काठमाडौं- मध्यपूर्वको भूराजनीतिक तनाव र विश्व बजारमा इन्धनको मूल्य वृद्धिको दबाबका बाबजुद भारतीय अर्थतन्त्रमा चालू आर्थिक वर्षको अप्रिल–जुन त्रैमासिकमा ७.८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। सोमबार सार्वजनिक गरिएको केन्द्रीय तथ्यांक मन्त्रालयको विवरणअनुसार यो नतिजा जनवरी–मार्च त्रैमासिकको वृद्धिमा सुधार हुनुका साथै रोयटर्सको सर्वेक्षणमा सहभागी अर्थशास्त्रीहरूले अनुमान गरेको ७.१ प्रतिशतभन्दा बढी छ।
अमेरिका र इजरायलबीचको युद्ध तथा अमेरिकाले भारतीय निर्यातमा लगाएका करहरूको असरका बीच पनि अर्थतन्त्रले यो गति समात्नुलाई उल्लेखनीय मानिएको छ । यस त्रैमासिकमा वित्तीय सेवा, रियल स्टेट र सूचना प्रविधि क्षेत्रले सर्वाधिक १२.१ प्रतिशतको वृद्धि हासिल गरेका छन् भने उत्पादन क्षेत्र ९.२ प्रतिशत र विद्युत्, ग्यास तथा अन्य युटिलिटी सेवा ८.९ प्रतिशतले बढेका छन् ।
युद्ध सुरु भएयता सरकारी तहबाट इन्धनको मूल्य वृद्धिमा अंकुश लगाउन चालिएका कदमहरू र गत वर्ष सेप्टेम्बरमा गरिएको कर कटौतीले निजी उपभोगलाई बढावा दिएको छ। यस अवधिमा निजी उपभोग ७.१ प्रतिशतले बढेको छ भने सरकारी खर्चमा पनि ४.३ प्रतिशतको वृद्धि देखिएको छ। यद्यपि, एल निनो मौसम प्रभावका कारण कमजोर मनसुन र १४ प्रतिशतसम्म कम वर्षा हुँदा कृषि क्षेत्रको वृद्धि भने ३.६ प्रतिशतमा सीमित भएको छ, जसले आगामी दिनमा खाद्यान्नको मूल्य र उत्पादनमा चुनौती थप्न सक्ने देखिएको छ।
विस्तृत लामो समयको सुस्तीपछि डेटा सेन्टर, नवीकरणीय ऊर्जा र इलेक्ट्रोनिक्सजस्ता उदाउँदो क्षेत्रहरूको नेतृत्वमा निजी पुँजीगत खर्चमा पनि पुनरुत्थानका संकेतहरू देखिएका छन्। बैंक अफ बरोडाको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको अप्रिल १ देखि अगस्ट ५ सम्ममा २६ खर्ब ७५ अर्ब भारु बराबरको लगानी घोषणा भएको छ, जसमा ८६ प्रतिशत हिस्सा आन्तरिक निजी क्षेत्रको रहेको छ।
मध्यपूर्वको संकटले भारतको आयातित इन्धन निर्भरतामा निरन्तर जोखिम खडा गरे तापनि जुलाईमा भारतको खुद्रा मुद्रास्फीति ४.४५ प्रतिशतमा सीमित छ, जुन केन्द्रीय बैंकको ६ प्रतिशतको सीमाभन्दा तल हो। अक्सफोर्ड इकोनोमिक्सकी प्रमुख भारतीय अर्थशास्त्री एलेक्जेन्ड्रा हर्मन प्रसादले बलियो घरेलु माग र लगानीमा आएको सुधारले वर्षको अन्त्यसम्म वृद्धिदरलाई थप बल पुर्याउने बताएकी छन्।
तर, बढ्दो खाद्य मूल्य र ऊर्जा लागतका कारण भविष्यमा मुद्रास्फीति थप उकालो लाग्न सक्ने चेतावनी पनि अर्थशास्त्रीहरूले दिएका छन्। भारतीय रिजर्भ बैंकले भने चालू आर्थिक वर्षमा समग्र अर्थतन्त्र ६.७ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।












प्रतिक्रिया