युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन « Khabarhub

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन



काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि यात्रुहरु अलपत्र परेका छन् । दुबई, कतार, साउदी अरब जस्ता ट्रान्जिट नभई सीधा उडान हुने देशमा जान लागेका यात्रुहरुले पैसा नभएर खानासमेत नखाएको दुख व्यक्त गरेका छन् ।

सीमित खर्च बोकेर हिँडेका उनीहरु उडान स्थगित भएपछि विमास्थलमै सुतेका छन् । साथै, उनीहरुले विमास्थलभित्र पानीको मूल्य धेरै भएकाले किन्न नसकेको बताए । लोकतान्त्रिक होटल व्यवसायी संघले मारमा परेका यात्रुहरुको व्यवस्थापनमा जुटिरहेको प्रचार गरेपनि स्थल पुग्दा यात्रुहरु भने खानासमेत खान नपाइरहेको अवस्थामा भेटिए ।

दुई रातदेखि विमानस्थलको चिसो छिँडीमा सुतेर रात बिताएका केही यात्रुहरु बिरामी भएका छन् । केहीको शरीर र केही आँखा सुन्निएको अवस्थामा भेटिए । तर विमानस्थल कर्मचारीसँग सहयोगको अपेक्षा राख्दा केही गर्न नसकिने जवाफ आएपछि यात्रुहरु राज्यविहिन अनुभव गरिरहेको गुनासो गरिरहेका छन् ।

खबरहबसँग कुरा गर्दै उनीहरुले सरकार, मेनपावर र अन्य निकायसँग सहयोगको अपेक्षा राखेका छन् ।

– घर फर्किने गाडी भाडा छैन

रोशनकुमार यादव, सिरहा

पहिलो पटक कतार जाँदैछु । हिजो आइपुगेको थिएँ । बेलुका ९ः४५ मा उडान थियो । मेनपावरले ‘एयरपोर्टकै कर्मचारीसँग समन्वय गर्नू । हाम्रो यसमा कुनै भूमिका हुँदैन’ भन्यो । होटलमा गएर बस्नु भनियो । सुतेको पाँच सय, खाना बिहान र बेलुका दुई छाक खाएको पाँच सय रूपियाँ लियो । दैनिक हजार रूपैयाँ सकिएको छ ।

दुई दिन रोकिँदा पैसा सकियो । अब होटल जाने पैसा पनि छैन । युद्ध लम्बिएर उडान रोकियो र घर फर्किनु पर्‍यो भने अब घर फर्किने गाडी भाडा पनि छैन । एक दिनको खर्च बोकेर हिँडेको थिएँ ।

– बाटो खर्च नबोक्दा आपत व्यहोर्नुपर्‍यो

जयलाल मण्डल, धनुषा

कतार जान लागेको तेस्रो पटक हो । छुट्टीमा घर आएको थिएँ । छोरीको बिहेको लागि जम्मा २० दिनको बिदा लिएर आएको थिएँ । कार्पेन्टरको काम गर्छु । नेपालमा पहिले यहीँ काम गर्थेँ । यही कामको लागि कतारमा केही राम्रो पैसा छ । त्यसैले विदेश जान लागेको हुँ ।

आजको मेरो उडान हो । आजै बिहान जिल्लाबाट काठमाडौं आइपुगेँ । बेलुकासम्म कतार पुगिहाल्छु भनेर खर्च कमै बोकेँ । नेपाली पैसा धेरै बोकेर पनि के गर्ने ? उता गएपछि चल्दैन ।

त्यही भएर पनि पैसा बोकिन । कतारमा बम हान्यो भन्ने समाचार मैले थाहा पाइँन । पाएको भएपनि उडान समयमा एयरपोर्ट त आउनै पर्‍यो । घरबाट छोड्न पनि कोही आएको छैन । एक्लै यहाँ यता र उता गरेर बसेको छु । घरमा पनि पैसा भर्खर छोरीको बिहेमा ठूलो खर्च भयो । ऋणधन गरेर घरबाट पैसा मागेर होटलमा बस्नेहोला ।

भोट हाल्नेभन्दा कमाउन पर्‍यो । हामीले भोट दिएका नेताले हाम्रो पेट भर्दिदैनन् । मलाई चुनाव कत्ति पनि लागेको छैन । त्यही भएर विदा बढाएर बस्न मन लागेन । कतार कम्पनीमा फोन गरेर बुझेको नआत्तिन भनेको छ । टिकट रद्द हुँदैन । यही टिकटबाट आउन पाउँछ भनेको छ ।

पानीसम्म सोध्न कोही आएनन्

प्रकाशबहादुर सार्की, कञ्चनपुर

साउदी जान भनेर हिँडेको हो । पहिले केही वर्ष मलेसिया बसेँ । यो दोस्रो वैदेशिक रोजगारीमा हिँडेको हुँ । आजको टिकट थियो । तर उडान रद्द भयो भनेको छ । चार दिन भइसक्यो– काठमाडौं होटलमा बसेको पनि । केही भयो भने समस्या हुन्छ भनेर छिट्टै काठमाडौं पुगँे । अब घर जाने कि बस्ने ? दोधारमा छु ।

कहिले खुल्ने पनि यकिन छैन । एक, दुईदिन मात्रै हो भने ठीकै थियो । त्यो भन्दा धेरै दिन लाग्यो भने के गर्ने ? अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन् । कोही एक गिलास पानी सम्म सोध्न आएनन् । हाम्रो अवस्थाको बारेमा सोध्न आउनुपर्छ नि ।

सरकारलाई चुनाव लागेको छ

राजकिशोर पण्डित, धनुषा

साउदीको उडान थियो । तीन दिनदेखि अलपत्र भएँ । हामी दुई जना साथी छौँ । हामी दुवै जनासँग पैसा छैन । तराईको मान्छे काठमाडौंमा धेरै जाडो लाग्ने । रातपरेपछि लगाएको लुगाले पुगेको छैन । जाडो भएको छ । यत्तिकै सिमेन्टको छिँडीमा पल्टिएका छौं । खाना खाने पैसा नभएर पानी मात्रै खाएर बसेका छौं ।

एयरपोर्टभित्र पानी पनि सय रूपियाँ छ । खल्तीमा दश रूपियाँ मात्रै छ । के गर्ने ? हामीलाई कसैले सहयोग गर्न आएन । तीनदिनदेखि एयरपोर्टमा छु । खान, बस्ने सुविधा कसैले दिएन । यहीँ बेवारिसे जस्तो भएर बसेको छु ।

सुत्न नपाएर आँखाहरू सुन्निसक्यो । ट्रान्जिट नहुने सिधै उडान हुने हुँदा धेरै पैसा बोकेर हिँडिनँ । यहाँ कर्मचारीलाई सोध्दा हामी केही गर्न सक्दैनौ भन्ने जवाफ आयो । घर फर्किउँ भने फेरि उडान भयो भने के गर्ने ? नफर्किउँ भने कति दिन बन्द हुने हो भन्ने पत्तो छैन । अब घरै फर्किने होला । यस्तो बेलामा सरकारले हेरिदिनुपर्छ । तर सरकारलाई यतिबेला चुनाव लागेको छ । उसलाई हामीजस्ताको पीडा सुन्ने फुर्सद कहाँ छ र ?

सबै उल्टिएर यतै आउनुपर्‍यो भने के होला ?

कृष्णसिंह बोहरा, धनगढी

शारजाह जान लागेको । ७/८ पटक आउने जाने गर्दै आएको हो । आज १२ बजे आइपुगेँ । बेलुका ९ः३५ बजे उडान छ । धनगढीबाट अघि भर्खरै आइपुगेको हुँ । यहाँ आउँदा सयौं यात्रु अलपत्र देखेर दिक्क लाग्यो । केही गरि उडान भएन भने के गर्ने भनेर सोचिरहेको छु ।

काठमाडौंमा आफन्तको शरण लिन जाने सोचमा छु । तर धेरै दिन रोकियो भने के गर्ने ?कम्पनीले आउनैपर्छ भनेर प्रेसर गरेको छैन । युद्धमा कसको के चल्छ र ? तर रोजगारीको कुरा छ । विदेश नगए, के गरी पैसा कमाउने ?

यो देशमा काम नपाएर विदेश गएको हो । विदेशमा भएकाहरू फर्किनुपर्‍यो भने झन् भयावह आउँछ । मान्छे मरिरहेका छन् । आफ्नो मात्रै चिन्ता गरेर भएन । एक्लै छु, धेरै टेन्सन छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ४२ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको