के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ? « Khabarhub

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहको सुदूरपश्चिम चुनावी अभियानमा सहभागी पत्रकार दिनेश सिटौलाको आइतबार मध्याह्न धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको छ ।

शुक्रबार बालेनसँसगै अछाम पुगेका उनी अचानक बेहोस भएर ढलेका थिए । बेहोस भएर ढलेका उनको टाउकोमा चोट पनि लागेको थियो ।

त्यसपछि नेपाली सेनाको हेलिकप्टरले उनलाई शुक्रबार नै अछामबाट सुर्खेत झार्‍यो । त्यसपछि नेपाली सेनाको स्काइ ट्रकले तत्कालै सुर्खेतबाट काठमाडौं ल्यायो । ग्राण्डी अस्पतालै अनुसार सिटौलालाई एयरपोर्टबाट एम्बुलेन्समा ल्याएर भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि आइतबार दिउँसो १२ : ४५ बजे मृत घोषणा गरिएको हो । ४५ वर्षीय सिटौला नेपाल चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष थिए ।

के भन्यो ग्रान्डीले ?

श्री दिनेश सिटौला, ४५ वर्ष उमेरका पुरुष, एक सार्वजनिक अभियान कार्यक्रममा सहभागी हुँदा अचानक बेहोस हुनु भएको थियो ।

शुक्रबार बिहान तुरुन्तै उहाँलाई अछाम जिल्ला अस्पतालमा लगिएको थियो । जहाँ उहाँको श्वासप्रश्वास रहेको थिएन। कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) तुरुन्तै सुरु गरिएको थियो । लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो।

उनलाई तत्काल भेन्टिलेटरमा राखिएको थियो। यस अवधिमा उनलाई सिजर देखिएको थियो । जसको उचित रूपमा व्यवस्थापन गरियो। नेपाली सेनाको जहाजमार्फत् त्रिभुवन विमानस्थल र त्यसपश्चात एम्बुलेन्समार्फत् ग्रान्डी अस्पताल आइपुग्नु भएको हो।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल इमरजेन्सीमा आइपुग्दा उहाँको अवस्था निम्न थियो :

जीसीएस स्केल (जीसीएस) : ईएम भीटी
रक्तचाप: १७०/१४० मिमी एचजी

मुटुको गतिः ६० मिनेट
आखाको नानी : दुवै आँखा फराकिलो (५ मिमी) र नन रियाक्टिभ

उनलाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकलअनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रूपमा इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा भर्ना गरियो। प्रारम्भिक परीक्षणमा ग्याग रिफ्लेक्सको उपस्थिति देखियो । त्यसपछि थप ४८ घण्टा अनुगमन गर्ने निर्णय लिइएको हो ।

आईसीयूमा बस्दा उनलाई डायबिटिज इन्सिपिडसको समस्या पनि विकसित भयो, जुन तत्कालै पहिचान गरी स्थापित मार्गनिर्देशन अनुसार व्यवस्थापन गरियो।

यद्यपि गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन । मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन। बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्श दिइयो।

चिकित्सकीय प्रोटोकल अनुसार, मस्तिष्कको कार्य क्षमता परीक्षण गर्न एपनीया परीक्षण गरियो। जुन पोजिटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। र, उनको आइतबार १२:४५ बजे निधन भएको जानकारी गराउँछौँ।

अस्पतालको वक्तव्यअनुसार जिल्ला अस्पताल अछाम पुर्‍याउँदा उनको श्वासप्रश्वास थिएन । तत्काल सीपीआर दिँदा करिब ४५ मिनेटपछि मुटुको चाल फर्कियो ।

ग्राण्डी अस्पताल पुगेपछि उनको आँखामा प्रतिक्रिया नभएको, मुटुको गति ६० मिनेट रहेको र जीसीएस स्कोर इ–वान एम–वान भीटी रहेको अस्पतालले जनाएको छ ।

त्यसपछि चिकित्सकहरूले उनलाई ४८ घण्टा आईसीयूमा लगातार निगरानीमा राखे । उपचारका क्रममा उनलाई सुगर र इन्सिपिडिससम्बन्धी जटिलता देखियो, जसलाई तुरुन्त व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ।

तर, ४८ घण्टापछि पनि न्युरोलोजिकल अवस्थामा सुधार नआएका कारण परिवारलाई जानकारी गराइएको थियो । ४८ घण्टापछि मस्तिष्कको कार्यक्षमता परीक्षण गर्दा मस्तिष्कले स्वासप्रश्वास नियन्त्रण गर्न नसकेको रिपोर्ट आएपछि यसपछि चिकित्सकहरूले मृत घोषणा गरे ।

उपचारमा संलग्न चिकित्सकका अनुसार गाडीबाट लड्दा लागेको गम्भीर चोटले उनको मष्तिष्कको नसा फुटिसकेको थियो । जसलाई चिकित्सकिय भाषामा ‘हेमोरेजिक स्ट्रोक’ अर्थात् ‘सबअरेक्नोइड हेमरेज’ पनि भनिन्छ ।

‘सबरोक्नोइड हेमरेज’ के हो ?

विशेषज्ञका अनुसार सिटौलाको स्वास्थ्य समस्या ‘सबरोक्नोइड हेमरेज’ (सबअरेक्नोइड रक्तस्राव) सम्बन्धी समस्या हो । जसमा रगत मस्तिष्क र त्यसको वरिपरि रहेका मृदु झिल्लीभित्र जम्मा हुन्छ।

मस्तिष्कमा तीनवटा मुख्य झिल्ली हुन्छन् । डुरा म्याटर (कडा झिल्ली), एरा म्याटर (मध्यम झिल्ली), र पिया म्याटर (नर्म झिल्ली)।

सबरोक्नोइड स्पेस भनेको एरा म्याटर र पिया म्याटरको बीचको खाली ठाउँ हो। यो ठाउँमा सामान्यतया मस्तिष्क रगत आपूर्ति गर्ने रक्तनली हुन्छन् । सेरिब्रल स्पाइनल फ्लुइड (सीएसएफ) पनि हुन्छ। सबरोक्नोइड हेमरेज भनेको मष्तिष्कमा रगतको अचानक भित्त्री बहाव हो।

२. कस्तो अवस्थामा हुन्छ?

रक्तनली फट्नु

मस्तिष्कको रक्तनलीमा सानो फुल जस्तो भाग बन्छ। अचानक फट्दा रगत सबरोक्नोइड स्पेसमा जान्छ। यो सबैभन्दा सामान्य कारण हो।

मस्तिष्कमा चोट

ठूलो ठक्कर, दुर्घटना वा मस्तिष्क भित्र घाउ लाग्दा पनि सबरोक्नोइड स्पेसमा रगत आउन सक्छ।

कमजोरी

उच्च रक्तचाप

वंशानुगत रक्तनली कमजोरी

धूम्रपान, मदिरा सेवन

पुरानो रगतसम्बन्धी रोग

लक्षण

अचानक र तीव्र टाउको दुखाइ

घाँटीमा दुखाइ

बान्ता, वाकवाक् लाग्ने, टाउकोमा अप्ठ्यारो हुने, दृष्टि धमिलो हुने

संवेदनशीलता, बेहोस हुनु, मस्तिष्कमा न्यूरोलोजिकल समस्या

जटिलता

मस्तिष्कको दबाब बढ्नु

मस्तिष्कको भागमा रगत जम्नु

फेरि रक्तनली फुट्ने जोखिम

यो समस्या हुनुको मुख्य कारण टाउकोमा चोट लाग्नु नै हो । बिनाचोट हुने हेमरेज प्रायः मस्तिष्कको धमनीमा बनेको एन्युरिज्म फुट्दा हुन्छ । यो अवस्था दुर्लभ भए पनि अत्यन्तै गम्भीर हुन्छ । यस्तो हुँदा तुरुन्त उपचार आवश्यक पर्ने चिकित्सक बताउँछन् ।

वरिष्ठ न्युरो सर्जन डा. सुशीलमोहन भट्टराईका अनुसार यसमा मृत्युदर अत्यधिक रहेको छ । ‘यो जुनसुकै उमेर समूहमा पनि देखिने समस्या हो’, डा. भट्टराईले भने, ‘सबअरेक्नोइड हेमरेज’ भएका ८० प्रतिशतको मृत्यु हुने गर्दछ ।

यस्तो हुँदा मस्तिष्कको सतहनजिकको धमनी फुटेर वरिपरि रगत बग्छ । यसले मस्तिष्कमा दबाब बढाउँछ, जसले सेरेब्रोस्पाइनल फ्लुइडको सामान्य प्रवाहलाई बाधा पुर्‍याउँछ ।

चोट लागेको अवस्थामा बेहोस हुने, अत्यधिक रक्तश्राव हुने जस्ता लक्षण देखिन्छन् । कहिलेकाहीँ भित्री समस्याले यो देखिँदा अत्यधिक टाउको दुख्ने र त्यसपछि मानिस बेहोस हुने हुन्छ । ‘यस्तो भएमा ढिलो नगरी सीटी स्क्यान र एमआरआई लगायत परीक्षण गरीहाल्नुपर्छ’, डा. भट्टराईले भने ।

यसरी समयमै यो समस्याको पहिचान हुँदा चोटपटक लागेर भएकोबाहेक अन्य कारणले ‘बअरेक्नोइड हेमरेज’ भए ६० देखि ७० प्रतिशत बिरामीलाई बचाउन सकिने उनले बताए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ५८ बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा