न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व « Khabarhub

न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन् ।

यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गरेकी थिइन् । सुशीला देशकै पहिलो महिला प्रधानमन्त्रीका रुपमा ६ महिना नेतृत्व गरेर बिदा भइसकेकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मङ्गलबार सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश मल्लको काँधमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी आएको हो ।

प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधानको धारा १२९ ९९० मा प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था गरिएको छ ।

न्याय परिषद्ले गत फागुन २६ गते प्रधानन्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका छ जना न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो ।

प्रधानन्यायाधीशका लागि परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

नेपालको संविधान अनुसार, सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन पाउने योग्यता पुगेको मानिन्छ ।
प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्नुपर्छ ।

तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन् । सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलको नेताको पद रिक्त भएकाले संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न नसकेको बताइएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको निर्वाचनपछि संसद्को अधिवेशन बिहीबारदेखि सुरु हुने र सभामुख-उपसभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन बाँकी रहेकाले सुनुवाइ समितिको गठनमा अझै केही हप्ता लाग्न सक्ने देखिन्छ ।

को हुन् सपना ?

बुवा गोविन्दबहादुर प्रधान र आमा राधा प्रधानको कोखबाट वि.सं. २०२० कात्तिक २९ गते शुक्रबार काठमाडौंको थापाथलीमा जन्मिएकी कामु प्रधानन्यायाधीश मल्ल २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश भइन् ।

उनले त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक र दिल्ली विश्वविद्यालयबाट कानुन विषयमा नै स्नातकोत्तर गरेकी छन् । अर्कातिर अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट उनले जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् ।

वि.सं. २०४५ देखि कानुन व्यवसायमा सक्रिय भएर काम गरेकी कामु प्रधानन्यायाधीश सपनासँग दुई वर्ष नेपाल ल क्याम्पसमा कानुन पढाएको अनुभव पनि छ । अधिवक्ता भएर काम गर्दागर्दै २०६९ सालमा उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी छन् ।

कामु प्रधानन्यायाधीश सपनाका दर्जनौँ शोध र लेख प्रकाशित भएका छन् । कानुन क्षेत्रबाट महिला अधिकारको संरक्षण, महिला हिंसा नियन्त्रण, सामाजिक न्याय, महिलामा लगानी, महिलाको सम्पत्तिको अधिकार आदि धेरै विषयमा राष्ट्रिय-अन्तरराष्ट्रिय दैनिक तथा जर्नलमा लेखसमेत उनले लेखेकी छन् ।

सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत हुँदा उनले लैङ्गिक न्याय, लैङ्गिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौँ मुद्दामा दूरगामी असर पार्ने नजिर पनि प्रतिपादन गरेकी थिइन् ।

सपनाको सङ्घर्ष

सर्वोच्च अदालतको न्यायाधीश हुनुअगाडि उनले विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्था, कानुन न्याय एवम् मानवअधिकारबारे काम गरिसकेकी छन्।

कानुनकै विद्यार्थी भएकाले कामु प्रधानन्यायाधीश मल्लले २०६४ देखि २०६९ सालसम्म संविधानसभा सदस्य भएर पनि काम गरिन्। संयुक्त राष्ट्रसङ्घको यातनाविरुद्धको समितिमा विज्ञ सदस्य भएरसमेत उनले काम गरिन्।

यसका साथै कामु प्रधानन्यायाधीश मल्ललले कानुनका क्षेत्रसँग सम्बन्धित धेरै सङ्घसंस्थामा आबद्ध भएर काम गरेकी छन् । न्यायाधीश महिला समाजको संयोजक भएर काम गरेकी उनले वातावरणसमबन्धी विश्वव्यापी न्यायिक संस्थानको महासचिव पनि बनेकी छन् ।

त्यस्तै सार्क कानुन नेपाल अध्ययनको अध्यक्ष, अन्तरराष्ट्रिय महिला न्यायाधीश सङ्घको सदस्य, वातावरण न्यायसम्बन्धी विश्वको आयोगको सदस्य, नेपाल बार एसोसिएसनको सदस्यका साथै विभिन्न पद पनि उनले सम्हालेकी छन् ।

वरिष्ठ अधिवक्ता तथा संविधासभा सदस्यसमेत भएर काम गरेकी कामु प्रधानन्यायाधीश मल्ल नेपाल सरकारको दशौँ योजनामा समावेश गर्ने योजना र कार्ययोजनाको विकासमा संलग्न थिइन् ।

मानव बेचबिखन विधेयक, राष्ट्रिय महिला आयोग विधेयक तथा उत्तराधिकार अधिकार विधेयक र वैदेशिक रोजगार विधेयक, यौन उत्पीडनविरोधी कानुन र लैङ्गिक समानता विधेयकलगायत कानुन सुधार पहललगायत धेरै कानुनी क्षेत्रमा उनले योगदान दिएकी छन् ।

सर्वोच्च अदालतमा कार्यरत रहँदा व्यवस्थापन तथा प्रकाशन समितिलगायतका धेरै समितिमा रहेर उनले नेतृत्व गरिसकेकी छन् । प्रधानन्यायाधीश भएमा उनी २०८५ कात्तिक ३० गते ६५ वर्षे उमेरहदबाट अवकाशमा जानेछिन् ।

राष्ट्रिय समाचार समिति

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  २ : ४२ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक