काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिने भएको छ ।
एचपीभी खोपलाई सरकारले राष्ट्रिय खोप कार्यक्रममा पनि समावेश गरेको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी फागुनको पहिलो सातादेखि एचपीभी खोप दिन लागिएको हो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप अब नियमित कार्यक्रममा समावेश भएको बताए ।
गत वर्ष सरकारले अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख जनालाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए ।
खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ । यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त छ ।
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो ।
एचपीभी भाइरस र सर्ने तौरतरिका
एचपीभी एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो ।
चिकित्सकका अनुसार यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । यसमध्ये पनि प्रजाति-१६ र प्रजाति-१८ प्रमुख कारक हुन् ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी दुई प्रजातिहरूबाट भएको देखिन्छ ।
विज्ञहरुका अनुसार यो भाइरस महिलामा मात्रै होइन पुरुषमा पनि धेरै हुन्छ । तर पुरुषमा एचपीभी संक्रमण प्राय लक्षणविहीन हुने भएकाले धेरैजसो अवस्थामा थाहा नपाई उसको महिला सहकर्मीमा सर्ने सम्भावना धेरै हुने चिकित्सक बताउँछन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी भन्छन्–यौनिक क्रियाकलापमा संलग्न हुनु अगावै यो खोप लगाउँदा प्रभावकारी हुने भनिरहँदा किशोरी सँगसँगै किशोर पुरुषलाई पनि लगाउनु पर्ने हो कि ? भन्ने प्रश्न उठ्न थालेको छ ।
यदि सम्भव भए यौन जीवनमा जानुभन्दा पहिले नै किशोरकिशोरी दुवैलाई यो खोप लगाउँदा यसको प्रभावकारिता धेरै हुने डा. सुवेदी बताउँछन् ।
एचपीभी भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराएजस्तै पुरुषको पनि प्रजनन अङ्गमा क्यान्सर गराउनसक्ने जोखिम हुने भएकाले विश्वका कतिपय देशमा पुरुषबाट यो भाइरस सर्छ भन्ने मान्यता राखेर किशोर पुरुषलाई पनि यो भ्याक्सिन दिने गरेको उनले बताए ।
नेपालमा किशोरलाई पनि एचपीभी खोप दिन कति सम्भव छ ?
विश्वका केही देशहरुमा किशोरलाई पनि दिने अभ्यास रहेपनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले त्यो नमानेको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् ।
‘यो भाइरस पुरुषमा हुन्छ, साँचो हो । तर सफर गर्ने महिला हो । यो भाइरसबाट सफर गर्नेहरु यति धेरै प्रभावित हुन्छन् कि नेपालमा मृत्यु हुने प्रमुख कारण सर्भाइकर क्यान्सर हो । जबकी पुरुषहरुमा यो कम छ । सबै कुराहरु छ तर स्रोत सुनिश्चित गर्नसक्ने क्षमता छैन ।’ उनले भने ।
नेपाललाई खोप दिने संस्था गाभीलाई डब्लूएचओले सिफारिस नगरेकाले तोकिएको उमेरका किशोरीलाई मात्रै दिने अभ्यास रहेकाले अहिले धेरै कसलाई आवश्यक छ भन्ने हेरेर मात्रै खोप दिने गरिएको डा. गौतमले बताए ।
‘नेपाल सरकारले एकैपटक सबैलाई सम्बोधन गर्न नसकेको हुँदा भोलिका दिनहरुमा विस्तारै आवश्यकता अनुसार दिँदै पनि जाउँला तर अहिलेको लागि किशोरीलाई मात्रै दिने नीति हो’ उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार उच्च खोप कभरेज र स्क्रिनिङ गर्नका लागि ३० वर्षभन्दा माथिका महिलाहरुलाई नियमित रुपमा प्रत्येक ५-५ वर्षमा पाठेघरको मुखको पानी जाँचेर क्यान्सर छ कि छैन भन्ने परीक्षण गरिनुर्छ । यसका साथै खोपको कभरेज ८० प्रतिशत माथि गर्न सकिए यो खोप महिलालाई मात्रै दिए पुग्ने चिकित्सकहरु बताउँछन् ।
खोप अभियानको तयारी कस्तो छ ?
‘एचपीभी खोप सञ्चालनका लागि हामीले हरेक वर्ष सूक्ष्म योजना गर्छौँ । त्यहि योजना अनुसार हामीले सबै कामहरु गर्यौँ । त्यसको फाइनल रिपोर्ट आउन बाँकी छ । सरकारसँग अहिलेसम्मको तथ्याङ्कअनुसार ३ लाख २० हजारदेखि ३ लाख ५० हजारसम्म किशोरीलाई खोप लगाउन सक्ने क्षमता रहेको छ ।’ डा. गौतमले भने ।
उनका अनुसार त्यसको लागि खोप नेपालमा आइसकेको छ । फागुन महिनाभित्र खोप लगाइसक्ने गरी तयारी भइरहेको छ । फागुनमा चुनाव पनि हुँदैछ ।
‘मतदान केन्द्र पनि विद्यालयमै राखिने र खोप अभियान पनि विद्यालय केन्द्रित हुने भएकाले चुनावलाई असर नपर्ने गरी निर्वाचन अगाडि नै खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको र त्यही अनुसारको तयारी भएको छ’ डा. गौतमले भने ।
त्यस्तै, अभियान सञ्चालनका लागि ७ वटै प्रदेशमा स्वास्थ्यको प्रमुख, खोपको फोकल पर्सन र शिक्षाको प्रमुख गरी ७७ वटै जिल्लाका सरोकारवाला व्यक्तिहरुसँग सहकार्य गरिसकिएको छ । यो अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत किशोरीहरु र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई खोप लगाइने उनले स्पष्ट गरे ।
खोपमा सहभागी हुने किशोरीहरुको सङ्ख्या भने प्राप्त हुने क्रममै रहेको छ । ‘अहिलेको अनुमान चाहीँ ३ लाख ५० हजार रहेको छ । हामीले तयारी पनि त्यहि अनुसार गरेका छौँ । अबको केही दिनमा खोप प्रदेशमा पठाउने तयारी भइरहेको छ ।’ डा. गौतमले भने ।
खोप पूर्ण रुपमा सुरक्षित छ : विज्ञ
विभिन्न अध्ययनहरुले देखाए अनुसार किशोरावस्थामा यो खोपको एक डोज लगाउन सकियो भने लगभग शत प्रतिशतसम्म प्रभावकारी देखिएको छ । त्यही अध्ययन अनुसार एउटा मात्रै डोज लगाउने गरिएको छ ।
डा. गौतमका अनुसार अहिले नेपाल लगायत १ सय ४७ देशले यो खोपलाई नियमित रुपमा लगाउँदै आएका छन् । यो क्रम अझै बढेर झण्डै १ सय ५५ सम्म पुग्ने छ ।
भारतजस्ता ठूला राष्ट्रहरुको पहुँच नपुगेकोमा हामीले यो खोप दिन सकेका छौं । त्यो कुरामा हामीले गौरव गर्नुपर्ने डा. गौतमले बताए ।
उनका अनुसार यो खोपको सुरुवात गर्ने पहिलो देश अमेरिका हो । यो खोपलाई लिएर विभिन्न मिथ्या कुराहरु तथा भ्रमहरु पनि छन् ।
‘धेरैले सिटामोल त निःशुल्क नदिने देशमा खोप निःशुल्क दिएको त परीक्षणका लागि हो । हाम्रा किशोरीहरुलाई बाँझोपन गराउने खेल हो । भोलिको दिनमा यसले बाँझोपनको समस्या ल्याउँछ । भन्ने जस्ता हल्लाको पछि लाग्नु हुँदैन । यी सबै निराधार कुराहरु हुन्’ उनले भने ।
कस्तो अवस्थामा खोप लगाउन मिल्दैन ?
सामान्य ज्वरो आएको अवस्थामा खोप लगाउन मिल्छ । तर धेरै ज्वरो आउँदा केही दिन पछाडि लगाउन मिल्छ । किनकी ज्वरो आउँदा त्यसै पनि असहज तथा शरीर कमजोर भइरहेको हुन्छ । ‘ज्वरो आएका बेला त्यसमाथि खोपको भार किन पार्ने भन्ने हो, नभए यसले स्वास्थ्यमा कुनै पनि असर गर्दैन’ डा. गौतमले भने ।
तर लगाउन नहुने अवस्था भनेको जस्तै कसैलाई एलर्जी छ भने चिकित्सकको परामर्श लिएर मात्रै लगाउने हो । गतवर्ष कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई खोपमा समावेश गरिएको थियो भने यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई मात्रै लगाउने हो । कक्षा ६ माथि गतवर्ष खोप लगाउन छुटेका किशोरीहरुले यसवर्ष अवसर नपाउने उनले बताए ।













प्रतिक्रिया