काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि घरदैलो र आमसभा गर्दै गर्दा उम्मेदवारहरूले मतदातालाई सजग बनाइरहेका देखिन्छन् ।
निर्वाचन आयोगले पनि मतदाता शिक्षामा मत बदर नहुने गरी छाप लगाउने विषय समेटेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनकै नतिजा हेर्दा पहाडदेखि तराईसम्मका दर्जन बढी उम्मेदवार एक मतका कारण पराजित हुन पुगेका छन् ।

उक्त नियति स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधि सभा जुनसुकै निर्वाचनमा व्यहोर्नु नपर्ला भन्न सकिँदैन । तर आसन्न (फागुन २१) प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीकै दाबेदारहरूले आफूलाई भोट हाल्ने छैनन् ।
मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले उनीहरूले आफैंले आफूलाई भोट हाल्न नपाउने भएका हुन् । जसमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, काठमाडौं महानगरपालिका पूर्वप्रमुख बालेन्द्र साह र नेपाली कांग्रेस सभापति गगन थापा छन् ।
केपी ओली
झापा–५ बाट उम्मेदवार बनेका ओलीले आफूलाई सातौँ पटक मतदान गर्न नपाउने भएका छन् । २०७९ सालको निर्वाचनमा ओली दोब्बरभन्दा धेरै मतान्तरसहित झापा ५ बाट विजयी भएका थिए ।
उनले ५१ हजार ६१९ मत आफ्नो पोल्टामा पारेका थिए । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत प्राप्त गरेका थिए । ओली यससँगै सातौँ पटक उम्मेदवार बनेका छन् ।
यसअघि उनी वि.सं. २०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ मा यही क्षेत्रबाट विजयी भएका थिए । उनको मतदाता नामावली भक्तपुर–२ मा रहेकाले उनले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।
प्रचण्ड
चितवनबाट रुकुमपूर्व गएका प्रचण्डले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । दाहाल सुरक्षित क्षेत्र खोज्ने उम्मेदवार पनि हुन् । उनी २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए। उनले योसहित छैटौँ पटक निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।
त्यहाँ उनले निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई दोब्बर मतान्तरसहित पराजित गरे । दाहाल २६ हजार १ सय ३ मतका साथ विजयी हुँदा बुर्लाकोटी १२ हजार ६ सय ३७ मतमा समेटिए ।
अध्यक्ष दाहालको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा छ । जसकारण उनले गोरखामा आफूलाई भोट हाल्न पाएनन् ।
२०७४ मा चितवन–३ बाट उठेका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेका थिए ।
प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे । गत निर्वाचनमा चितवनमा निर्वाचन लड्न डराएका दाहाल गोरखा–२ पुगेका थिए ।
गगन थापा
०६४ सालदेखि काठमाडौं क्षेत्र नम्बर ४ बाट लगातार तीनपटक निर्वाचित कांग्रेस सभापति गगनकुमार थापा यसपटक सर्लाही–४ ओर्लिएका छन् । उनी २०७०, २०७४ र २०७९ को निर्वाचनमा काठमाडौं ४ बाटै निर्वाचित भए । गगनले यस पटक मधेशमा कांग्रेसको विरासत फर्काउने योजना बनाएका छन् ।
गत निर्वाचनमा २१ हजार ३०२ मतसहित उनले निकटतम प्रतिद्वन्द्वी एमालेका डा. राजनकुमार भट्टराईलाई पराजित गरेका थिए । भट्टराई १३ हजार ८५५ मतमा समेटिए ।
यसपटक उनले कांग्रेस छाडेका पूर्वसहकर्मी डा. अमरेश सिंहसँग प्रतिस्पर्धा गर्ने भएका छन् । ०७९ को निर्वाचनमा पूर्वसभापति शेरबहादुर देउवासँको खटपटका कारण टिकट नपाएका सिंह विद्रोह गरेर स्वतन्त्र निर्वाचित भएका थिए ।
यसपटक उनी रास्वपाका उम्मेदवारसँगै सर्लाही ४ बाटै उठेका छन् । २०७९ मा स्वतन्त्र उम्मेदवार बनेका सिंहले निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराएका थिए ।
सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मात्रै ल्याए । कांग्रेसको बहुमत आएमा प्रधानमन्त्रीसमेत घोषणा गरिएका थापाको नामावली पनि काठमाडौं ४ मै रहेकाले उनले आफूलाई मतदान गर्न पाउने छैनन् ।
बालेन्द्र साह (बालेन)
इन्जिनियर र र्यापरका रुपमा चर्चित साह २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका थिए ।
त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका उनले ६१ हजार ७६७ मत ल्याए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । तिनै बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न झापा–५ पुगेका छन् ।
६ पटकसम्म निर्वाचित ओलीलाई चुनौती दिन झापा पुगेका उनले आफैंलाई मत हाल्न पाउने छैनन् । उनको नामावली काठमाडौं महानगरपालिकामै छ ।
माधवकुमार नेपाल
काभ्रेको साँगास्थित पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री नेपाल गृहजिल्ला रौतहट –१ बाट उठेका छन् ।
यसअघि २०५६ को आमचुनाव र २०७० सालको दोस्रो संविधानसभा त्यहीँबाट निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भए ।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भए । २०७९ को निर्वाचनमा फेरि रौतहट १ बाटै विजयी भए ।
त्यसबेला उनले उनले एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरे । नेपालले ३३ हजार पाँच सय २२ पाउँदा गुप्ता २६ हजार ९ सय २२ मतमा समेटिए । नेपालको मतदाता नामावली काठमाडौं–२ मा छ ।
उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत हाल्न पाउँदैनन् । यस पटक सप्तरी २ बाट ३ मा झरेका यादवको मतदाता नामावली भने मोरङ क्षेत्र नम्बर ५ मा छ ।
०७९ को निर्वाचनमा सप्तरी–२ मा डा. सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित उनले निर्वाचन क्षेत्र फेरेका हुन् । उक्त निर्वाचनमा राउतले ३५ हजार ४२ मत पाउँदा यादव १६ हजार ९७० मा समेटिए ।
२०८० वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा उनी कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको तर्फबाट बारा २ बाट विजयी भए ।
रवि लामिछाने
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार २ सय ६४ मतसहित विजयी बनेका थिए । त्यसपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री बने।
लामिछानेले पनि आफूलाई मत दिन पाउने छैनन् । चितवन–२ का उम्मेदवार उनको नामावली काठमाडौं–६ मा छ । २०७९ को निर्वाचनमा जितेपछि खारेजीमा पर्दा उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकता लि । त्यसपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनी झन् फराकिलो मतले विजयी भए ।
दोस्रोपटक निर्वाचित भएपछि पनि उनी उपप्रधानमन्त्री र गृहमन्त्री बने । तर, सहकारीको रकम अपचलन अभियोगमा संसदीय छानबिन समितिले दोषी ठहर गरेयता उनी विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन् ।
स्वर्णिम
गोरखामा २०३१ सालमा जन्मिएर चितवन झरेका रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि आफूलाई मत हाल्ने छैनन् ।
उनको नामावली गोरखा–१ मा पर्ने शहीद लखन गाउँपालिका बुङ्गकोटमा छ । कांग्रेसबाट टिकट नपाएर रुष्ट भएका उनी २०७९ सालमा रास्वपा प्रवेशसँगै तनहुँ–१ बाट निर्वाचित भएका थिए । यसवर्ष पनि उनी त्यही क्षेत्रका प्रत्यासी भएकाले आफूलाई मत हाल्ने छैनन् ।
शेखर
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउने छैनन् । मोरङ–६ मा उम्मेदवार रहेका उनको नामावली मोरङ–४ मा छ । उनी गत निर्वाचनमा पनि मोरङ–६ बाटै निर्वाचित बनेका थिए ।
त्यस्तै कांग्रेस महालक्ष्मी उपाध्यक्ष डिना, प्रदीप पौडेल लगायतले पनि आफूलाई मत दिन पाउँदैनन् । डीना मकवानपुर–१ बाट उम्मेदवार छिन् । उनको मतदाता नामावली मकवानपुर–२ मा छ । काठमाडौं–५ मा उम्मेदवार रहेका पौडेलको नामावली तनहुँ–२ मा छ ।













प्रतिक्रिया