गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना « Khabarhub

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन् कि अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन ।

कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ ।

हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ । यहीँभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए । अर्थात् ‘डाक्टर’ बन्ने सपना । आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ ।

यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो । बुबा कतारमा पसिना बगाइरहेका बेला आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो । उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे । डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो । अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उनको बालमस्तिष्कमा गहिरो चोट दियो ।

ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, ‘औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने । आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो । अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु ।’

यही अठोटले हो, उनको सपना बदलिदिएको । त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ । सुरुमा उनलाई एमबीबीएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन । थियो त केवल एउटा दृढ सङ्कल्प । सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसईई उत्तीर्ण गरे । पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे । त्यसपछि उनको वास्तविक सङ्घर्षको अध्याय सुरु भएको हो ।

‘सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन । सपना पछ्याउन घर छोड्नुपर्ने भयो । एमबीबीएसको तयारीका लागि काठमाडौँ पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो । तीन महिनामै काठमाडौँ छाडेर घर फर्किँए । उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किनुभयो । परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो’, सत्यनारायणले सुनाए ।

हातमा दशथोक, मनमा पुस्तक
परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन । काठमाडौँमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए । गाउँमै निर्माण मजदुरको काम रोजे । दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो । शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उनको मन फेरि पढाइतर्फ फर्किन्थ्यो । बत्तीको मधुरो उज्यालोमा उनी चिकित्सा शिक्षाका पुस्तक पल्टाउँथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे ।

‘मैले गरिबीले काठमाडौँ छोडेँ, तर सपना छोडेको होइन । मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ । त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको सङ्कल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो । आखिर सबै कुरा अठोट त रहेछ, नहार्ने अठोट’, मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिँदै भने ।

यही अठोटले उनको सङ्घर्षले नयाँ गोरेटो तय गर्‍याे । मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उनी किताब किन्थे । कतिपय रात त उनले भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरेका छन् । सत्यनारायण भन्छन्, ‘मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो ।’

त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उनलाई मेडिकल कलेजको ढोकासम्म पुर्‍याएकाे हो ।

सफलताको उडान : पहिलो प्रयासमै नाम
काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन । त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए । नतिजा आउँदा सबै अचम्मित भए । सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । उनको तपस्याले अन्ततः प्रतिफल दियो । यो खबर सुन्दा परिवारमा खुसीको सीमा रहेन ।

यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो । बुबा मधुरी साफी भन्छन्, ‘छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ । हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन । कक्षा भर्नाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङसम्म पुग्ने र बस्ने खाने समस्याले क्षणिक खुसीलाई अन्धकारतर्फ धकेल्दै थियो ।’

जब प्रविधिको सहाराले ‘भाइरल’ बने
सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हातहरू उनको झुपडीसम्म पुग्न थालेका छन् । प्रविधिको सहारामा उनको सफलताको चर्चा देश, विदेशमा पुगेको छ । विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन् । सहयोगी मनहरू जुर्मुराएका छन् । यो सहयोगले उनलाई केही राहत त दिएको छ ।

सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध । चारैतिरबाट पाइरहेको साथ र शुभेच्छापछि उत्साहित बनेका सत्यनारायण भन्छन्, ‘जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु । आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु । यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु ।’

उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीहरूको भविष्यको पनि चिन्ता छ । उनी भन्छन्, ‘म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन् । राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस् । सपना मार्न नपरोस् ।’

आरक्षण : सीमान्तकृतका लागि वरदान
सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ । मधेस मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाहरूको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउँछन् ।

भुइँमान्छेहरूले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ ।

सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन् । झुपडीमा फुलेका उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो छ । (रासस) 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ८ : १० बजे

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर