत्रकार पेसा छाडेर विदेशिने अवस्था सिर्जना भएको छ । यस सन्दर्भमा नेताहरूले पत्रकारिताको स्वतन्त्रता, सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने नीतिगत कदम चाल्नुपर्छ— न कि पत्रकारलाई आफ्नो स्वार्थपूर्तिका लागि गोटी बनाउने गलत अभ्यासलाई निरन्तरता दिनु ।

हामीले जुन संगठनात्मक अनुशासन, सहमति र पारदर्शिता निर्माण गर्न थालेका थियौं, त्यसलाई गुटीय हस्तक्षेपले ध्वस्त पारिदिएको छ । यदि हामी अझै समयमै सचिएनौं भने संगठनको आत्मा गुम्नेछ— र, बाँकी रहनेछ केवल गुट, गुट, अनि गुट ।

अब पनि समय छ— संगठनलाई गुटको मोहबाट मुक्त गरौं ।

पोखरेल, नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : २७ बजे

कारोबारसहित ३५ अंकले घट्यो नेप्से 

काठमडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.७३ अंकले घटेको छ

‘चीनले नेपालका वाम दललाई एकैठाउँ देख्न चाहेको छ’

काठमाडौं- गत शनिबार चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा बढ्यो

सिरहा– लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, बिहीबारबाट छायाङ्कन

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘द ब्ल्यू

जात त्यागेर जराको मर्यादा पाएका रसिक

श्रद्धेय व्यक्तित्व गणेश रसिकसँग पचासको दशकमा भोजपुरमा भेट भएको हो