काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको मर्म विपरीत रहेको भन्दै जेन–जी अभियन्ताहरुले नै असन्तुष्टि जनाएका छन् । नातावाद–कृपावाद र नेपो बेबीविरुद्ध गरिएको आन्दोलनको प्रतिकूल रास्वपाले उमेद्वारी उठाएको उनीहरुको आरोप छ ।
रवि लामिछाने, बालेन साह र कुलमान घिसिङले एकता गरेपछि समानुपातिक सूचीमा आ–आफ्नो मान्छे सिफारिस गरेको जेन–जीहरुको भनाइ छ । नयाँ दलले फरक गर्छ भनेर भरोसा दिलाउँदै गर्दा कुनै योगदान नभएका व्यापारिक घरानालाई प्राथमिकता दिनु कांग्रेस–एमालेसरह भएको उनीहरुको तर्क छ ।
जेन–जीहरुले समानुपातिक प्रणालीको धज्जी उडाउँदै पिछडिएको वर्गलाई समेट्न नसक्नु अर्को ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । उनीहरुले यस सूचीलाई नसच्याइ निर्वाचनमा गए समानुपातिकमा भोट नहाल्ने चेतावनी दिएका छन् ।
तनुजा पाण्डेले रास्वपाले पुराना दलकै सिको गरेको आरोप लगाएकी छिन् । समानुपातिकमा लोकप्रियता, पहुँच र चिनजानलाई प्राथमिकता दिएपछि पुरानो र नयाँमा कुनै फरक नदेखिएको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् – ‘प्रतिनिधि सभामा फरक–फरक पृष्ठभूमिका व्यक्तिहरू आउँदा लोकतन्त्र बलियो हुन्छ । विभिन्न जात, वर्ग, क्षेत्र र अनुभव भएका व्यक्तिहरूको सहभागिता विशेष महत्व राख्छ । तर, निर्वाचन प्रणालीको मूल भावना र उद्देश्यलाई उल्लघंलन गर्दै व्यक्तिगत वा पार्टीगत लाभका लागि अनैतिक रूपमा प्रतिनिधि सभामा आउनु अस्वीकार्य छ ।
समानुपातिक प्रतिनिधित्व प्रणाली ऐतिहासिक रूपमा पछाडि पारिएको वर्ग र समुदायका संघर्ष र आफ्नो ज्यानको बलिदानमार्फत स्थापित गरिएको हो । यस प्रणालीलाई नाम, पैसा वा शक्ति प्राप्तिको माध्यम बनाउन दिनु हुँदैन । हिजो डा. आरजु राणा देउवा जस्ता व्यक्तिहरू समानुपातिकबाट संसदमा आउँदा लज्जास्पद थियो ।
समानुपातिक प्रणालीलाई नाम, पैसा वा शक्ति प्राप्तिको माध्यम बनाउन दिनु हुँदैन । हिजो डा. आरजु राणा देउवा जस्ता व्यक्तिहरू समानुपातिकबाट संसदमा आउँदा लज्जास्पद थियो ।
आजका केही नयाँ भनिएका पार्टीहरूले त्यही प्रवृत्ति दोहोर्याउँदै समानुपातिकको मूल भावनालाई कमजोर पार्नु दुःखद छ । यदि पुराना वा नयाँ भनिएका पार्टीहरूले समानुपातिक सूचीमा लोकप्रियता, पहुँच र चिनजानलाई प्राथमिकता दिन्छन् भने पुरानो र नयाँ पार्टीमा कुनै फरक रहँदैन । यद्यपि, धेरै जेन–जी र वैकल्पिक शक्तिका साथीहरूले पनि उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम नेपो किड हरूको स्वागत गरेको देख्दा खुशी लाग्यो ।
हिजो आर्किटेक मिस नेपाल श्रृङ्खला खतिवडाको राजनीतिक आकांक्षालाई मजाकको रूपमा उडाइरहेका साथीहरूले आज मिस नेपाल अनुष्का श्रेष्ठलाई राजनीतिमा स्वागत गरेको देख्दा अझै धेरै खुशी लाग्यो । यस देशमा मानुषी यमी भट्टराई, श्रृङखला खतिवडा, विदुषी राणा, अनुश्का श्रेष्ठ, सुहाङ नेम्वाङ, सृष्टि सिंह श्रेष्ठजस्ता पात्रहरू छन् । जससँग स्रोत साधन, पुस्तान्तरीय सुविधा प्राप्ति मात्र हैन, बौद्धिकता, नेतृत्व क्षमता, सामाजिक योगदान र नैतिकता पनि उच्च स्तरको छ ।
यस्तो प्रतिभालाई मान्यता दिनु आवश्यक छ ? अनावश्यक घृणा र इष्र्याले कसैलाई फाइदा पुर्याउँदैन । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत योग्य व्यक्तिहरूलाई प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्नुपर्छ । तर, शक्ति आर्जनको प्रक्रिया होर्डिङ र पहुँचमा आधारित बन्नु हुँदैन । समानुपातिकको मूल भावनालाई सधैं प्राथमिकता दिनु जरुरी छ ।’
‘प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत योग्य व्यक्तिहरूलाई प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्नुपर्छ । तर, शक्ति आर्जनको प्रक्रिया होर्डिङ र पहुँचमा आधारित बन्नु हुँदैन । समानुपातिकको मूल भावनालाई सधैं प्राथमिकता दिनु जरुरी छ ।’
त्यसैगरी, सुदूर सधैँ दुर ? रक्षा बम प्रश्न गर्छिन् । समानुपातिक प्रणालीलाई पसल र भर्तीकेन्द्रको संज्ञा दिँदै उनले सुदूर यहि देशको मानचित्रमा पर्ने सम्झाएकी छिन् । उनी लेख्छिन्– ‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो । निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो ।
दुखद कुरा चैँ, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् । र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो ।
यसैबीच, मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन ।
प्रिय सुदूरपश्चिम, पुस १५ को शुभकामना ।
यतिखेर म आफ्नो भूगोलबाट टाढा छु । रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस् । बिहान चियासँग सुख र समृद्धि पुकार्दै खाउँला । तर हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौं । यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।’
अर्का, माजिद अन्सारीले समानुपातिक सूचीमा आफूले आदिवासी तथा जनजाति खोजेको तर कही फेला नपरेको बताएका छन् । साथै, उनले संविधान लेखाईमै गलत भएको तर्क गरेका छन् । उनले लेखेका छन्– ‘साथीहरुले समानुपातिक सूचीमा चितवनको २१ जना उम्मेदवार देखाइरहे मैले त्यो २१ भित्र १ जना भएपनि चितवनको रैथाने (आदिवासी) थारु खोजिरहे । अहँ एक जना पनि भेटिएन । मेरै जिल्ला मोरङ्गको १५ जना उम्मेदवार देखाइरहे । मैले त्यो १५ भित्र १ जना भएपनि मेरै जिल्ला मोरङ्गको रैथाने (आदिवासी) कोच (राजवंशी), गन्गाई, सन्थाल खोजिरहे अहँ १ जना पनि भेटिएन ।
मैले धेरै अघि देखि भन्दै आएको कुरा हो । नेपालमा समानुपातिक समावेशिता उपर र आर्थिक रुपले विपन्न खास आर्य उपर दुई दुई पटक जानी–जानी आर्थिक रुपले सम्पन्न खस आर्यको रणनितीक र निर्णायक बाहुल्य भएको संविधान सभा र तत्कालीन व्यवस्थापिका संसदले धोका गर्यो ।
१. नेपालको संविधानको धारा ८४ लेखिरहँदा संविधानको धारा ४२ को आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेका अन्य समावेशी समूह र आर्थिक रुपले विपन्न खसआर्यकोे संविधान प्रदत्त सामाजिक न्यायको मौलिक हक उपर पहिलो र रणनीतिक धोका भयो ।
२. प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी ऐन, २०७४ कोे दफा २८ र अनुसूची-१ लेखिरहँदा दोस्रो र निर्णायक धोका भयो।
कुनै दिन यो धोका कसरी भएको छ भन्ने बारेमा विस्तृत रुपमै लेखौंला ।’
‘समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं । र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो । म अन्धभक्त बन्न सक्दिनँ ।’
भावना रावतले समानुपातिकमा अन्धाधुन्ध भोट नहालिने बताएकी छिन् । साथै, उनले प्रत्यक्षमा पनि उम्मेद्वार हेरेर भोट हाल्ने जिकिर गरेकी छिन् । सञ्जालमा उनले लेखेकी छिन्– ‘यो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ ।
प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ । अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन । उज्जवल थापाले सधैं भन्नुहुन्थ्यो, समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं । र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो । म अन्धभक्त बन्न सक्दिनँ ।
म चाहन्छु रास्वपा ठुलो पार्टी बनोस् । बालेन प्रधानमन्त्री बनुन्। पार्टीले बहुमत पाओस् तर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लास जस्तै अन्धसमर्थक बन्न म सक्दिन । समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु । तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु । यो मेरो प्रतिबद्धता हो । मैले बुझेको राजनीति हो ।’













प्रतिक्रिया