प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट « Khabarhub

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट



काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि घरदैलो र आमसभा गर्दै गर्दा उम्मेदवारहरूले मतदातालाई सजग बनाइरहेका देखिन्छन् । 

निर्वाचन आयोगले पनि मतदाता शिक्षामा मत बदर नहुने गरी छाप लगाउने विषय समेटेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनकै नतिजा हेर्दा पहाडदेखि तराईसम्मका दर्जन बढी उम्मेदवार एक मतका कारण पराजित हुन पुगेका छन् ।

उक्त नियति स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधि सभा जुनसुकै निर्वाचनमा व्यहोर्नु नपर्ला भन्न सकिँदैन । तर आसन्न (फागुन २१) प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीकै दाबेदारहरूले आफूलाई भोट हाल्ने छैनन् ।

मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले उनीहरूले आफैंले आफूलाई भोट हाल्न नपाउने भएका हुन् । जसमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, काठमाडौं महानगरपालिका पूर्वप्रमुख बालेन्द्र साह र नेपाली कांग्रेस सभापति गगन थापा छन् । 

केपी ओली 

झापा–५ बाट उम्मेदवार बनेका ओलीले आफूलाई सातौँ पटक मतदान गर्न नपाउने भएका छन् । २०७९ सालको निर्वाचनमा ओली दोब्बरभन्दा धेरै मतान्तरसहित झापा ५ बाट विजयी भएका थिए ।

उनले ५१ हजार ६१९ मत आफ्नो पोल्टामा पारेका थिए । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत प्राप्त गरेका थिए । ओली यससँगै सातौँ पटक उम्मेदवार बनेका छन् ।

यसअघि उनी वि.सं. २०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ मा यही क्षेत्रबाट विजयी भएका थिए । उनको मतदाता नामावली भक्तपुर–२ मा रहेकाले उनले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।  

प्रचण्ड 

चितवनबाट रुकुमपूर्व गएका प्रचण्डले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । दाहाल सुरक्षित क्षेत्र खोज्ने उम्मेदवार पनि हुन् । उनी २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए। उनले योसहित छैटौँ पटक निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।

त्यहाँ उनले निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई दोब्बर मतान्तरसहित पराजित गरे । दाहाल २६ हजार १ सय ३ मतका साथ विजयी हुँदा बुर्लाकोटी १२ हजार ६ सय ३७ मतमा समेटिए ।

अध्यक्ष दाहालको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा छ । जसकारण उनले गोरखामा आफूलाई भोट हाल्न पाएनन् । 
२०७४ मा चितवन–३ बाट उठेका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेका थिए ।

प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे । गत निर्वाचनमा चितवनमा निर्वाचन लड्न डराएका दाहाल गोरखा–२ पुगेका थिए । 

गगन थापा  

०६४ सालदेखि काठमाडौं क्षेत्र नम्बर ४ बाट लगातार तीनपटक निर्वाचित कांग्रेस सभापति गगनकुमार थापा यसपटक सर्लाही–४ ओर्लिएका छन् । उनी २०७०, २०७४ र २०७९ को निर्वाचनमा काठमाडौं ४ बाटै निर्वाचित भए । गगनले यस पटक मधेशमा कांग्रेसको विरासत फर्काउने योजना बनाएका छन् ।

गत निर्वाचनमा २१ हजार ३०२ मतसहित उनले निकटतम प्रतिद्वन्द्वी एमालेका डा. राजनकुमार भट्टराईलाई पराजित गरेका थिए । भट्टराई १३ हजार ८५५ मतमा समेटिए ।

यसपटक उनले कांग्रेस छाडेका पूर्वसहकर्मी डा. अमरेश सिंहसँग प्रतिस्पर्धा गर्ने भएका छन् । ०७९ को निर्वाचनमा पूर्वसभापति शेरबहादुर देउवासँको खटपटका कारण टिकट नपाएका सिंह विद्रोह गरेर स्वतन्त्र निर्वाचित भएका थिए । 

यसपटक उनी रास्वपाका उम्मेदवारसँगै सर्लाही ४ बाटै उठेका छन् । २०७९ मा स्वतन्त्र उम्मेदवार बनेका सिंहले निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराएका थिए ।

सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मात्रै ल्याए । कांग्रेसको बहुमत आएमा प्रधानमन्त्रीसमेत घोषणा गरिएका थापाको नामावली पनि काठमाडौं ४ मै रहेकाले उनले आफूलाई मतदान गर्न पाउने छैनन् । 

बालेन्द्र साह (बालेन)

इन्जिनियर र र्‍यापरका रुपमा चर्चित साह २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका थिए ।

त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका उनले ६१ हजार ७६७ मत ल्याए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । तिनै बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न झापा–५ पुगेका छन् ।

६ पटकसम्म निर्वाचित ओलीलाई चुनौती दिन झापा पुगेका उनले आफैंलाई मत हाल्न पाउने छैनन् । उनको नामावली काठमाडौं महानगरपालिकामै छ । 

माधवकुमार नेपाल 

काभ्रेको साँगास्थित पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री नेपाल गृहजिल्ला रौतहट –१ बाट उठेका छन् ।

यसअघि २०५६ को आमचुनाव र २०७० सालको दोस्रो संविधानसभा त्यहीँबाट निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भए ।

उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भए । २०७९ को निर्वाचनमा फेरि रौतहट १ बाटै विजयी भए ।

त्यसबेला उनले उनले एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरे । नेपालले ३३ हजार पाँच सय २२ पाउँदा गुप्ता २६ हजार ९ सय २२ मतमा समेटिए । नेपालको मतदाता नामावली काठमाडौं–२ मा छ ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत हाल्न पाउँदैनन् । यस पटक सप्तरी २ बाट ३ मा झरेका यादवको मतदाता नामावली भने मोरङ क्षेत्र नम्बर ५ मा छ ।

०७९ को निर्वाचनमा सप्तरी–२ मा डा. सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित उनले निर्वाचन क्षेत्र फेरेका हुन् । उक्त निर्वाचनमा राउतले ३५ हजार ४२ मत पाउँदा यादव १६ हजार ९७० मा समेटिए ।

२०८० वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा उनी कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको तर्फबाट बारा २ बाट विजयी भए ।

रवि लामिछाने 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार २ सय ६४ मतसहित विजयी बनेका थिए । त्यसपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री बने।

लामिछानेले पनि आफूलाई मत दिन पाउने छैनन् । चितवन–२ का उम्मेदवार उनको नामावली काठमाडौं–६ मा छ । २०७९ को निर्वाचनमा जितेपछि खारेजीमा पर्दा उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकता लि । त्यसपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनी झन् फराकिलो मतले विजयी भए ।

दोस्रोपटक निर्वाचित भएपछि पनि उनी उपप्रधानमन्त्री र गृहमन्त्री बने । तर, सहकारीको रकम अपचलन अभियोगमा संसदीय छानबिन समितिले दोषी ठहर गरेयता उनी विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन् ।

स्वर्णिम

गोरखामा २०३१ सालमा जन्मिएर चितवन झरेका रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि आफूलाई मत हाल्ने छैनन् ।

उनको नामावली गोरखा–१ मा पर्ने शहीद लखन गाउँपालिका बुङ्गकोटमा छ । कांग्रेसबाट टिकट नपाएर रुष्ट भएका उनी २०७९ सालमा रास्वपा प्रवेशसँगै तनहुँ–१ बाट निर्वाचित भएका थिए । यसवर्ष पनि उनी त्यही क्षेत्रका प्रत्यासी भएकाले आफूलाई मत हाल्ने छैनन् । 

शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउने छैनन् । मोरङ–६ मा उम्मेदवार रहेका उनको नामावली मोरङ–४ मा छ । उनी गत निर्वाचनमा पनि मोरङ–६ बाटै निर्वाचित बनेका थिए । 

त्यस्तै कांग्रेस महालक्ष्मी उपाध्यक्ष डिना, प्रदीप पौडेल लगायतले पनि आफूलाई मत दिन पाउँदैनन् । डीना मकवानपुर–१ बाट उम्मेदवार छिन् । उनको मतदाता नामावली मकवानपुर–२ मा छ । काठमाडौं–५ मा उम्मेदवार रहेका पौडेलको नामावली तनहुँ–२ मा छ । 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ५१ बजे

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय