काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा गम्भीर प्रश्नको सामना गराएको छ- हामी विपद् आएपछि मात्र उद्धार गर्ने देश बन्ने कि सम्भावित जोखिम पहिल्यै पहिचान गरेर जनधन जोगाउने प्रणाली विकास गर्ने ?
बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको आठौँ दिन बितिसक्दा पनि धेरै परिवार बेपत्ता आफन्तको प्रतीक्षामा छन् । नेपाली सेना र अन्य सुरक्षा निकाय उद्धारमा परिचालित भए पनि स्वास्थ्य सेवा, राहत वितरण र प्रभावितको पुनःस्थापनामा सरकारी संयन्त्र अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको गुनासो बढिरहेको छ । विभिन्न जलविद्युत् आयोजनामा फसेका नागरिकको उद्धारमा भएको ढिलाइले पनि सरकारप्रति प्रभावित र सर्वसाधारणको आक्रोश बढाएको छ । तर यो विपद्ले केवल उद्धार र राहत व्यवस्थापनको कमजोरी मात्र देखाएको छैन, यसले नेपालको बाढी पूर्वसूचना प्रणाली कस्तो जोखिमका लागि तयार छ भन्ने गम्भीर प्रश्न पनि उठाएको छ ।
यो सामान्य मनसुनी बाढी थिएन
रसुवाको भोटेकोसी क्षेत्रमा आएको पछिल्लो बाढी सामान्य वर्षासँगै नदीको सतह बढेर आएको बाढी थिएन । हिमाली क्षेत्रमा ठूलो हिमचट्टान खस्नु, नदीको बहाव थुनिनु र केही समयपछि त्यो अवरोध फुट्नुका कारण अत्यन्त तीव्र गतिमा पानी, ढुंगा र गेग्र्यान तलतिर उर्लिएको घटना थियो । यस्तो प्रकृतिको बाढीमा नदीको सतह विस्तारै बढ्ने समय हुँदैन । केही मिनेटमै सामान्य अवस्था विनाशकारी परिस्थितिमा बदलिन सक्छ । यही कारण नेपालमा हाल प्रयोग भइरहेका धेरै पूर्वसूचना प्रणाली पर्याप्त नभएको यो घटनाले देखाएको छ ।

नेपालले नदीमा जलसतह मापन गर्ने सेन्सर, वर्षामापन केन्द्र र सूचना प्रवाह प्रणाली विस्तार गर्दै आएको छ । भोटेकोसी क्षेत्रमा पनि सीमावर्ती क्षेत्रमा राखिएका उपकरणले नदीसम्बन्धी तथ्याङ्क पठाइरहेका थिए । तर बाढीको गति यति तीव्र थियो कि निश्चित समय अन्तरालमा आउने तथ्याङ्कले मानिसलाई सुरक्षित स्थानमा पुग्ने पर्याप्त समय दिन सकेन । त्यसमाथि, अत्यधिक बहावले पुल र त्यसमा जडित उपकरण नै बगाएपछि अर्को कमजोरी पनि उजागर भयो- विपद्को पूर्वसूचना दिने उपकरण आफैँ विपद्को जोखिममा रहेछन् ।
अब नदीमा मात्र होइन, हिमालमाथि पनि नजर आवश्यक
भोटेकोसी घटनाले नेपालले अब नदीको पानीको सतह मात्र मापन गरेर सुरक्षित रहन नसक्ने स्पष्ट पारेको छ । वास्तविक जोखिम कहाँबाट सुरु हुँदै छ भन्ने पत्ता लगाउन हिमाल र नदीको माथिल्लो क्षेत्रमा भइरहेका परिवर्तनको निरन्तर निगरानी आवश्यक छ । कुन हिमतालको आकार असामान्य रूपमा बढिरहेको छ ? कुन हिमनदी अस्थिर बन्दै छ? कहाँ हिमचट्टान चिरिँदै छ ? कुन क्षेत्रमा हिमपहिरो खस्ने सम्भावना बढ्दै छ ? कुनै हिमतालको प्राकृतिक बाँध कमजोर हुँदै छ कि छैन ?

यी प्रश्नको जवाफ नदी किनारमा राखिएको एउटा सेन्सरले दिन सक्दैन । यसका लागि उच्च हिमाली क्षेत्रमा ‘अपस्ट्रिम निगरानी प्रणाली’ विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । क्यामेरा, तापक्रम मापन गर्ने उपकरण, पानीको सतह मापन गर्ने सेन्सर, कम्पन र भूचलायमानता पहिचान गर्ने प्रविधि तथा अन्य स्वचालित प्रणालीमार्फत हिमनदी र हिमतालको चौबीसै घण्टा निगरानी गर्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, असामान्य परिवर्तन देखिएपछि नियमित तथ्याङ्क पठाउने समय कुर्नु हुँदैन । जोखिमको निश्चित सीमा पार हुनासाथ तत्काल चेतावनी जाने ‘थ्रेसहोल्ड–आधारित’ प्रणाली आवश्यक छ ।
उपग्रह र एआईको प्रयोग अब विकल्प होइन
पाँच हजार मिटरभन्दा माथिको क्षेत्रमा उपकरण जडान र मर्मत गर्नु अत्यन्त कठिन र महँगो काम हो । कठोर मौसमका कारण त्यस्ता उपकरण लामो समयसम्म सञ्चालनमा राख्नु पनि चुनौतीपूर्ण हुन्छ । त्यसैले अब भूउपग्रह निगरानीलाई नेपालको विपद् पूर्वसूचना प्रणालीको महत्त्वपूर्ण आधार बनाउनुपर्ने समय आएको छ ।
उपग्रहबाट हिमतालको क्षेत्रफल, हिमनदीको गति, बरफको अवस्था, सम्भावित पहिरो र हिमपहिरोका क्षेत्र तथा भू–आकृतिमा आएका परिवर्तन नियमित रूपमा हेर्न सकिन्छ । रिमोट सेन्सिङ र कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर विगतका तस्बिर र वर्तमान अवस्थाबीच तुलना गरी असामान्य परिवर्तन पहिल्यै पहिचान गर्न सकिन्छ । यसले विपद् आउनुभन्दा अगाडि सम्भावित जोखिमको सङ्केत दिन सक्छ ।

चीनसँग वास्तविक समयको सूचना साझेदारी किन आवश्यक छ?
भोटेकोसीजस्ता नदी सीमापारि जोडिएका छन् । जोखिमको स्रोत नेपालभित्र मात्र नहुन सक्छ । हिमाल वा हिमनदीमा भएको घटना सीमापारि हुन सक्छ, तर त्यसको विनाशकारी असर नेपालका बस्ती, सडक, पुल र जलविद्युत् आयोजनाले भोग्नुपर्छ । त्यसैले नेपाल र चीनबीच वास्तविक समयमै जल तथा हिमाली जोखिमसम्बन्धी तथ्याङ्क आदानप्रदान गर्ने औपचारिक र प्रभावकारी संयन्त्र आवश्यक छ । विपद्का बेला केही मिनेटको सूचना पनि सयौँ मानिसका लागि जीवन र मृत्युबीचको फरक बन्न सक्छ ।
पूर्वसूचनाको अर्थ सूचना होइन, ज्यान बचाउनु हो
प्रविधि र तथ्याङ्क केन्द्रमा थुपारेर मात्र पूर्वसूचना प्रणाली सफल हुँदैन । अन्तिम उद्देश्य जोखिमको सूचना नदी किनारमा रहेका मानिससम्म सही समयमा पुर्याएर उनीहरूको ज्यान बचाउनु हो । त्यसका लागि केन्द्रमा आएको सूचना स्थानीय तह, सुरक्षा निकाय, होटेल, जलविद्युत् आयोजना, यातायात व्यवसायी र सर्वसाधारणसम्म केही मिनेटभित्र पुग्नुपर्छ । साइरन, मोबाइल अलर्ट, रेडियो, सामाजिक सञ्जाल र स्थानीय स्वयंसेवकको सञ्जाललाई एउटै प्रभावकारी प्रणालीमा जोड्न आवश्यक छ ।
भोटेकोसीको विनाशकारी बाढीले नेपाललाई एउटा कठोर तर महत्त्वपूर्ण पाठ सिकाएको छ- विपद् आएपछि उद्धार गर्नु मात्र पर्याप्त छैन, विपद् आउनुअघि त्यसको सङ्केत बुझ्ने क्षमता विकास गर्नुपर्छ । अब क्यामेराले हिमाल हेर्नुपर्छ, सेन्सरले उसको परिवर्तन पहिचान गर्नुपर्छ र उपग्रहले हिमाली भूगोलमा भइरहेको असामान्य गतिविधि पढ्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, ती सङ्केतलाई तत्काल जोखिममा रहेका मानिससम्म पुर्याउन सक्नुपर्छ ।

यदि नेपालले हिमालदेखि बस्तीसम्म जोडिएको आधुनिक र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न सक्यो भने केही मिनेटको चेतावनी पनि सयौँ जीवन बचाउन पर्याप्त हुन सक्छ ।












प्रतिक्रिया