काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा पत्रकारहरुसंगको छलफलमा तान्जानियामा हुने आइपीयुको बैठकमा सहभागी हुन आफू आइतबार त्यसतर्फ जान लागेको जानकारी दिँदै सभामुख अर्यालले हालै नेपालमा भएको बाढी पहिरो र जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा संसारलाई सुनाउने महत्त्वपूर्ण मौका हुने बताएका हुन् ।
कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका भए पनि व्यहोर्नुपरेको क्षतिबारे विश्वका सभामुख तथा सांसदहरूसामु यो बहस उठाउने अवसर प्राप्त भएको उनले बताए ।
उनले आइपीयुको बैठकमा नेपालको तर्फबाट ’इमेरजेन्सी एजेन्डा’ प्रस्तुत गर्ने नयाँ अभ्यास र तयारी भइरहेको भन्दै उक्त एजेन्डा पास गराएर बहसमा ल्याउन परराष्ट्र मन्त्रालय र प्रतिनिधिमण्डल प्रयासरत रहेको धारणा राखे ।
त्यस्तै उनले संसद् कमजोर नभएको र यसको आफ्नै मर्यादा तथा गति रहेको उल्लेख गरे ।
देशका करिब ३ करोड नेपालीका लागि काम गर्न खटिएकाले व्यक्तिगत थकानको कुनै अर्थ नरहने र आफ्नो कर्तव्य निरन्तर पूरा गर्ने उनले बताए ।














प्रतिक्रिया