काठमाडौं महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण  « Khabarhub

काठमाडौं महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण 


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ । 

महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँच वटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती सङ्घसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ।

आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट मिति २०८२ असोज २२ गते आवेदन आह्वान गरेको थियो । सोही अनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँच वटा छनोट भई बन्ध्याकरण कार्य सुरु भएको हो ।

विशेष गरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

उनले बन्ध्याकरण कार्य व्यावसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिए। 

‘कुकुर लगेर रिकभरी नभएसम्म नछोड्नुहोस्, कठिनाइ आएमा हामी फेरि छलफल गर्नेछौँ,’ उनको भनाइ थियो । 

न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ । आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा थप ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ।

कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, बन्ध्याकरणका लागि क्याट सेन्टरलेले वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० मा,  क्याट क्लिनिकले वडा नम्बर ११, २१, २२, २४, २८ र ३० मा, मण्डला भेटेरिनरी अस्पतालले वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ मा, स्नेहाको हेरचाह केयर संस्थाले वडा नम्बर २, ८, १२, १३, १४ र २९ मा तथा एसपीसीए नेपालले वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ मा कुकुरको बन्ध्याकरण कार्य गर्नेछन् ।

सम्झौता अनुसार, संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ ।

बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्ने छ । आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैँ खरिद गर्नुपर्नेछ।

कार्य सम्पन्न प्रमाणित भएपछि प्रति एकाइ दरका आधारमा ८० प्रतिशत रकम भुक्तानी गरिने र बाँकी २० प्रतिशत अन्तिम चौमासिक प्रतिवेदनपछि भुक्तानी दिइने व्यवस्था गरिएको छ। बन्ध्याकरणपश्चात्
कानको नच लगाउने र भ्याक्सिनेसनपश्चात शरीरको देखिने भागमा हरियो रङ लगाएर पहिचान गर्ने व्यवस्था पनि गरिएको छ ।  

यदि बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दाबी प्रमाणित भएमा सो सङ्घसंस्थालाई प्रति जनावर एक लाख रुपैयाँ जरिवाना तथा सम्झौता रद्द गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्ने सम्मको सर्तको व्यवस्था गरिएको छ। सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ।

महानगरले बन्ध्याकरण तथा खोपको दर प्रति जनावर २ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । 

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ७० वटा बन्ध्याकरण र १६ हजार ५ सय ६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ३० बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको