छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन « Khabarhub

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ थाई पार्टीले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्वउपअर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।

अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गरेकी थिइन् । ३९ वर्षीया पेटोङटार्न पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार उनको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ ।

यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत गरेको पनि तर्क गरिएको छ । फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

उत्तरी चियाङ माई प्रान्तका सांसदसमेत रहेका जुलापुनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “पार्टीको नेतृत्व गर्ने अवसर पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सबै सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।” जुलापुन थाइल्यान्डका अनुभवी राजनीतिज्ञ सोमपोङ अमोर्नभिवाटका छोरा हुन् ।

उनले २०१९ मा उपप्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी फेउ थाईको अघिल्लो कार्यकालमा समेत पार्टी नेतृत्वको जिम्मेवारीमा रहेका थिए । सन् २०२३ को आम निर्वाचनअघि जुलापुन पार्टीका प्रमुख नीति–नियोजकहरूमध्ये एक थिए । उनले नागरिकलाई १० हजारबाट (झन्डै ३०० अमेरिकी डलर) नगद प्रोत्साहन र क्यासिनो सञ्चालनलाई वैधता दिने प्रस्तावहरू अघि सारेका थिए, जसले मतदातामाझ पार्टीलाई लोकप्रिय बनाएको थियो ।

तर, राजनीतिक विश्लेषकहरूका अनुसार फेउ थाई पार्टीको नेतृत्व जोसुकैले सम्हाले पनि वास्तविक शक्ति र प्रभाव अझै पनि पार्टीका संस्थापक थाक्सिन सिनावात्रा र उनको राजनीतिक परिवारकै वरिपरि केन्द्रित रहनेछ । थाक्सिन र उनका समर्थकहरू दशकौँदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गका प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।

उनीहरूले अघि सारेको ‘लोकप्रियतावादी नीति’ लाई देशका परम्परागत अभिजातहरूले आफ्नो सामाजिक संरचनामा चुनौतीका रूपमा लिएका छन् । सन् १९९० को दशकको अन्त्यतिर थाक्सिनले फेउ थाईको पूर्वरूपको रूपमा रहेको थाई रक थाई पार्टी स्थापना गरेका थिए ।

तर सन् २००६ मा सैनिक विद्रोहपछि उनलाई प्रधानमन्त्री पदबाट हटाइयो र त्यसपछि लामो समय विदेश निर्वासनमा रहे । हाल ७६ वर्षीय थाक्सिन सिनावात्रा भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका छन् । यद्यपि, उनको राजनीतिक प्रभाव र लोकप्रियता अझै पनि थाइल्यान्डको जनमत र सत्तारूढ दलको निर्णय प्रक्रियामा गहिरो रूपमा प्रतिविम्बित भइरहेको देखिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ३० बजे

ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति

एजेन्सी– संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

काठमाडौं– नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

नेपालमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ