काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताएका छन् ।
गौरापर्व २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले गौरापर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरे। गौरी–महेश्वरको आराधना गरिने गौरापर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक हो ।
यस पर्वमा पाँच प्रकारका अन्नको मिश्रण ‘बिरुडा’ प्रसादस्वरुप ग्रहण गर्ने परम्परा रहिआएको छ । यस अवसरमा देउडा, धमारीजस्ता लोकनृत्य तथा गीतमार्फत महिला–पुरुष छुट्टाछुट्टै गोलबद्ध भई सामूहिक उत्सवका रूपमा मनाउने चलनले गौरापर्वलाई थप जीवन्त बनाएको छ ।
उपराष्ट्रपति यादवले भनेका छन्, ‘हिन्दू नारीद्वारा सुसौभाग्य, शुद्धता, सुख–शान्ति तथा समृद्धिको कामनासहित मनाइने यो पर्व एक सुसंस्कृत अनुष्ठानमात्र नभई भ्रातृत्व, सहअस्तित्व र मातृभूमिप्रतिको गहिरो प्रेमको अभिव्यक्ति पनि हो, विशेषतः विदेशमा रहेकाहरूले यस पर्वका अवसरमा आफ्नो थातथलोमा फर्केर पूजाआराधना गर्नु माटोप्रतिको उनीहरूको निष्ठा र भावनात्मक सम्बन्धको सशक्त प्रमाण हो ।’
गौरापर्वले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैले एउटै वृत्तमा हातेमालो गर्दै पर्वको उल्लासमा सहभागी हुने परम्पराले सामाजिक समता, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने उनको भनाइ छ ।
उपराष्ट्रपति यादवले चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी, लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकियो भने पर्वहरू राष्ट्र निर्माणका आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया