काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’का कलाकार, लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्देशनमा डेब्यू गर्ने पक्का भएको छ ।
फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट उनले फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् । यस फिल्मको बिहीबार ललितपुरको एक मन्दिरमा शुभमुहूर्त गर्दै उनले छायाङ्कन सुरु गरेका हुन् ।
पाँडेका अनुसार यो फिल्मको छायाङ्कन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ । ४५ दिनमा यस फिल्मको छायाङ्कन पूरा गर्ने योजनामा उनी रहेका छन् ।
यस फिल्ममा कलाकार तथा निर्देशक दीपाश्री निरौला, नायक गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आर्चाय (मुन्नी) रमेश उप्रेती लगायतका कलाकार शीर्ष भूमिका रहने बताइएको छ ।
यही फिल्मबाट ९ वर्षपछि नायक गणेशले ठूलो पर्दाको अभिनयमा कमब्याक गर्ने भएका छन् । ‘सक्किगोनि’ टिमबाट प्रियानाको मात्रै यस फिल्ममा अभिनय रहने बताइएको छ ।

पाँडेका अनुसार आवश्यक परेको अवस्थामा फिल्ममा उक्त सिरियलका अन्य कलाकारको प्रवेश हुनेछ । उनले भने, ‘अहिलेको अवस्थामा सिरियलका अन्य कलाकार अनुबन्ध हुने अवस्था छैन ।’
यस फिल्मको कथा कुमार व्यञ्जनकार (कुमार बेन)को हो । अर्जुन घिमिरे, गणेश कार्की र विशाल घिमिरेले पटकथा लेखेका हुन् । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा सुशील कडरियाको लगानी रहनेछ ।
यस फिल्मको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको र्याप गीत समावेश रहने पाँडेले बताएका छन् ।
पाँडे र कुमार कट्टेल (जिग्री)को ब्यानर जेपीटी क्रिएसनले गत वर्ष फिल्म ‘लाज शरणम्’ बनाएको थियो । जिग्रीले निर्देशन गरेको उक्त फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।
प्रतिक्रिया