बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन् ।
बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव कार्यक्रमलाई आज हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुक निर्वाचनमा होमिसकेकाले यही निर्वाचनबाट गणतन्त्रवादीको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी जुट्न गणन्त्रणबादी शक्तिलाई आग्रह गरे ।
ठूलो सङ्घर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यवस्थामाथि खतरा बढेको उल्लेख गर्दै उनले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागिपरेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा आउनु आवश्यक रहेको औँल्याए ।
विभिन्न राजनीतिक उतार चढावका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभाको रिक्त सभामुख चयन प्रक्रियालाई छिट्टै राजनीतिक सहमतिका आधारमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको महिनादिन नबित्दै मुलुकमा भएको जेन-जी आन्दोलनका कारण सरकारको काम कारबाही अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिबमुखी, आयमुखी, जनमुखी काम गर्ने सङ्कल्प लिएर अघि बढे पनि जेन-जी आन्दोलनका कारण सङ्कल्पअनुसार काम गर्न नसकिएको बताए ।
प्रदेशसभाबाट पारित भएका ऐन कानुनअनुसार सेवा सुविधा उपलब्ध गराउन निजामती कर्मचारीले आलटाल गरिरहेको गुनासो गर्दै उनले सङ्घीय सरकारले पठाएका कर्मचारीले प्रदेश सरकारलाई नटेर्ने परिपाटी देखिएको बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले लामो समयदेखि बागमती प्रदेशसभाको बैठक बस्न नसक्दा जनताको जनप्रतिनिधि संस्था अन्योलमा परेकाले तत्काल प्रदेशसभाको बैठक बोलाउने वातावरण सरकारले बताउनुपर्ने बताए ।
बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले जनताको आवाज बोल्ने प्रदेशसभालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।













प्रतिक्रिया