भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको संगम देखिने भएको छ। आगामी मंसिर १२ गते यहाँ ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको हो।
लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुने फेस्टिभलको मुख्य आकर्षण ‘कुमा सागर एन्ड द ख्वपः ब्यान्ड’ रहनेछ । भक्तपुरमै जन्मिएका कुमा सागरले आफ्नो ब्यान्डसहित पहिलोपटक आफ्नै जन्मथलोमा प्रस्तुति दिन लागेकाले कार्यक्रमलाई विशेष मानिएको छ।
फेस्टिभलमा कुमा सागरको प्रस्तुतिसँगै ‘मुक्ति एन्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एन्ड चबाही दबु’ले पनि लाइभ प्रस्तुति दिनेछन्। संगीतबाहेक भक्तपुरको मौलिक कला, संस्कृति र जीवनशैलीलाई समेत कार्यक्रममा प्राथमिकताका साथ प्रस्तुत गरिने आयोजकले जनाएको छ। विभिन्न सांस्कृतिक कार्यक्रमसँगै स्थानीय परिकार तथा जीवनशैली झल्काउने स्टलहरू पनि राखिनेछन्।
बुधबार क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले फेस्टिभलको अर्को विशेष पक्ष पनि सार्वजनिक गरेको छ। कार्यक्रमको मुख्य प्रायोजक एक्सट्रीम इनर्जी ड्रिंक रहेको छ भने दर्शकले यसको खाली क्यान ल्याएर फेस्टिभलमा सहभागी हुन सक्नेछन्।
‘म्युजिक जात्रा–ख्वपः’ मनोरञ्जनमा मात्र सीमित नरहने आयोजकको भनाइ छ। कार्यक्रमबाट प्रायोजन र स्टल भाडामार्फत प्राप्त हुने व्यावसायिक आम्दानीको ५० प्रतिशत भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिनेछ।
त्यसैगरी, फेस्टिभल अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकम पनि सीबीआरओलाई नै हस्तान्तरण गरिनेछ।
यसरी ‘म्युजिक जात्रा–ख्वपः’ले भक्तपुरको कला, संस्कृति र संगीतलाई उत्सवका रूपमा प्रस्तुत गर्दै मनोरञ्जनसँगै समुदायलाई सहयोग गर्ने उद्देश्य अघि सारेको छ।














प्रतिक्रिया