एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि पुनः सैन्य कारबाही सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिएको एक प्रतिवेदनले जनाएको छ ।
समाचार संस्था एक्सियोसका अनुसार शनिबार नेतान्याहु र ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा इरानसँग जारी कूटनीतिक संवाद र सम्भावित सैन्य कारबाहीबारे छलफल भएको थियो । ट्रम्पले आइतबार उक्त टेलिफोन वार्ता ‘धेरै राम्रो’ भएको बताएका थिए ।
प्रतिवेदनअनुसार नेतान्याहु इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्ने पक्षमा छन् भने ट्रम्प तत्काल वार्तामार्फत समाधान खोज्न चाहन्छन्। यद्यपि ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राखेको जनाइएको छ ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन् । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा अहिलेसम्म सहमति हुन नसकेको बताए। उनले कूटनीतिक समाधानका लागि प्रयास जारी रहेको उल्लेख गर्दै अमेरिकाले पनि कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गरेका छन्।















प्रतिक्रिया