जेन्जी पुस्ताको प्रेममा अभिभावक नै खलनायक बनेपछि‍... | Khabarhub Khabarhub

जेन्जी पुस्ताको प्रेममा अभिभावक नै खलनायक बनेपछि‍…

सन्तानको स्वतन्त्रताको सम्मान गरौं : समाजशास्त्री



काठमाडौं– प्रेम गर्नेहरुलाई सत्ययुगदेखि आजको वैज्ञानिक युगसम्म विभिन्न बन्देजहरु लाग्दै आएको पाइन्छ । सत्ययुगमा शिव र सतीदेवीले प्रेमकै कारण अवहेलित हुनुपर्‍यो र सतिदेवीले आत्मदाह गरिन् । अहिले कलियुगमा पनि यस्ता घटना यथावत् छन्।
साहित्यमा भ्यालेन्टाइन र रोमियो जुलियटका वियोगान्त कथाहरु पढ्न पाइन्छ । त्यस्तै, वास्तविक समाजमा प्रेमको बाहनामा हिंसाका घटनाहरु हुँदै आएका छन् । र, यसमा अभिभावकहरुको भूमिका बढी जिम्मेवार देखिने गरेको छ ।

नेपालमा जस्तै भारतमा पनि प्रेमका कारण हुने गरेका हत्याका घटना देखिँदै आएका छन् । केही समय अगाडि भारतमा अन्तरजातीय विवाह गरेकै कारण एक पिताले छोरीको हत्या गरेका थिए ।

अभिभावकले आफ्ना छोराछोरीको प्रेम सम्बन्धमा बाधक बन्न खोज्दा आउने नकारात्मक परिणामका केही कहालीलाग्दा दृष्टान्त हेरौं–

घटना एक : ‘प्रेमिका’लाई मारेर सुटकेसमा

दुई साताअघि रौतहटमा सुटकेसभित्र रुबी साहको शव भेटियो । भारतको मुजफरपुरका शिवसागर साहसँग रुबीको विवाह भएको थियो । उनी केही समयदेखि गौरमा आमासँग बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा रुबीको हत्या पूर्वप्रेमी लक्ष्मण पासवानले गरेको खुलेको छ ।

लक्ष्मणले प्रेमिकालाई मारेर सुडकेसमा हालेर सार्वजनिक स्थलमा छाडेका थिए । रुबीको हत्यापछि उनले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे ।

आत्मदाह गर्नुभन्दा अगाडि उनले सामाजिक सञ्जालमा एक भिडियोमार्फत रुबीको हत्या गर्र्नुका पछाडि उनको परिवार मुख्य जिम्मेवार रहेको तर्क गरेका थिए । आफूहरूबीचको प्रेम सम्बन्धमा आफन्तहरुले सम्पत्तिको कारण देखाउँदै आफूहरुलाई एक हुन नदिएको पासवानको भनाइ थियो ।

आफूहरुबीच कक्षा १० मा पढ्दादेखि नै प्रेम भएको पासवानले भिडियोमा बताएका थिए । जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा कोर्ट म्यारिज गरेको पासवानले सामाजिक सञ्जालमा दाबी गरेका थिए ।

तर, रुबीका आफन्त र लक्ष्मणको परिवारबाटसमेत उक्त बिहे अस्वीकार गरिएको पासवानले भिडियोमा बताएका थिए । आफू गरिब रहेकाले रुवीका परिवारले भारतको धनी मानिससँग बिहे गराइदिएको भिडियोमा दाबी गरिएको छ । आफूहरुको प्रेमसम्बन्धमाथि परिवारहरु नै दुश्मन बनेपछि दुवैले मर्ने निधो गरेको उनले भिडियोमा दाबी गरेका छन् ।

यद्यपि दुबैले सामुहिक आत्महत्याको प्रयास भने गरेको देखिँदैन । लक्ष्मणले रुबीको नृशंश हत्या गरेर सुडकेसमा हालेको देखिन्छ ।

पासवाले भिडियोमा आफू जेल जान नचाहेको र रुबीलाई मारेपछि आफ्नो हात कामिरहेको बताएका थिए । उनले रुबी र आफ्नो भेट स्वर्गमा हुनेछ पनि भनेका थिए ।

पासवान आफ्नो शरीरमा रुबीको फोटो र नामको ट्याटुसमेत बनाएको देखिन्छ । माधव नारायण नगरपालिका–६ स्थित खेतमा पासवानलाई जलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा भदौ ११ गते साँझ उनको मृत्यु भयो ।

लक्ष्मण पासवान १४ वर्षअघि रुबीलाई अपहरण गरेको आरोपमा पक्राउ परेका थिए । १४ वर्षको उमेरमै भगाएर भारत लगेको आरोपमा रुबीको परिवारले लक्ष्मणसहित तीनजनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए । उनी त्यतिबेला अपहरण तथा शरीर बन्धक र मानव बेचबिखनमा मुद्दामा १७ दिन हिरासतमा बसेका थिए ।

रुबीको हत्यामा संलग्न लक्ष्मणले उनीसँग प्रेम रहेको दाबी गरे पनि हत्या गरेर सुटकेसमा हाल्ने जुन आपराधिक कार्य गरे, यसले उनलाई ‘प्रेमी’ का रुपमा चित्रित गर्दैन । प्रेम भएको भए उनीहरु पुनः भाग्न सक्थे । अथवा, आफूले माया गरेकी रुबीलाई पासवानले खुशी भएको देख्न चाहन्थे । तर, उनले हत्याजस्तो आपराधिक बाटो रोजे । रुबीको हत्यापछि उनले भिडियोमा आफूलाई ‘डिफेन्स’ गर्न विभिन्न तर्कहरु गरेको देखिन्छ ।

घटना–दुई : दश वर्षदेखि अजितको शव टिचिङमा

अन्तरजातीय विवाह गरेकै कारणले ज्यान गुमाउनेहरुमध्येको अर्को कहालीलाग्दो घटना हो– अजित ढकाल मिजारको हत्या ।
काभ्रेका अजितले कल्पना नामकी युवतीसँग विवाह गरेका थिए । युवती १८ बर्षीया र पाँचखाल–६ का मिजार १७ वर्षका थिए ।
कानूनले तोकेको उमेर नपुग्दै प्रेम विवाह गरेका उनीहरुलाई दुबै परिवारले पाँचखाल प्रहरीबाट कागज गरी छुटाएर लगेका थिए । उमेर नपुगी बिहे गरेको भन्दै माइती पक्षको दबाबमा प्रहरीले त्यही दिन अलग बनाइदियो ।

त्योबेला कल्पनाका आफन्तले प्रहरीकै सामुन्ने ‘जति पैसा खर्च गरेर पनि तँलाई (अजित) लाई माटोमाथि हिँड्न दिन्नँ’ भनेर धम्की दिएकी थिइन् । मिजारसँग बिहे गर्ने ? भनेर बुवाले पनि कल्पनालाई प्रहरी कार्यालयमै गालीगलौज गरेका थिए ।

प्रहरीले उमेर नपुगेका कारण चौकी उपस्थित दुबै पक्षका परिवारलाई जिम्मा लगाएर पठाएको थियो । तर, दुई दिनमै मिजार मृत अवस्थामा धादिङको गजुरीमा फेला परेका थिए । गजुरी प्रहरीले बेबारिसे भन्दै पोष्टमार्टमपछि मिजारको शव गाड्यो । तर, परिवारले पुनः भिसेरा परीक्षणको माग गर्‍यो ।

धादिङ गजुरी खोलामा रहेको पाटीमा फेला परेपछि मृतकका परिवारले हत्या भएको आरोप लगाउँदै किटानी जाहेरी दिए । प्रहरीले केटीका बाबु, दिदी र काका पर्नेलाई अनुसन्धानका लागि हिरासतमा लियो । तर, उनीहरुले छोरीको बिहे अजितसँग नभएको जिकिर गर्दै आएका छन् । अजितको हत्यालाई सरकार नै लागेर आत्महत्या नाम दिइएको भन्दै पीडित परिवारले १० वर्षदेखि टिचिङ अस्पताबाट शव उठाएका छैनन् ।

घटना–तीन : अन्तरजातीय प्रेमले खोसेको सपना

रुकुम पश्चिमको ‘सोती घटना’ ले आज पनि सबैको मुटु हल्लाउँछ । २०७७ सालमा नवराज विकसहित उनका ५ जना साथीहरु भेरी नदीमा विलीन भए । गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको सोतीका गाउँलेहरुले लेखेटेर कुटपिट पश्चात हत्या गरी ६ जनालाई भेरीमा बगाइदिए ।

नवराज र सुष्मा दुवैले एकले अर्कोलाई मन पराउथे । नवराजको घरैमा नै उनको आउजाउ हुन्थ्यो । छोरीको प्रेमसम्बन्ध तल्लो जातको केटासँग भएको परिवारले जानकारी पाएको थियो । त्यसकारण छोरीलाई नवराजबाट छुटाउने वा अलग गराउने मनसायमै थिए ।

नवराज एक दिन सुष्मालाई उनको घर पुरयाउन जाँदा मात्रै पनि चौकीको बास भएको थियो । केटीको परिवारले स्थानीय जनप्रतिनिधिसँग मिलेर चौकीमा थुनाएका थिए । तर, वडाध्यक्षले लकडाउनको समयमा अर्काको गाउँ प्रवेश गरेको कारण कारवाही गरिएको प्रतिक्रिया दिएका थिए ।

कानुनी रुपमा विवाह गर्न उमेर नपुगेकी सुष्मासँगको प्रेम सम्बन्धलाई तोड्न परिवार लागिपरिरहेकै बेला नवराज प्रेमिका गायब पारेको भन्दै नवराज साथीहरु लिएर उनको घरै पुगे । जेठ १० गते १८ जना साथीहरुसहित उनी सोती गाउँ पुगे । तर, त्यहाँ विवाद सुरु भयो । तल्लो जात र माथिल्लो जात भन्दै गाली गलौज भयो ।

झगडाले उग्र रुप लिने स्थिति भएपछि गाउँमा प्रहरी आएको थियो । प्रहरी आएपछि झगडा सामान्य भयो र नवराजसहित साथीहरु घर फर्किए । घर फर्किनेक्रममा बाटोमा थकाइ मार्न बसिरहेका बेला करिब ३ सय सय गाउँलेहरुले उनीहरुलाई आक्रमण गर्न थाले ।

सुरुमा त युवाहरुले आक्रमण नगर्न अनुनय गरे तर गाउँलेहरु उनीहरुलाई सिध्याउने तयारीसहित आएका थिए । घरेलु हतियारसहित ढुंगा र लठ्ठीले लेखेट्न थाले । उनीहरुले आक्रमण नगर्न भन्दाभन्दै दोहोरो भिडन्त भयो । र, आखिरमा ६ जनाको ज्यान गयो ।

मानवता बिर्साउने उक्त घटना अन्तरजातीय प्रेमसम्बन्धका कारणले उत्पन्न भएको थियो । नवराज र सुष्माबीच प्रेम सम्बन्ध थियो । अन्तरजातीय प्रेमलाई परिवारले अस्विकार गरेपछिको भयानक घटनाले आजसम्म न्याय पाउन सकिरहेको छैन । नवराजको परिवारसहित अन्य पीडित परिवार न्याय माग्दै माइतीघर मण्डलामा सुसाइरहेका छन् ।

यी हुन् केही प्रतिनिधि घटना । जो, प्रेमका नाममा जात–धर्म, उच्च–निच र धनी–गरिबबीचको खाडलले निम्त्याएका विध्वंस घटना हुन् ।

अभिभावकमाथि प्रश्न

आफ्ना छोराछोरीको प्रेमसम्बन्धमा अधिकांश परिवार तथा अभिभावक नै असहिष्णु बनेको देखिन्छ । सन्तानको सुखको लागि जस्तोसुकै कष्ट सहन तयार हुने अभिभावक उनीहरुको प्रेमसम्बन्धलाई किन स्वीकार गर्न सक्दैनन् ?

आफूलाई भन्दा बढी माया गरेर हुर्काएको सन्तानको हत्या गर्न कसरी सकिन्छ ? के चिजले उनीहरुलाई हत्यामा संलग्न गराउँछ ? रुबी हत्या प्रकरण हेर्ने हो भने आफ्नी प्रेमिकाको हत्या कसरी सम्भव हुन्छ ? जसले प्रेमिकाको नाम र फोटो शरीरमा ट्याटु हानेको छ, उसैले हत्या गर्न कसरी सक्छ ? यस्ता यावत प्रश्नहरुको उत्तर कसले दिन्छ ?

नेपाल प्रहरीको तथ्याङअनुसार पछिल्लो पाँच वर्षमा ३ हजार एक जनाको हत्या भएको छ । ०८०/०८१ मा ६३८ जनाको हत्या भएको छ । ०८१/०८२ मा ५२२ जनाको हत्या भएको छ । यसमा प्रेमका कारणले भएका हत्याका घटना पनि समावेश छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले प्रेम सम्बन्धकै कारणले उब्जिएको प्रकरणमा वर्षमा पाँचदेखि सातजनाको हत्या हुने बताएका छन् ।

साथै, उनी अत्यधिक ईष्याले मानिसलाई हत्याको बाटोमा डोर्‍याएको बताउँछन् । उनी भन्छन्, ‘अर्को, प्रेमसम्बन्धलाई फिल्म, कथा र उपन्यासले कहिँ कतै गलत दिशातिर डोर्‍याएको छ । फिल्म र वास्तविकताबीचको अन्तर छुट्याउन सकिरहेका छैनन् ।’

अर्कोतर्फ, प्रेम सम्बन्धका बारेमा समाज र परिवारले परम्परागत सोचलाई परिवर्तन गर्नुपर्ने प्रवक्ता घिमिरेको सुझाव छ ।

सन्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ : समाजशास्त्री

समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक एलिशा पौडेल अभिभावकहरुले आफ्ना सन्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउँछिन् ।

पौडेल भन्छिन्, ‘युवापुस्ताले प्रेमसम्बन्ध र विवाहको निर्णयलाई व्यक्तिगत अधिकारको रुपमा लिन्छन् । तर, अभिभावकले प्रेम सम्बन्धलाई इज्जत, जात, धर्म र हैसियतसँग जोडिरहेका छन् । त्यसकारण पुस्तान्तरण द्वन्द्व हुने गरेको छ ।’

उनी अगाडि भन्छिन्, ‘पहिले विवाहलाई दुई व्यक्तिबीचको मामिला नभइकन पारिवारिक सम्बन्धका रुपमा हेरिन्थ्यो । तर, समयको गतिशीतलासँगै युवाहरुले विवाहलाई व्यक्तिको अधिकार र रोजाइका रुपमा लिन थालेका छन् ।

पौडेलका अनुसार प्रेमका नाममा अभिभावक र छोराछोरीबीच हुने द्वन्द्वको समाधान गर्ने मुख्य भुमिका अभिभावककै हो । उनी भन्छिन्, ‘सन्तानको प्रेमसम्बन्धलाई स्वीकार वा समर्थन गर्ने र स्वतन्त्रताको सम्मान गर्दै परिवार सुन्दर एवं पूर्ण बनाउने जिम्मेवारी आमाबुवाको हो ।’

दक्षिण एसियाली समाजले आजको समयमा पनि प्रेमलाई बन्देज गर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । ‘छोराछोरीले सजिलैसँग यो केटा वा यो केटीलाई मन पराउँछु, म यो मान्छेसँग जिन्दगी बिताउन चाहन्छु भनेर अभिभावकलाई सुनाउन सक्ने वातावरण नबन्नु अभिभावकले पुस्तान्तरण हुन नसक्नु हो’ पौडेलले भनिन् ।

उनका अनुसार प्रेम सम्बन्ध र विवाह फरक विषय हो । तर, सामाजिक संरचना, मूल्य र मान्यताले प्रेम सम्बन्ध विवाहमै परिणत हुनुपर्छ भन्ने धारणाले जरो गाडेकाले पनि समस्या उत्पन्न हुने गरेको छ । उनी भन्छिन्, ‘बुवाआमा र छोराछोरीको पुस्ताबीचमा ग्याप छ । सन्तानले प्रेमसम्बन्धलाई व्यक्तिगत छनोट, आत्मसन्तुष्टि र आफ्नो भविष्यसँग जोडेर हेरिरहेका छन् । यो कुरा अभिभावकले स्वीकार गर्नुपर्छ ।’

सन्तानको हरेक खुसीका लागि आफूलाई पूर्णरुपमा रित्याउने अभिभावकहरु उनीहरुको प्रेमसम्बन्धमै खलनायक बन्नेतिर नलाग्न पौडेलको सुझाव छ ।

उनी भन्छिन्, ‘छोराछोरीको प्रेम सम्बन्धमा बुवाआमाको भुमिका महत्वपूर्ण छ । एक सचेत र समझदार अभिभावक अब सन्तानको सबैभन्दा विश्वासिलो र मिल्ने साथी बन्नुपर्छ । प्रेम सम्बन्धमा देखा परेका समस्याबारेमा खुलेर बताउने वातावरण बनाइदिनुपर्छ । पारिवारिक तहबाटै समस्याको समाधान गर्नुपर्छ ।’

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ५७ बजे

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला